नेपाल मेडिकल काउन्सिलले निरन्तर पेसागत उन्नयन कार्यक्रम (सिपिडी) लागू गर्ने विषय सार्वजनिक गरेलगत्तै यसको पक्ष र विपक्षमा बहस हुन थालेको छ। अधिकांश चिकित्सकले सिपिडीको पक्षमा बहस गरिरहेका छन् भने केही डाक्टर तथा समूहले यसको विरोध गरिरहेका छन्। केही संगठनले भने सिपिडीको विषय हतारमा ल्याउन खोजिएको त होइन भन्दै शंकासमेत व्यक्त गरेका छन्।
सिपिडी कार्यक्रम नै लागू गर्न हुँदैन भन्दै आवाज बुलन्द बनाउनेहरुमा धेरैजसो मेडिकल काउन्सिलको परीक्षामा मुस्किलले पास गर्ने डाक्टरहरु रहेका छन्। काउन्सिलका पूर्व अध्यक्ष डा धर्मकान्त बास्कोटाका अनुसार पैसाको बलमा मेरिटमा नपरे पनि कमसल कलेजमा पढेका केहीले सिपिडीको विरोध गरेका छन्।
‘सिपिडी कार्यक्रम लागू गर्नुपर्छ भन्नेमा अधिकांश डाक्टरहरु सकारात्मक छन्,’ उनले भने, ‘तर केही समूहले भने यसलाई विवादमा ल्याउन खोजेका छन्। त्यसलाई पनि काउन्सिलले प्रष्ट पार्दै अगाडि बढिरहेको छ।’
काउन्सिल रजिस्ट्रार डा दिलिप शर्माका अनुसार केही समूहले काउन्सिलले आजको भोलि नै सिपिडी कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको र अबको पाँच वर्षभित्र नै लाइसेन्स नवीकरण रोक्न खोजेको जस्तो गलत सन्देश फैलाएका कारण केहीमा यो कार्यक्रमप्रति शंका उत्पन्न भएको हो। ‘तर काउन्सिलले यो कार्यक्रममा भएका गलत धारणा, भ्रम तथा अनावश्यक हल्लालाई हटाएर यथार्थ बाहिर ल्याउने काम गरिरहेका छ,’ उनले भने, ‘धेरै साथी तथा संघ–संगठनले यो विषयमा स्पष्ट भएको भन्दै यसलाई लागू गर्न सहयोग गर्ने बताइसकेका छन्।’
के हो सिपिडी ?
सिपिडीले विभिन्न शैक्षिक क्रियाकलापलाई जनाउँछ। यसमा डाक्टरले बिरामीलाई प्रदान गर्ने ज्ञान, सिप, पेसागत दक्षतालगायतका कुरा समेटिन्छ। यसले डाक्टरलाई जीवनकालसम्मको सिकाइ र सिक्दै अभ्यास गर्न सुझाउँछ।
चिकित्सकहरुको व्यावसायिक सिप, दक्षता, सक्रियता र संलग्नतालाई अद्यावधिक गरी व्यवस्थित अभिलेख गर्ने र सोबापत अंकभार प्रदान गरी निरन्तर सिपलाई परिष्कृत गर्दे लैजाने कार्यक्रम नै सिपिडी हो।
सिपिडी कार्यक्रम किन ?
काउन्सिलका अनुसार चिकित्सा विज्ञानमा एक पटक प्राप्त ज्ञानले सधैँभरि काम दिँदैन भनेर सिपिडी कार्यक्रममार्फत अपडेट गर्न खोजिएको हो। यसका साथै चिकित्सकको नैतिक आचरण सुधार गर्नका लागि पनि यो कार्यक्रम आवश्यक छ। सिपिडी कार्यक्रम कार्यान्वयनमा आएसँगै सबै चिकित्सकलाई आचार संहिताको दायराभित्र राखेर चिकित्सकीय अभ्यास गराउने जिम्मेवारी पनि मेडिकल काउन्सिलकै रहेकाले यो व्यवस्था गर्न लागिएको काउन्सिलका रजिस्ट्रार डा शर्माले जानकारी दिए।
सिपिडीमा डाक्टरले कसरी सहभागिता जनाउने ?
काउन्सिलका अनुसार सिपिडी कार्यक्रम अनिवार्य रुपमा गर्नुपर्ने भनेर काउन्सिलले सूचना जारी गरेपछि यो कार्यक्रममा काउन्सिलमा दर्ता भएका सबै डाक्टरले अनिवार्य रुपमा सहभागिता जनाउनुपर्ने हुन्छ। त्यसका लागि काउन्सिलले बनाएको निश्चित वेबसाइटमा आफ्नो नाम दर्ता गराउँदै आफूले हासिल गरेको तालिमलगायतका विषयमा अपडेट गराउँदै जानुपर्ने हुन्छ।
यो पनि :