आयुर्वेद नेपालको मात्रै नभएर विश्वकै पुरानो र समस्त मानवजातिलाई स्वस्थ जीवन जिउन सिकाउने चिकित्सा विज्ञान हो। आज नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश लगायत देशमा मौलिक चिकित्साको रुपमा रहिआएको छ आयुर्वेद। दक्षिण भारतको केरलाबासी आफ्नो माटोलाई आयुर्वेदको जननी भन्दै गर्व गर्छन्।
पूर्वीय दर्शनका अनुसार कैलास (मानसरोवर) बाट हाम्रो सभ्यताको विकास भएको मानिन्छ। यसलाई आधार मान्ने हो भने भारतभन्दा पनि पहिला आयुर्वेदको विकास नेपालबाट भएको मान्न सकिन्छ। तथापि परापूर्वकालमा नेपाल, भारतलगायत दक्षीणपूर्वी एसियाको प्रमुख भूभाग भारत वर्षको नामले चिनिन्थ्यो।
छिमेकी देशहरुले आयुर्वेदको सम्मानजनक हिसाबले अध्ययन–अनुसन्धान गरी पर्यटनको एक हिस्सा बनाइसकेका छन्। भारतले त आयुर्वेदलाई इन्डियन मेडिसिनको नामले प्रचासप्रसार गरी विदेशिलाई आयुर्वेद सेवा लिन भारतमा जानुपर्छ भन्ने विश्वास दिलाइसकेको छ। नेपालमा पनि आयुर्वेदले महत्व पाउँदै आएको छ तर समयसापेक्ष विकास र प्रवर्धन भने हुन सकेको छैन। सरकारी र निजी अस्पतालहरु सञ्चालनमा रहे पनि पर्यटकीय हिसाबले महत्व बोकेको यस क्षेत्रलाई सरकारले अझै महत्वका साथ हेनुपर्ने देखिन्छ।
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने तयारी गरिरहेको छ। वास्तवमा नेपालजस्तो प्राकृतिक रुपमा सुन्दर र पर्यटनको प्रचूर सम्भावना बोकेको देशलाई २० लाख पर्यटक भित्र्याउनु कुनै कठिन विषय होइन। पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको क्षेत्र हो अयुर्वेद। भ्रमण वर्षलाई सफल बनाउनको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्साका केही महत्वपूर्ण सेवाहरु प्रचारमा ल्याउन सक्ने हो भने यसले नेपालको मौलिक चिकित्सामा दीर्घकालीन महत्व राख्ने थियो।
पञ्चकर्म, आयुर्वेदिक मसाज, शिरोधारा, अकुपञ्चर, योग, ध्यान साथै प्राकृतिक चिकित्साका विशिष्ठ सेवाहरु विश्वप्रसिद्ध छन्। एसिया, युरोप लगायतका देशहरुमा वैकल्पिक चिकित्साका रुपमा सञ्चालित केही सेवाप्रदायक संस्थाहरुले दिइरहेका सेवाहरुप्रति त्यहाँका जनताको विशेष आकर्षण छ।
भनिन्छ, पृथ्वीका विभिन्न भूभाग विभिन्न प्रयोजनका लागि उत्कृष्ट मानिन्छन्। नेपाल योग, ध्यान तथा आयुर्वेदको लागि विशिष्ठ भूमी रहिआएको छ र यसै भूमीमा कैयौ ऋषिमुनी तथा तपस्वीहरुले ज्ञान प्राप्त गरेका छन्। आयुर्वेद, योगलगायत प्राकृतिक चिकित्साको उद्गमस्थल नेपालमै आएर सेवा लिन पाउँदा पर्यटकहरु अझै खुसी हुने छन्।
सरकारले भ्रमण वर्षलाई लक्षित गरेर बनाएको वेबसाइटमामा उल्लेख गरिएका टुरिजम कन्टेन्टमा आयुर्वेद तथा वैकल्पिक चिकित्साका सेवाहरुलाई समेट्नु जरुरी छ। यसको लागि आयुर्वेद क्षेत्रका अभियन्ता साथै लगानीकर्ताहरुलाई बोलाएर के–कस्ता सेवाहरु समावेश गर्ने हो अबिलम्व छलफल गर्न जरुरी छ।
