पार्वती सिवाकोटीले त्यो समय नर्सिङ पढ्न थालिन्, जुन बेला एकल महिला र विवाह नगरी बसेका छोरी मात्र नर्स बन्नुपर्छ भन्ने मान्यता थियो।
झापाको बुद्ध आर्दश माध्यमिक विद्यालयबाट २०३५ सालमा एसएलसी उत्तीर्ण भएपछि उनी के पढ्ने भन्ने दोधारमा थिइन्। परिवारले इलाममा बसेर शिक्षा संकायमा भर्ना गर्ने सोच बनाएको थियो।
शिक्षित परिवार भएकाले पढ्नुपर्छ भन्ने वातावरण थियो घरमा। तर उनी शिक्षा संकायमा भर्ना हुन मनैदेखि राजी थिइनन्।
बेलाबेला आमासँग अस्पताल जाँदा सेतो कोट लगाएका नर्स देख्दा उनी भित्रैदेखि खुसी हुन्थिन्। आफूजस्तै युवतीले सेतो कोट लगाएर बिरामीको सेवा गरेको देख्दा उनी दंग पर्थिन्।
पार्वतीले विराटनगरमा नर्सिङका लागि प्रवेश परीक्षा खुलेको थाहा पाइन्। उनले घरमा भनिन्। परिवारले रोकेन। परीक्षा दिइन्, नाम निस्कियो।
नाम त निस्कियो तर पढ्नका लागि उनी काठमाडौँं आउनुपर्ने भयो। त्योभन्दा पहिले उनी काठमाडौं आएकै थिइनन्।
घरबाट सेतो कोटमा सजिएर बिरामीको सेवा गर्ने लक्ष्यका साथ नर्स बन्न काठमाडौं छिरिन् पार्वती।
२०३६ सालमा त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा नर्स पढ्न भर्ना भइन्। त्यो समयमा अहिलेको जस्तो धेरै नर्सिङ कलेज पनि थिएनन्। सरकारीस्तरमा मात्र पढाइ हुने भएकाले पढ्नका लागि खर्च पनि हुँदैन्थ्यो।
स्वास्थ्यखबर पत्रिकासँग आफ्ना पुराना दिनबारे कुरा गर्दै उनले भनिन्, ‘त्यो समयमा हाम्रो होस्टेल महाबौद्धमा थियो, निकै कडा अनुशासन हुन्थ्यो।’
निःशुल्क पढ्न पनि पाइने अनि महिनाको ३ सय रुपैयाँ पनि पाइने। पार्वती र उनका साथी खर्च कटाएर जोगाएको पैसाले फिल्म हेर्न जान्थे।
व्यक्तिगत र होस्टेलको खर्च कटाएर उनीहरु करिब ३५ रुपैयाँ बचाउँथे र फिल्म हेर्न जान्थे। ‘महिनाको एक पटक फिल्म हेथ्र्यौं, सपिङ जान्थ्यौँ। हाम्रो पालामा जितेन्द्र, रेखा, मिथुन्दा निकै चर्चित थिए,’ उनले पुराना दिन सम्झिइन्, ‘फिल्म हेर्ने दिन बिहानै टिकट लिन जान्थ्यौँ, होस्टल आएर खाना खाई फिल्म हेर्ने जाथ्यौँ, खुब रमाइलो हुन्थ्यो।
नर्सिङ पढ्दा निकै कडा अनुशासन भएकाले आफूभन्दा सिनियरसँग सिधा हेरेर बोल्न पनि डराउँथे पार्वती र उनका साथी। भनिन्, ‘कहिलेकाहीँ हामीभन्दा सिनियर होस्टेलमा खाना आए भने उहाँहरुलाई लाइन छोड्थ्यौँ, नर्सिङ प्रमुखहरुलाई पनि चाहेको बेला भेट्न पाइँदैनथ्यो।’
उनले पढ्ने समयमा देशमा राजनीतिक उतारचढाव पनि भइरहेको थियो। राजनीतिक दलका मानिसहरु आएर बेलाबेलामा दुःख पनि दिइरहन्थे। कहिलेकाहीँ कलेजमै आएर आएर धम्की दिन्थे, तोडफोड गर्थे र विद्यार्थीलाई पढ्न दिँदैनथे। होस्टेलमा आएर २४ घन्टाभित्र यहाँबाट निस्केर जाऊ भन्नेसम्म धम्की दिन्थे।
घरबाट पहिलो पटक टाढा आएर पढ्दा सुरुवाती दिनमा पार्वतीलाई पढाइ छाडेर भागौँ जस्तो भयो। भागेर जाउँ, पढाइ छोडौँ जस्तो हुन्थ्यो। सुरुका दिनमा त किन पढ्न आएछु जस्तो भयो नि, निकै चिन्ता लाग्थ्यो, पछि बानी पर्दै गयो,’ उनले भनिन्।
नर्सिङ पढ्ने बेलामा वीर अस्पताल, पाटन अस्पताल, प्रसूति गृह अस्पताल पुगेकी थिइन् उनी। सुरुवातका दिनमा अस्पतालमा ड्युटीमा जाँदा बिरामीलाई छुन पनि डराउने गरेको उनले सुनाइन्।
