काठमाडौं- सरकारले सन् २०१९ अर्थात् यही वर्षको पुसभित्र नेपालबाट दादुरा निवारण गर्ने लक्ष्य लिएको छ। तर यही बीचमा कपिलवस्तु र मोरङका केही स्थानमा दादुराका नयाँ बिरामी फेला परेका छन्।
यसले सरकारको उक्त लक्ष्य पूरा गर्ने बाटोमा चुनौती थपिदिएको छ। यतिमात्र होइन, विश्व स्वास्थ्य संगठनले नेपालमा दादुराको नयाँ संक्रमणको तथ्यांक सार्वजनिक गरेपछि त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप चिन्ता थपिदिएको छ।
संगठनको २०१८ को तथ्यांकअनुसार नेपालमा २ सय ४७ जनामा दादुरा पुष्टि भएको छ। संगठनले नेपालमा पछिल्ला दुई वर्षमा संक्रमणको दर ह्वात्तै बढिरहेको देखाएको छ। संगठनले सन् २०१९ को सुरुवाती तीन महिनामा नै ३ सय ७२ जनामा दादुरा रहेको पुष्टि गरेको छ। यो वर्षको सुरुवाती तीन महिनामा नै यति धेरै दादुराका बिरामी फेला परेपछि आगामी दिनमा यो संख्या अझै बढ्ने चेतावनी संगठनले दिएको छ।
बालबालिकाले दादुराविरुद्धको खोप नपाएका कारण नयाँनयाँ बिरामी फेला परिरहेका हुन्। समयमा नै बालबालिकालाई दादुराविरुद्धको खोप लगाएर बचाउन सकिन्छ। तर अझै पनि देशभरका सबै बालबालिकाले दादुराविरुद्धको खोप पाउन सकेका छैनन्।
विशेषगरी तराईका जिल्लामा दादुराको महामारी देखिइरहन्छ। तर तराईका जिल्लाका धेरै बालबालिका खोप पाउने नैसर्गिक अधिकारबाट बञ्चित भइरहेका छन्।
सरकारको खोप कार्यक्रमको कम प्रभावकारिता, फितलो कार्यक्रम, स्वास्थ्यकर्मीको लापरबाही र अभिभावकको बेवास्ताका कारण बालबालिका खोप पाउनबाट छुटिरहेको अवस्था छ।
यतिबेला दादुराको संक्रमण विश्वमा समेत तीब्र रुपमा फैलिरहेको समाचार आइरहेका छन्। दादुराको महामारीले चिन्ताजनक अवस्था निम्त्याउने भन्दै विश्व स्वास्थ्य संगठनले सजग गराएको छ।
दादुराविरुद्धको खोप नलगाएका बालबालिकाहरुमा तीब्र रुपमा संक्रमण हुने र जटिलता उत्पन्न गर्नसक्ने खतरा बढिरहेको छ। यसका साथै खोप लगाएका बालबालिकामा पनि संक्रमण फेला पर्न थालेपछि खोपको गुणस्तरका विषयमा पनि प्रश्न उठ्न थालेको छ।
बालबालिकाको खोपमा पहुँच घटिरहेको पछिल्लो अवस्था र खोप लगाएकामा पनि संक्रमण देखिन थालेपछि दादुरा निवारणका लागि स्वास्थ्य मन्त्रालयले गम्भीरताका साथ अघि बढ्नुपर्ने देखिन्छ।
तस्बिर सौजन्य : सिडिसी
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका खोप तथा बालस्वास्थ्य शाखाका प्रमुख डा झलक शर्मा गौतम कुनै समुदायको एउटा बच्चालाई दादुरा भएमा उसले सो समुदायका अन्य १६ जना बच्चालाई सार्नसक्ने बताउँछन्।
विश्व स्वास्थ्य संगठनले दक्षिणपूर्वी एसिया (सेरो) क्षेत्रका देशमा सन् २०२० सम्ममा दादुरा निवारण गर्ने लक्ष्य रोखेको छ। त्यसैअनुरुप नेपालले पनि सन् २०१९ सम्ममा दादुरा शून्यमा झार्ने लक्ष्य राखेको थियो।
