काठमाडौं - मंकीपक्स पुष्टि भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत युवकको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार आइसोलेसन वार्डमा उपचारका क्रममा रहेका ती युवकमा नयाँ घाउ देखिएको छैन। 'आज अस्पताल भर्नाको सातौं दिनमा उहाँको अवस्था सामान्य छ','धाउ ७० देखि ८० प्रतिशत सुकिसकेको अवस्था छ' उनले भने,'कुनै लक्षण नदेखिएकोले उहाँ जोखिममुक्त हुनुहुन्छ। आगामी साता डिस्चार्जको तयारी अस्पतालले गरेको उनले जानकारी दिए।
मंकीपक्सका कारण आँखा दिमाग तथा शरीरका अन्य अंगमा जोखिमको खतरा नभएको उनले जानकारी दिए । गत पुस ५ गते साउदीबाट नेपाल आएका ३६ वर्षीय नेपाली पुरुषलाई मंकीपक्सको संक्रमण पुष्टि भएको भएको थियो।
मेडिसिटी अस्पतालमा उपचारका लागि पुगेका उनलाई टेकु अस्पताल रिफर गरिएको थियो। अस्पतालले स्याम्पल लिएर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो । त्यहाँबाट आएको रिपोर्टमा ती युवकमा मंकीपक्सको संक्रमण भएको पुष्टि भएको थियो।
गत १ असारमा एकजना विदेशी महिलालाई मंकीपक्स पुष्टि भएपनि नेपालीमा भएको यो पहिलोपटक हो।