गत चैत ११ मा हात्तिपाइलेको औषधि खुवाउन हामी ७ वडामा गएका थियौँ। तर त्यहाँ केही बच्चा औषधि खान आएनन्। किन आएनन् भनेर अभिभावकलाई सोध्दा घरमै छ, बिरामी छ भन्ने जवाफ दिए। त्यसपछि हामीले घरमै गएर हे¥यौं, बच्चा गम्भीर थियो।
ती बच्चालाई दादुरा भएको प्रमाणित भयो। त्यसलगत्तै पाँच जना दादुराका शंकास्पद बिरामी भेटिए। त्यसमध्ये तीन केस दादुरा प्रमाणित भए। वडा नं. ८ मा पनि ११ वटा केस देखिए।
हामीले सबै गरी १७ बिरामीको रगत नमुना संकलन गरी जाँच गर्दा १४ जनामा दादुरा भएको देखियो। त्यसपछि जिल्ला स्वास्थ्य कार्यालय मोरङ, प्रदेश नम्बर १ स्वास्थ्य निर्देशनालयमा खबर गर्यौं। जिल्ला स्वास्थ्य कार्यालयले परिवार कल्याण महाशाखामा खबर गर्यो।
दुई बच्चा गम्भीर थिए। उनीहरुलाई रंगेली अस्पतालमा उपचार र जाने–आउने निःशुल्क व्यवस्था मिलाएका थियौँ। संक्रमण भएका वडा पूर्ण खोप घोषणा गरिएका वडा हुन्। तर, खोपको कभरेज कम भएकाले अहिले दादुराको संक्रमण देखियो।
यहाँका समुदायमा अझै पनि खोप लगाउन हुँदैन भन्ने मान्यता छ। हाम्रा कार्यक्रमले उनीहरुलाई अझै विश्वस्त बनाउन सकेका छैनन्। यसमा अझै काम गर्नुपर्छ।
संक्रमित भएका अधिकांश बालबालिकाले दादुरा विरुद्धको दुई डोज खोप नै पाएका छैनन् भने केही बालबालिकाको दोस्रो खोप लगाउने समय पुगेको छैन। बच्चा बिरामी भयो भने उपचार गराउन हुन्न भनेर घरैमै गुम्स्याएर राख्ने समुदाय भएकाले धेरै केस बाहिर आउन सकेका छैनन्।
हामीले संक्रमण फैलिएपछि पालिकास्तरीय सर्वपक्षीय बैठक राख्यौँ। तत्काल रोकथामका लागि केन्द्रमा भ्याक्सिनको लागि पत्र पठायौँ।
केही दिनमै यहाँका १५ वर्षमुनिका करिब ६ हजार बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गर्दैछौँ।
यो सिजन दादुराको संक्रमण देखिने सिजन हो। यतिबेला हामीले गम्भीरतापूर्वक जाँच गर्ने हो भने तराईका धेरै स्थानमा दादुराको संक्रमण भेटिन्छ भन्ने मलाई लाग्छ।
(अली सुनवर्षी नगरपालिका, मोरङमा कार्यरत छन्)
यो पनि पढौं :