भ्रमण वर्ष २०२० सुरु भइसकेको छ। सरकारले यस अवसरमा कम्तीमा २० लाख पर्यटकलाई नेपाल भ्रमण गराउने लक्ष्य लिएको छ। पर्यटक नेपाल आउने कारणहरु धार्मिक आस्था, सांस्कृतिक सम्पदा र प्राकृतिक छटाहरु हुन्। सबैभन्दा धेरै पर्यटक भने प्राकृतिक सौन्दर्यको परख गर्न आउने गरेको नेपाल पर्यटन बोर्डका अभिलेखहरुले दर्शाउँछन्। टे«किङ र हिमाल आरोहण गर्न आउनेको संख्या बढी हुन्छ। बन मन्त्रालयको केही समय अघिको एक तथ्यांकमा नेपाल आउने पर्यटकमध्ये ६० प्रतिशत बनजंगल घुम्न आउने जनाएको छ।
नेपालमा धेरै साहसिक पर्यटनका लागि आउने गरेको देखिन्छ। साहसिक भन्नेबित्तिकै यससँग सावधानी जोडिइहाल्छ। दुर्घटना हुने र स्वास्थ्य समस्या उत्पन्न हुने यस्तै प्राकृतिक संरचनामा हो। दुर्घटना हुँदा आवश्यक उद्धार र उपचार भइहाल्यो। स्वास्थ्य समस्यामा लेक लाग्ने, कोल्ड डाइरिया हुने, बान्ता हुने, दिगाममा पानी जम्ने लगायतका समस्या देखिन सक्छन्। किनभने उच्च पहाडी र हिमाली भेगहरु पर्यटकीय गन्तव्य हुन्।
फरक हावापानी, मौसम र प्राकृतिक संरचनामा यात्रा गर्दा स्वास्थ्यमा जोखिम आउनसक्ने सम्भावना हुने पर्यटकलाई अवगत हुन्छ। उसले त्यहाँ जाँदा आफूलाई पर्ने समस्याको समाधानको पूर्वतयारी खोज्छ नै। उसले कुनै ठाउँको यात्रा गर्नुअघि दुर्घटना भइहाले उद्धार कसरी हुन्छ ? उपचार व्यवस्था कसरी मिलाइएको छ ? जस्ता प्रश्नको ढुक्क हुने उत्तर खोज्छ। ती उत्तर नपाउने अवस्थामा पर्यटकले यात्रा नगर्न सक्छन्।
सरकारले नेपाल भ्रमण गर्न बोलाएसँगै उसको स्वास्थ्य उपचारको ग्यारेन्टी गर्न सक्नुपर्छ। उनीहरुलाई ढुक्क भएर नेपाल यात्रा गर्ने वातावरण मिलाउन सके मात्रै भ्रमण वर्ष सही अर्थमा सफल हुन्छ।
नेपालमा आउने ४० प्रतिशत पर्यटकलाई पेटसम्बन्धी समस्या हुन्छ भन्ने अध्ययनले देखाएका छन्। खाना–पानीका माध्यमबाट हुने यी समस्या निदानका लागि रेस्टुरेन्ट हाइजिङ मेन्टेन गर्नपर्ने हुन्छ, जुन भएको छैन।
यसका लागि सबैभन्दा महत्वपूर्ण स्वास्थ्य क्षेत्रको तयारी हो। स्वास्थ्यको तयारीबारे बुझ्न खोज्ने हो भने चकित पर्नुपर्ने अवस्था छ। भ्रमण वर्ष सुरु भइसक्दा पनि अहिलेसम्म कुनै तयारी भएको छैन। अझ स्वास्थ्य क्षेत्रको समग्र जिम्मेवारी लिएको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालय पूरै अनभिज्ञ छ।
नेपाल आउन चाहने पर्यटकलाई नेपालका घुम्नुपर्ने ठाउँहरु, हेर्न, सिक्न सकिने विषयबारे जानकारी गराउँदा स्वास्थ्य समस्या भएमा उपचार हुने ठाउँ वा अपनाउनुपर्ने सावधानकी बारेमा जानकारीसमेत दिन कुनै तयारी थालिएको छैन। यहाँको उपचार शुल्क, शुल्क तिर्ने प्रणाली र स्वास्थ्य संस्थाका बारेमा कुन निकायले जानकारी दिने ? अझसम्म टुंगो लागेको छैन।
दुर्घटना हुनसक्ने पर्यटकीय गन्तव्यमा तत्काल उद्धार र उपचार कसरी गर्ने भन्ने बारेमा सोचिएकोसमेत छैन। त्यस्ता ठाउँ नजिकै न भरपर्दा अस्पताल छन् न सरकारले तुरुन्तै अन्यत्र पु¥याउने एम्बुलेन्सको व्यवस्था गर्नेबारे सोचेको छ।
यो त पर्यटकलाई हुने स्वास्थ्य समस्या भयो। पर्यटकका कारण नेपाल भित्रिनसक्ने स्वास्थ्य समस्यामा सावधानी जरुरी तयारीमध्ये पर्छ। स्वास्थ्य विज्ञानले सहजै नियन्त्रणमा लिन नसकेका केही डरलाग्दा सरुवा रोग विश्वका विभिन्न मुलुकमा फैलिरहेका छन्। ती देशका पर्यटक नेपाल आउँदा त्यहाँ फैलिरहेका रोगसमेत नेपाल भित्रिन सक्छन्।
त्यसैले यसका लागि पर्यटक भित्रिने ठाउँहरुमा स्वास्थ्य जाँचको प्रबन्ध हुन सक्नुपर्छ। सरकारले पर्यटकीय गन्तव्यको पहिचान गरेको छ र प्रचारप्रसार गरिरहेको छ। तर ती पर्यटकीय गन्तव्यमा जाँदा आउने स्वास्थ्य समस्याका लागि त्यहाँ उपचार गर्ने प्रणालीको विकास गरेको खोई ?
स्वास्थ्यलाई नजरअन्दाज गरी भ्रमण वर्ष सफल पार्न सकिएला ?
यो पनि