काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले गत असार १८ गते सार्वजनिक गरेको नर्सहरूको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा नेपाल र भारतका गरी २ सय १४ वटा कलेजमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका थिए । तीमध्ये धेरैजसो कलेजको नतिजा शून्य आएको छ ।
काउन्सिलले सार्वजनिक गरेको नतिजा अनुसार समग्रमा उक्त परीक्षामा ६५ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । परीक्षामा जम्मा १ हजार ५ सय १९ विद्यार्थी सहभागी थिए । जसमा ९ सय ७४ जना फेल भए भने १८ जना अनुपस्थित । उक्त परीक्षामा पास हुनेको संख्या जम्मा ५ सय २६ मात्र छ ।
काउन्सिलले लिने नर्सिङ परीक्षामा एक पटक मात्र होइन १४ पटकसम्म फेल भएका छन् । यो तथ्यांकले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको नर्सिङ सेवाको गुणस्तरप्रति नै गम्भीर प्रश्न उब्जाएको छ ।
पछिल्लो समय नर्सिङको नतिजा कमजोर आउन थालेपछि यसको गुणस्तरका विषयमा बहस सुरु हुन थालेको छ।
नेपाल नर्सिङ काउन्सिलले वर्षको तीन पटक लाइसेन्स परीक्षा लिन्छ । यो नतिजा यो वर्षको पहिलो परीक्षाको हो । बाँकी दुई परीक्षा आगामी कात्तिक र चैतमा हुनेछ । कात्तिक र चैतमा हुने परीक्षामा सहभागि हुने विद्यार्थीको संख्या निकै धेरै हुन्छ।
यसपटक परीक्षामा सहभागि भएकामध्ये कुन कलेज पढेका विद्यार्थी कति पास र कति फेल भए त? काउन्सिल स्रोतले उपलब्ध गराएको तथ्यांक हामीले यहाँ प्रस्तुत गरेका छौं।
यो पनि :
नर्सिङ शिक्षामा बेथिति–१: ओखलढुंगा नर्सिङ क्याम्पसको ६० प्रतिशत कोटा भागवन्डामा, सर्वसाधारण पढ्नबाट बञ्चित हुँदै
नर्सिङ शिक्षामा बेथिति–२: ५० शय्या भएका नर्सिङ कलेजलाई नियमविपरीत ४० सिट दिन स्वास्थ्य राज्यमन्त्रीको दबाब