काठमाडौं - सरकारले मुलुककै पुरानो अस्पताल वीर अस्पताललाई कोभिड विशेष अस्पताल बनाउने तयारी गरेको छ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीर अस्पताललाई कोभिड विशेष अस्पताल बनाउने तयारी भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड अस्पताल बनाउनका लागि निर्देशन दिएकाले तयारी अघि बढाइएको अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए। वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय भइनसकेको तर छलफलका क्रममा रहेको उनले बताए।
उनले भने, ‘स्वास्थ्य मन्त्रालयले कोभिड अस्पताल बनाउनका लागि तयारी अघि बढाउन निर्देशन दिएको हो। अहिले नै निर्णय भइसकेको छैन। छलफलका क्रममा छ। तर हामीले आवश्यक तयारी सुरु गरेका छौं।’
हाल नन कोभिडका बिरामी भन्दा कोभिडका बिरामी बढी आउन थालेकाले वीर अस्पताललाई कोभिड अस्पताल बनाउन आवश्यक रहेको उनले बताए। वीरलाई कोभिड विशेष अस्पताल बनाइएपनि इमरजेन्सी, डायलासिस र नेफ्रोलोजी सेवा यहीबाट दिइने उनले जानकारी दिए।
अन्य सेवा भने ट्रमा सेन्टरबाट व्यवस्थापन गर्ने अस्पतालको तयारी छ। उनले भने, ‘कोभिड अस्पताल बनाएपनि कोरोना संक्रमितको मात्र उपचार हुने हैन। इमरजेन्सी, डायलासिस र नेफ्रोलोजी सेवा यहीबाट दिइन्छ। अन्य सेवा भने ट्रमा सेन्टरमा व्यवस्थापन गर्ने तयारी गर्दैछौं।’
हाल कोरोना संक्रमितको उपचारका लागि अस्पतालले ६५ शय्याको व्यवस्था गरेको छ। शुक्रबारसम्म शय्याको क्षमता वृद्धि गरी १ सय १० पुर्याइने निर्देशक सेन्चुरीले जानकारी दिए।
हाल ६८ जना कोरोना संक्रमितको वीर अस्पतालमा उपचार भइरहेको छ। वीर अस्पतालमा साउन २२ गते पहिलो पटक स्वास्थ्यकर्मी संक्रमित भएयता संक्रमित स्वास्थ्यकर्मीको संख्या ७४ पुगेको छ।
कोरोना महामारी हुनुअघि वीर अस्पतालमा २५ सय देखि ३ हजारसम्म बिरामी सेवा लिन पुग्ने गर्थे। हाल ३ सय देखि ४ सयसम्म बिरामी मात्र अस्पताल पुग्ने गरेका छन्। वीर अस्पतालमा हाल कर्मचारी र रेसिेडेन्ट गरी १६ सय कर्मचारी छन् भने सरकारी कर्मचारी १२ सय २८ जना छन्।
सरकारले यसअघि काठमाडौं उपत्यकाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित नेपाल एपीएफ अस्पताललाई कोभिड विशेष अस्पताल बनाएको छ।