सन् २०२० सम्ममा जसरी पनि त्यो लक्ष्य पूरा हुनैपर्ने शर्मा बताउँछन्। तर सबै बालबालिकालाई पूर्ण खोपको पहुँचमा नल्याउँदासम्म यो चुनौती भने कायम रहन्छ।
खोपमा बालबालिकाको घट्दो पहुँचबारे अहिले पनि खासै चासो दिइएको पाइँदैन। संघीयता कार्यान्वयनसँगै देखापरेको कर्मचारी व्यवस्थापनको कमजोरीले गएको दुई वर्षमा खोपको पहुँच घटिरहेको छ। स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०१६ ले ७८ प्रतिशत बालबालिका मात्र खोपको पहुँचमा रहेको तथ्यांक देखाएको थियो।
खोप तथा बालस्वास्थ्य शाखाका खोप अधिकृत भरत भण्डारी दादुराको १५ महिनामा लगाउनुपर्ने खोप तालिकामा समावेश भएपछि दोस्रो पटकको खोप लगाउनेको संख्या कम रहेको स्वीकार्छन्।
उनी भन्छन्, ‘पहिले दादुराको खोप ९ महिनामा मात्र लगाउने बानी परेकाले धेरैलाई पछि थपिएको दोस्रो डोजबारे कम जानकारी छ, त्यसैले कभरेज थोरै देखिएको हो। त्यो पनि बढ्ने क्रममा छ।’
नेपालमा दादुराको खोप २०३५ सालदेखि दिन सुरु भएको थियो। ९ महिना पुगेका बच्चालाई दिइने सो खोप ८५ प्रतिशत प्रभावकारी हुने बताइन्छ।
दादुरा खोप सुरु गर्दा नियन्त्रण गर्ने मात्र लक्ष्य थियो। पहिलो मात्रामा ८५ प्रतिशत मात्र प्रभावकारिता भएकाले हरेक तीन वर्षमा दादुराको महामारी फैलिने गरेको खोप अधिकृत भण्डारी बताउँछन्। महामारी रोक्न के गर्ने भन्ने विषयमा धेरै छलफल भएपछि २०१६ मा दादुरा रुवेला खोप अभियान चलाइएको भण्डारी सम्झन्छन्।
उनी भन्छन्, ‘अभियानमा खोप लगाउन छुटफुट बच्चा, खोप लिएर रोगसँग लड्ने क्षमता प्राप्त नगरेका बच्चालाई पनि देशैभरि खोप अभियान चलाएको थियो।’ त्यसपछि १५ महिनाको खोप पनि नियमित खोप कार्यक्रममा समावेश गरी सन् २०१९ मा दादुरा निवारण गर्ने लक्ष्य राखिएको छ।
२०१६ मा दादुरा रुवेला खोपको दोस्रो मात्रा सुरु गरेकाले धेरै अभिभावकले आफ्ना बच्चालाई दोस्रो मात्रा लगाउन छुटाउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ।
त्यसबाहेक संघीय संरचनाको कार्यान्वयनको कारण कर्मचारी व्यवस्थापन, खोप ढुवानी, जनशक्तिको अभावले धेरै स्थानमा खोप कार्यक्रम पनि प्रभावित भयो। यसका साथै खोप लगाएका बालबालिकामा पनि दादुराको संक्रमण देखापरेपछि यसको गुणस्तरका विषयमा पनि गम्भिर प्रश्न उठ्न थालेको छ।
नेपालमा दादुराको संक्रमण बढ्नुको ठोस कारणबारे भने स्वास्थ्यकर्मीहरु नै यकिन गर्न सक्दैनन्। विश्वव्यापी रूपमै दादुरा संकमण बढेको अवस्थामा नेपालमा मात्रै त्यसको कारण यही हो भन्न नसकिने उनीहरूको धारणा छ।
तर दादुरा नहोस् भनेर दिइने खोपको प्रयोगबारे जागरुकता बढाउन गरिने जनचेतनाका कार्यक्रम पर्याप्त र प्रभावकारी नभएको स्वास्थ्यकर्मीको भनाइ छ।
निवारणका लागि के गर्दै छ सरकार ?
