नर्सिङ अभ्यासका लागि नर्सिङ काउन्सिलले लिएको पछिल्लो लाइसेन्स परीक्षामा ६५ प्रतिशत अनुत्तीर्ण भए। अर्थात्, परीक्षामा सामेल भएका प्रतिसय जनामध्ये ३५ जना मात्रै नर्सिङ अभ्यासका लागि योग्य भए। स्वभाविक छ, परीक्षा दिएकाहरु सबै उत्तीर्ण हुन पनि सक्छन्, नहुन पनि सक्छन्। बाँकी पनि अर्को परीक्षामा उत्तीर्ण होलान्। तर संवेदनशील क्षेत्रमा आएको यो नतिजालाई सहजै लिन मिल्दैन। बेवास्ता गर्न पनि मिल्दैन।
नर्स र नर्सिङका विषयमा धेरैले पढेका छन्, सुनेका छन्। त्यसबाट दिमागमा निर्माण भएको चित्र र अस्पतालमा आफैंले भोगेको नर्सका बारेमा आकाश–जमिनको अन्तर पाउने बिरामीको संख्याको विषयमा आधिकारिक तथ्यांक उपलब्ध नभए पनि अनुमान गर्न भने सकिने विषय हो। त्यो उत्साहजनक पक्कै छैन। यद्यपि, उत्साह प्रवाह गर्ने नर्स हुँदै नभएका पनि होइनन्। त्यसको लेखाजोखा फरक सन्दर्भमा भएकै छ, हुने नै छ।
माथिका दुवै सन्दर्भ नतिजा मात्रै हो। समस्या नर्स उत्पादन प्रक्रियामा छ। त्यसमाथि गरिएको सुनौलो व्यापारमा छ। दुर्भाग्यचाहिँ के हो भने, त्यो व्यापारको ठूलो हिस्सा सही मान्छेको हातमा छैन। ‘फ्लोरेन्स नाइटिंगेल’को जीवनी पढेर यो पेसाप्रति आकर्षित भएको ठूलो समूहको आर्थिक दोहन गर्नेमा यो केन्द्रित छ। सिकाउने र परिपक्व बनाउनेतिर फिटिक्कै ध्यान नदिने तर मासिक आम्दानीको हिसाबकिताबमा मग्न व्यापारीको पकडबाट यो क्षेत्रलाई बाहिर ननिकाल्ने हो भने यस वर्षको ६५ प्रतिशतमा अर्को वर्ष केही प्रतिशत थपिने मात्रै हो।
नेपालमा गुणस्तरीय स्वास्थ्य सेवाको माग उठ्न थालेको धेरै भइसकेको छ। यो जनताको अधिकार पनि हो। स्वास्थ्यसँग जोडिएका यस्तै क्षेत्रको सिकाइ प्रक्रियालाई गुणस्तरीय बनाए मात्रै त्यसको सुनिश्चित हुनसक्छ। तर अपारदर्शी ढंगले नर्सिङ शिक्षाका लागि सम्बन्धन दिएर जनअधिकारमाथि पानी खन्याउने काम भइरहेको छ।
सम्बन्धनबाट सुरु भएको अपारदर्शी खेलले शिक्षण प्रक्रियामा पनि निरन्तरता पाउने नै भयो। पर्याप्त शिक्षक नभएका, पर्याप्त बिरामी नभएका र पर्याप्त अन्य शैक्षिक र भौतिक सामाग्री नभएका कलेजमा हाम्रा भविष्यका नर्स उत्पादन भइरहेका छन्। ती कस्ता होलान् भन्ने अनुमान गर्न गाह्रो पर्दैन। काउन्सिलको नतिजा चार्ट र अस्पतालमा सुई समाइरहेका नर्सको अनुहार हेरे प्रष्ट हुन्छ।
समस्या सम्बन्धित निकायलाई थाहा नभएको होइन, थाहा छ। तर सुधार प्रक्रिया कस्तो छ भने काउन्सिलले कलेज निरीक्षण गर्दा पूर्वजानकारी दिएर जाने गरेको छ। जसले गर्दा कलेजका कमजोरी काउन्सिलले थाहा नपाएजस्तो गर्न पाएको छ। कलेजले आफूमा समस्या नभएजस्तो देखाउन पाएको छ। परिणामतः बिरामीसँग प्रत्यक्ष जोडिने पेसाको बदनाम भइरहेको छ। विश्वसनीयता घट्दै गइरहेको छ। नर्सिङ शिक्षण व्यापारदेखि व्यापारसम्म सीमित भएको छ। सुई समाउँदा हात कमाउने नर्स उत्पादन भएका छन्।
काउन्सिलको परीक्षा केवल प्राविधिक कुरा मात्रै होइन। हुनु पनि हुँदैन। सम्बन्धित सबैले यसप्रति सोच्न जरुरी भइसकेको छ। तर, समग्रमा यस क्षेत्रलाई सुधार गर्न तत्कालै केही काम गर्न जरुरी छ। पहिलो त, कलेजको शिक्षण प्रक्रियाको कठोर निरीक्षण गर्नु र मापदण्ड नपुगेमा खारेजीको प्रक्रियामा जानु जरुरी भइसकेको छ। मानवीयता, सेवाभाव र उच्च दक्षताको वितरण नभई केवल व्यापारमा रुमल्लाएर आम मानिसको स्वास्थ्य सेवामा अप्रत्यक्ष खेलबाड गर्न पाइँदैन।
दोस्रो, नर्सिङ पेसाप्रतिको आकर्षण र त्यसको कारणलाई पनि केलाउन जरुरी छ। एसइई पास गरेको ठूलो समूह आज किन यतातिर आकर्षित भइरहेको छ ? त्यसमा सेवाभाव बढी छ कि अरु थोक नै छ ? पढाइमा सहजता, देशबाहिर जाने सहज अवसर र कतैकतै ‘ग्ल्यामर’ले त यो क्षेत्रतिर आकर्षित गरिरहेको छैन? वा, यस्तै अरु कुनै कारणबाट आकर्षित भएर अभिभावकको दबाब कलिला नानी–बाबुहरुमाथि परिरहेको त छैन? यस्ता कुरालाई पनि बेवास्ता नगरियोस्।
नतिजा त एउटा अंक मात्रै हो। त्यही अंकसँग अनेक कारणहरु जेलिएका हुन सक्छन्। परिणामबाट चिन्तित हुनु स्वभाविक छ। तर कारणहरुमा ध्यान नदिने र सुधारका निम्ति पहल नगर्ने हो भने त्यसले दुर्घटना ननिम्त्याउला भन्न सकिँदैन।
यो पनि :