‘प्रेसर नाप्न, ज्वरो नाप्न निकै डर लाग्थ्यो, गल्ती भयो भने बिरामीलाई केही भइहाल्छ कि भन्ने लाग्थ्यो,’ उनले भनिन्। तर, उनका शिक्षिकाहरुले डर मान्नु पर्दैन, सुरुसुरुमा यस्तै हुन्छ, भनेर सम्झाउँथे।
नर्स पढ्ने बेलामा सबै काम आफैँले गर्नुपथ्र्यो। बिरामीलाई नुहाइदिने, कपाल कोरिदिने, शरीर सफा गरीदिने, तेल लगाइदिने, ओछ्यान मिलाइदिनेलगायत काम नर्सले नै गर्नुपथ्र्यो। त्यो समयमा पनि पढ्न छोडेर भागाँै जस्तो लाग्थ्यो उनलाई।
फेरि सोच्थिन्, आमाबुबाले विश्वास गरेर काठमाडौँ पढ्न पठाएको हो, मिहिनेत गर्नुपर्छ।
राजनीतिक परिवर्तनले कहिले हड्ताल हुने त कहिले कलेज नै बन्द हुने गरेकोले परीक्षा ढिला भएको थियो। पार्वतीलाई ३ वर्षको कोर्ष पूरा गर्न ४ वर्ष लाग्यो। रिजल्ट भएर पास भएपछि मन्त्रालयले झापाको भद्रपुर अस्पतालमा पठायो।
त्यहाँ गएको केही समयमै जिल्ला अस्पतालमा उनी मात्र स्टाफ नर्स भइन्। त्यसैले इन्चार्ज भएर काम गर्ने मौका पनि पाइन्।
त्यहाँ केही समय काम गरेपछि उनी फेरि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा स्टार्फ नर्स भएर आइन्। त्यो समय अस्पताल सुरु भएको थिएन। त्यसैले काजमा वीर अस्पतालको नाक, कान, घाँटी विभागमा खटाएको थियो। त्यहीँ केही समय काम गरिसकेपछि फेरि टिचिङ अस्पतालमै नाक, कान, घाँटी विभागमा काम गर्ने अवसर पाइन्। अहिले उनी शिक्षण अस्पताल, महाराजगञ्जमा नर्सिङ सुपरभाइजर छिन्।
टिचिङ अस्पतालमा सबै वार्डमा काम गरिसकेकी छिन् उनले। तर सबैभन्दा बढी समय प्रसूति वार्डमा काम काम गरिन्। ‘काम गर्ने मान्छेलाई सजिलो कहीँ पनि छैन। आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा काम गर्न गाह्रो र चुनौती र दुवै हुन्छन्,’ उनी भन्छिन्।
बिर्सन नसक्ने घटना
पार्वती नर्सिङ सकेर भर्खरै मात्र झापाको भन्द्रपुर अस्पतालमा गएकी थिइन्। अस्पतालको इन्चार्ज भए पनि शल्यक्रिया गर्ने ठाउँमा आफैँ खटिनुपथ्र्यो।
त्यही समय एक जना बालकलाई हर्निया भएर भर्ना गरिएको थियो। शल्यक्रिया गर्नुपर्ने भयो। तर शल्यक्रियाको क्रममा एनेस्थेसियाको जटिलताको कारण बच्चाको मृत्यु भयो।
स्थानीय बालक भएकाले पूरै गाउँले उल्टेर अस्पताल आएका थिए। उनले भनिन्, ‘बच्चाको मृत्यु भएपछि हामीहरु धेरैबेर शल्यक्रिया कक्षमै बस्यौँ, डर पनि लाग्यो।’
सर्जनलाई बच्चाको आफन्तलाई सम्झाउन अप्ठ्यारो परेको थियो। धेरैबेर सम्झाएपछि पछि बल्ल समस्याको समाधान भएको थियो। ‘त्यो समय धेरै दिन त्यही कुरा मनमा खेलेर आत्तिएँ,’ उनले भनिन्, त्यो घटनाले मलाई अहिले पनि नरमाइलो अनुभव गराइरहन्छ।’
उनले अर्को घटना सम्झिइन्। करिब ६० वर्ष उमेर भएका एक बिरामी टिचिङ अस्पतालमा आएका थिए। उनी दमको रोगी थिए। उपचार गर्दागर्दै बिरामीको मृत्यु भयो। एक छिनपछि उनका आफन्तहरुले ढोका हानेर फुटाउँला जस्तो गरे। काउन्टरका सामान छरपस्ट गरिदिए। त्यो बेला लुकेर ज्यान जोगाएको उनले सुनाइन्।
तर, कोही बिरामी निको भएर घर जाँदा खुसी हुँदै धन्यवाद दिने गरेको पनि उनले सम्झिइन्।
प्रसूति वार्डमा १४ वर्ष काम गरेकी पार्वतीलाई सम्पूर्ण वार्ड उत्तिकै चुनौतीपूर्ण लाग्छ। पछिल्लो समय गर्भवतीका लागि दक्ष प्रसूतिकर्मी (मिडवाइफ) हुनुपर्छ भनेर पनि लागेकी छिन् उनी। आमा र बच्चाको राम्रो हेरचाह गर्दै ज्यान जोगाउन मिडवाइफ नेपालमा आवश्यक भएको पार्वती बताउँछिन्।