अहिलेकै स्थितिमा हेर्ने हो भने यही वर्ष अर्थात् २०१९ मा दादुरा निवारण गर्नु ठूलो चुनौती हो। तर स्वास्थ्य मन्त्रालयले त्यसका लागि विभिन्न पहल भने सुरु गरेको छ।
खोप शाखा प्रमुख डा झलक शर्मा गौतम भन्छन्, ‘स्वास्थ्यका कार्यक्रम सबै स्थानीय तहमा गएकाले हामीले जनप्रतिनिधिलाई बुझाउने, नयाँ स्वास्थ्यकर्मीलाई तालिम, अभिमुखीकरण गराउने काम तीब्र पारेका छौँ।’ खोप अधिकृत भण्डारी अहिले समाचारमा आइरहेको जस्तो दादुराको निकै डरलाग्दो अवस्था भने नरहेको बताउँछन्। त्यसबाहेक सरकारले आगामी मंसिर महिनामा देशैभर खोप अभियान सञ्चालन गर्दै छ।
खोप अभियानका लागि देशैभरका स्वास्थ्यकर्मी, नागरिक समाज, स्थानीय जनप्रतिनिधिलगायत सहभागी हुनेछन्। उनीहरुले पाँच वर्षमुनिका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने काममा सहयोग गर्नेछन्। त्यसका लागि करिब ३० करोड रुपैयाँ खर्च हुने खोप शाखाको अनुमान छ। त्यसमा २० करोड खोपका लागि अन्तर्राष्ट्रिय अलाइन्स (गाभी) र १० करोड नेपाल सरकारले खर्च गर्ने बताइएको छ। सो अभियानमा देशभरका पाँच वर्षमुनिका करिब ३८ लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ।
खोप शाखा प्रमुख डा गौतमले दादुरा देखिएको ठाउँमा तत्काल रोग नियन्त्रणका उपायहरु अवम्बलन गरी अतिरिक्त खोप दिने गरिएको बताए।
दादुरा देखिएको ठाउँको एक किलोमिटर वरपरका सबै पाँच वर्षमुनिका बालबालिकालाई खोप दिइने गरेको उनले बताए। खोप अभियानका समयमा अभिभावकलाई १५ महिनाको खोप पनि अनिवार्य रुपमा लगाउनुपर्ने कुरा पनि सम्झाइने स्वास्थ्यकर्मीको भनाइ छ।
दादुरा निवारणमो चुनौती
जबसम्म सबै बालबालिकाले ९ र १५ महिनामा दिइने दादुरा खोपको दुवै मात्रा प्राप्त गर्दैनन् तबसम्म यसको संक्रमणको डर बाँकी रहन्छ। स्थानीय तहबाट पछिल्लो समय नियमित डाटा इन्ट्री हुन नसक्नुका कारणले पनि खोप पाउने बालबालिकाको दर कम देखिएको खोप शाखाको भनाइ छ।
पछिल्लो समय खोप कार्यक्रम नै प्रभावित बनिरहेको अवस्थामा दादुराको पनि पहुँचदर घट्नु स्वाभाविक हो। यो मात्र चुनौती होइन। पुराना खोप लगाउँदैआएका स्वास्थ्यकर्मी रिर्टायड हुनु, नयाँलाई खोपबारे पूर्ण तालिम र जानकारी नहुने समस्या पनि देखिएको छ।
विशेषगरी तराईका केही जिल्लाका खोप केन्द्रहरु सबै सञ्चालन नहुनु र पुराना स्वास्थ्यकर्मीले पनि नियमित खोप कार्यक्रम सञ्चालन नगरिदिने समस्या रहेको पनि मन्त्रालयका कर्मचारी बताउँछन्। अर्थात् विशेषगरी तराईमा खोप कार्यक्रम फितलो भएको बताइन्छ। जसले धेरै खोप लगाउनुपर्ने उमेरका बालबालिकाले खोप नै पाउँदैनन्।
केही समुदायका व्यक्ति खोप लगाउनै नमान्ने अवस्था पनि कायम रहेको उनीहरुको भनाइ छ। ९ महिनामा बच्चालाई खोप दिनुपर्ने तालिका सबै अभिभावकलाई जानकारी भए पनि १५ महिनामा दिइने खोपबारे भने अझै बानी परेको छैन। ९ महिना खोप दिएपछि ६ महिनापछि मात्र खोप दिनुपर्ने भएकाले धेरैले बिसर्ने गरेको पाइन्छ।
कहिले दिइन्छ खोप ?
विश्व स्वास्थ्य संगठनले हालै प्रकाशित गरेको तथ्यांकमा नेपालमा दादुराका बिरामीको संख्या बढ्दै गएको देखाएको छ। दादुरा निवारणका लागि ९५ प्रतिशतले दादुरा खोप लगाएको हुनुपर्छ।
तर नेपालमा जन्मेदेखि एक वर्षको उमेरसम्मका बालबालिकालाई दिनुपर्ने ११ वटा खोपको तालिकाअनुसार खोप प्राप्त गर्नेको संख्या अहिले ७८ प्रतिशत मात्र छ।
पहिलो खोप लगाउनेको तुलनामा दोस्रो खोप लगाउने बालबालिकाको संख्या निकै कम छ। खोप अधिकृत भण्डारी दोस्रो खोप लगाउन बालबालिका करिब ७७ प्रतिशत रहेको बताउँछन्।
कसलाई खतरा ?