नेपाल आउने धेरैजसो विदेशीहरु एकदेखि दुई हप्ताको लागि मात्र आउने गर्छन्। त्यसैले त्यो अवधिमा थोरै मात्र भए पनि आयुर्वेदको सेवा लिन प्रोत्साहन गर्नुपर्ने हुन्छ। नेपालमा आउने पर्यटकले आधुनिकता खोजेका हुँदैनन् त्यसैले हामिले आफ्नो मौलिकता पस्कनु नै उत्तम हुन्छ। आयुर्वेद अस्पतालहरु तथा सेवाप्रदायकहरुले होटेल सञ्चालक एवं पर्यटन व्यवसायीहरुसँग मिलेर आफ्ना सेवा बिक्री गर्नु आवस्यक छ।
आयुर्वेदको पञ्चकर्म तथा यसका सहायक कर्महरु, योग, ध्यान लगायतका कर्म शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्धनको लागि उत्तम मानिएका छन्। यस्ता सेवाहरुको महत्व नेपालीभन्दा पनि धेरै विदेशीले बुझेका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सा हाल मृत्युको प्रमुख कारक मानिएको नसर्ने रोगबाट बच्ने सर्वाेत्कृष्ट विकल्प हुन सक्छ।
हाल नेपालमा नेपाली तथा विदेशीलाई मध्यनजर गरेर आयुर्वेद तथा प्राकृतिक चिकित्साका अस्पताल तथा वेलनेस सेन्टरहरु सञ्चालनमा छन्। काठमाडौं तथा पोखरामा अवस्थित आयुर्वेद हेल्थ होम, काठमाडौंको सामाखुसीमा ओजस आयुर्वेद हस्पिटल एन्ड रिसर्च सेन्टर, रजहरको प्राकृतिक अस्पताल, पोखराको बेगनासमा सञ्चालित हिमालयन नेचर स्पा, भक्तपुर साँगाको हिलटेक वेलनेस रिसोर्ट एन्ड स्पा, द्वारिका रिसोर्ट धुलिखेलमा सञ्चालित आयुर्वेद तथा ध्यान सेवा, चौधरी ग्रुपद्वारा बुढानीलकण्ठमा सञ्चालित मेराकी वेलनेस रिट्रिट प्रालिलगायत अन्य अस्पताल एवं स्पाहरुले पनि आयुर्वेद मसाजलाई आफ्नो प्रमुख सेवाका रुपमा प्रस्तुत गरिरहेको अवस्था छ। हाल ठूला व्यापारिक घरानाले पनि आयुर्वेदलाई महत्व दिँदै लगानी गरिरहेका छन्।
राष्ट्रका हरेक पक्षको विकासविना समृद्धि सम्भव छैन। मौलिकताको संरक्षण तथा सम्वर्धनविना परिचय सम्भव छैन। कला संस्कृतिको संरक्षणविना पहिचान सम्भव छैन। त्यसैले हवाई तथा स्थल नाकाहरुमा नेपालको मौलिकता बोकेको विश्वकै पुरानो चिकित्सा पद्धतिका सेवाहरु झल्किने व्यानरहरु बनाई सजाउनु जरुरी छ। ठाउँठाउँमा हाम्रो प्राचीन कालदेखि चलिआएको औषधि बनाउने पद्धति खरल र मुसलको प्रयोग, परम्परागत वैद्यहरुको उपचार पद्धति, धामी–झाँक्रीहरुको कौशलता, नाडी विधि आदिको सम्मानजनक तरिकाले प्रस्तुत गरिनुपर्छ जसले गर्दा विदेशि विद्यार्थी एवं अनुसन्धानकर्ता खोजका लागि नेपाल आउन्।
राज्यले भ्रमण वर्ष २०२० मनाउँदै गर्दा हरेक नागरिकले गर्वका साथ भनोस्– हामी नेपाली आयुर्वेदका जननी हौं। सबैलाई आयुर्वेदको उद्गमस्थलमा आई भाव सहितको सेवा लिन स्वागत छ।
(लेखक जनस्वास्थ्यविद् हुन्)
यो पनि :