भारत- पुडुचेरी सरकारले ब्याचलर अफ मेडिसिन, ब्याचलर अफ सर्जरी र ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एन्ड सर्जरी समावेश भएको एकीकृत चिकित्सा पाठ्यक्रम ल्याउने तयारी गरिरहेको छ।
जवाहरलाल इन्स्टिच्युट अफ पोस्टग्र्याजुएट मेडिकल एजुकेसन एन्ड रिसर्चमा यो नयाँ कार्यक्रम ल्याउने घोषणा केन्द्र सरकारका स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री प्रताप राव जाधवले मङ्गलबार गरेका हुन्।
जिपमेर को नविकरण गरिएको आपत्कालीन तथा ट्रमा केयर केन्द्रको उद्घाटन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री जाधवले यो कार्यक्रम हाल अवधारणाको चरणमा रहेको र नयाँ पाठ्यक्रम तयार गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिए।
उक्त अवसरमा मन्त्रीले जिपमेर मा सार्वजनिक आवश्यकता अनुसार स्वास्थ्य सेवा विस्तार गरिने बताए। उनले संस्थाको गभर्निङ निकायसँगको बैठकपछि अस्पतालका विभिन्न विभागको अवलोकन गरेका थिए। ‘संस्थाको विकासका लागि आवश्यक सम्पूर्ण आर्थिक सहयोग केन्द्र सरकारले गर्नेछ, बजेट अभावको कारण रोकावट आउने छैन,’ उनले स्पष्ट पारे।
यस वर्ष केन्द्र सरकारले जिपमेर लाई १,४५० करोड रुपैयाँको ग्रान्ट-इन-एड प्रदान गरिसकेको छ। हाल जिपमेर बाट दैनिक ६,००० भन्दा बढी बाहिरी बिरामी सेवा लिने गर्दछन् भने संस्थामा १,८०० शैय्याको इन-पेसन्ट सेवा रहेको छ।
यद्यपि, भारतीय मेडिकल एसोसिएसनले प्रस्तावित कार्यक्रमको निन्दा गर्दै यसलाई 'दुर्भाग्यपूर्ण' कदम भनेको छ। एसोसिएसन भन्छ, ‘यो विभिन्न चिकित्सा प्रणालीहरूको यस प्रकारको 'अवैज्ञानिक मिश्रण'ले न त चिकित्सकहरूलाई न त बिरामीहरूलाई लाभ पुर्याउँछ।'