सरुवा रोगमध्ये दादुरा निकै चाँडो फैलनसक्ने क्षमता भएको रोग भएको यसको नियन्त्रणलाई गम्भीरतापूर्वक लिनुपर्ने चिकित्सकको भनाइ छ।
दादुराले विशेषगरी पाँच वर्षभन्दा मुनिका बालबालिका र गर्भवती महिलामा छिटो जटिलता ल्याउने र मृत्युसम्म हुनसक्ने चिकित्सकहरूको भनाइ छ।
दादुरा आउँदा छालामा रातो फोका देखिने र ज्वरो आउने हुन्छ। तर कहिलेकाहीँ फोक्सो र मस्तिष्कमा संक्रमण भएर जटिलता उत्पन्न हुनसक्छ।
केन्द्रीय तथ्यांक विभागले सन् २०११ मा गरेको जनगणनाअनुसार नेपालमा चार वर्षसम्मका बालबालिकाको संख्या २५ लाख ६७ हजार थियो। जुन कुल जनसंख्याको करिब १० प्रतिशत हो।
के हो दादुरा ?
बालरोग विशेषज्ञ डा अरुणकुमार सिंह कतिपय अभिभावकलाई दादुराबारे जानकारी नै नभएको बताउँछन्। उनले उच्च ज्वरो आउनु नै दादुरा रोगको पहिलो लक्षण भएको बताए। यो रोगको संक्रमण भएको १०–१२ दिनपछि बालबालिकामा ज्वरो आउँछ। ‘ज्वरोसँगै बिरामीमा नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँसु बग्ने र गालाको भित्री भागमा मसिना सेता दाग देखापर्छन्,’ उनले भने।
यसैगरी केही दिनपछि मुख तथा माथिल्लो घाँटीको भागमा बिमिरा देखापर्छन्। यो बिमिरा करिब तीन दिनभित्र छाती, पेट, हात तथा खुट्टामा फैलिन्छन्। यी बिमिरा ५/६ दिनसम्म रहिरहन्छन् र त्यसपछि क्रमशः हराएर जान्छन्। सामान्यतयाः यो रोगको जिवाणु शरीरमा प्रवेश गरीसकेपछि लक्षण देखिन १४ दिन (घटीमा ७ दिन र बढीमा १८ दिनसम्म) लाग्छ।
दादुरा नाक तथा घाँटीबाट निस्कने तरल पदार्थको सम्पर्कमा आउँदा, हाच्छिउँ गर्दा, र खोक्दा सर्ने गर्छ। समूहमा जम्मा हुने या भिड हुने स्थानमा बालबालिकालाई दादुरा सजिलैसँग एकअर्कामा सर्नसक्छ।
दादुराबाट संक्रमित शिशुहरूमा कडा खालको झाडा लागेर जल वियोजन हुन जान्छ। दादुराले बालबालिकाहरूमा कान पाक्ने तथा कडा खालको श्वास प्रश्वासको संक्रमण (निमोनिया) हुन जान्छ। जसका कारण बालबालिकाको मृत्युसमेत हुनसक्छ।
दादुरा रोग लागेका बालबालिकालाई पोषिलो र झोलिलो खाने कुरा जरुरी हुन्छ। कान पाक्ने र कडा श्वास–प्रश्वास रोगको उपचारको लागि मात्र प्रतिजैविक एन्टिबायोटिक्स औषधि दिनुपर्छ।
डब्लुएचओका अनुसार कडा रूपमा देखिने दादुरा कुपोषित बालबालिका र शरीरमा रोग प्रतिरोधक क्षमता कम भएकालाई बढी हुनेगर्छ। उच्च कुपोषण र पर्याप्त स्वास्थ्य स्याहारको कमी भएको जनसंख्यामा दादुरा मृत्युको १० प्रतिशतसम्म कारक हुनसक्छ।
गर्भावस्थामा दादुराबाट संक्रमित भएका महिलाहरू यसका कारण समयपूर्व प्रसूति, गर्भपतनजस्ता जोखिममा हुन्छन्।
कसरी फैलिन्छ ?
– दादुरा प्यारामिक्सो भाइरस परिवारको एउटा भाइरसले गर्दा हुन्छ। यो रोग खोक्दा वा हाच्छिउँ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्छ।
– मुखबाट वा श्वासप्रश्वासका माध्यमबाट निस्किने पानीका ससाना कण (ड्रपलेट) बाट यो रोग अरू स्वस्थ व्यक्तिमा सर्छ।
– दादुरा रोगीसँगको प्रत्यक्ष सम्पर्क वा हावाका माध्यमले फैलिन्छ। रोग प्रभावित व्यक्तिको नजिक भइरहने वा खकार, थुक र सिँगानको प्रत्यक्ष सम्पर्कमा आउनेहरूलाई यो रोगको संक्रमण हुनसक्छ।
– दादुराको भाइरसले श्वास नलीलाई संक्रमित गर्छ। यसपछि सम्पूर्ण शरीरमा फैलिन्छ।