आजकल जीवनशैली र खानपानका कारण धेरै मानिसलाई मधुमेह (डायबिटिज) सम्बन्धी समस्या देखिन थालेको छ। यसै सिलसिलामा ‘प्रिडायबिटिज’ भन्ने एउटा अवस्था पनि छ, जुन मधुमेहको सुरुवाती अवस्था मानिन्छ। समयमै ध्यान दिन सके यसलाई पूर्ण मधुमेहमा बदलिनबाट रोक्न सकिन्छ।
प्रिडायबिटिज भनेको के हो?
प्रिडायबिटिज भनेको रक्तमा चिनी (ब्लड सुगर) को मात्रा सामान्यभन्दा धेरै हुने तर मधुमेहको स्तरसम्म नपुगेको अवस्था हो। यो अवस्था मधुमेह सुरु हुन लागेको सङ्केत हो।
यदि प्रिडायबिटिजलाई बेवास्ता गरियो भने केही वर्ष भित्र मधुमेहमा परिणत हुनसक्छ। तर राम्रो जीवनशैली अपनाएर यसलाई रोक्न सकिन्छ।
कसरी थाहा पाउने त प्रिडायबिटिज छ भन्ने कुरा? तपाईंले प्रिडायबिटिज भएको थाहा पाउनका लागि चिकित्सकीय परीक्षण आवश्यक हुन्छ।
केही सामान्य परीक्षण
- फास्टिङ ब्लड सुगर टेस्ट: खाना खानुअघि ब्लड सुगर १०० देखि १२५ मिलिग्राम प्रति डेसीलिटर बीचमा भए प्रिडायबिटिज मानिन्छ।
- एचबीएवनसी टेस्ट: यो परीक्षणले तीन महिनाको औसत ब्लड सुगर स्तर देखाउँछ। यदि यसको स्तर ५.७ प्रतिशतदेखि ६.४ प्रतिशत बीचमा छ भने प्रिडायबिटिज मानिन्छ।
- ओरल ग्लुकोज टोलरेन्स टेस्ट (ओजीटीटी): खाना खाएपछि ब्लड सुगर १४० देखि १९९ मिलिग्राम प्रति डेसीलिटर भए प्रिडायबिटिज हो।
प्रिडायबिटिज रोक्न के गर्न सकिन्छ?
यदि तपाईंलाई प्रिडायबिटिज भएको छ भने, यो अवस्था स्थिर राख्न र मधुमेहबाट बच्न निम्न उपायहरू अपनाउनुपर्छ:
१. स्वस्थ खानपान अपनाउनुहोस्
• फाइबरयुक्त खाना खाउँ: साबुत अन्न (जस्तै गहुँ, जौ), सागसब्जी, फलफूल, र ओखर आदि खानाले रक्तचिनी नियन्त्रण गर्न मद्दत गर्छ।
• प्रशोधित खाना जस्तै: चाउचाउ, चिप्स, पेस्ट्री, र सोडा परहेज गर्नुहोस्।
• कम ग्लाइसेमिक इन्डेक्स (जीआई) भएका खाना छनोट गर्नुहोस्।
२. नियमित शारीरिक व्यायाम गर्नुहोस्
• हरेक दिन कम्तीमा ३० मिनेट तीब्र गतिमा हिँड्ने, दौडिने, साइकल चलाउने वा योग गर्ने बानी बसाल्नुहोस्।
• सक्रिय जीवनशैलीले इन्सुलिनको कार्यक्षमता बढाउँछ र ब्लड सुगर नियन्त्रण गर्छ।
३. तौल व्यवस्थापन गर्नुहोस्
यदि तपाईंको तौल बढी छ भने शरीरको ५ प्रतिशतदेखि ७ प्रतिशत तौल घटाउँदा प्रिडायबिटिजको जोखिम उल्लेख्य रूपमा कम हुन्छ।
४. नियमित स्वास्थ्य परीक्षण गराउनुहोस्
ब्लड सुगर नियमित रूपमा जाँच गराउनुहोस्। यसले तपाईंलाई कुनै समस्या भए समयमै थाहा पाउन र समाधान खोज्न मद्दत गर्छ।
प्रिडायबिटिज भएका व्यक्तिका लागि सिफारिसहरू
- धूमपान र मद्यपान त्याग्नुहोस्: यी बानीहरूले मधुमेहको जोखिम बढाउँछ।
- तनाव व्यवस्थापन गर्नुहोस्: ध्यान, योग वा कुनै प्रिय गतिविधिमा समय लगाउनुहोस्।
- समुचित निद्रा लिने: दैनिक ७-८ घण्टा गुणस्तरीय निद्राले शरीरको चिनी नियन्त्रणमा मद्दत गर्छ।
- पानी प्रशस्त पिउनुहोस्: शरीरलाई हाइड्रेट राख्नाले मेटाबोलिज्म सुधार हुन्छ।
- डाक्टरसँग नियमित परामर्श: तपाईंको स्वास्थ्य र जीवनशैली सुधारका लागि डाक्टरको सुझाव अनुशरण गर्नुहोस्।
प्रिडायबिटिजलाई मधुमेहमा जानबाट रोक्न के महत्वपूर्ण छ?
प्रिडायबिटिज भएको थाहा पाएपछि, स्वस्थ जीवनशैली अपनाउनु नै सबैभन्दा प्रभावकारी उपाय हो।
• आफ्नो दैनिक क्रियाकलापलाई सुधार गर्नुहोस्।
• स्वस्थ खानपान र व्यायामलाई नियमित गर्नुहोस्।
• मोटोपनलाई कम गर्दै मानसिक स्वास्थ्यलाई पनि सुदृढ राख्नुहोस्।
समयमै ध्यान दिएर जीवनशैली सुधार गर्दा प्रिडायबिटिजलाई नियन्त्रणमा राख्न सकिन्छ। यसले तपाईंलाई मधुमेह मात्र होइन, मुटु रोग, स्ट्रोक र अन्य जीवनशैलीजन्य रोगहरूबाट पनि बचाउन मद्दत गर्छ।
निष्कर्ष
प्रिडायबिटिज मधुमेह हुनुअघि देखिने चेतावनी संकेत हो। यसलाई समयमै पत्ता लगाएर रोकथाम गर्न सकिन्छ। सबैले स्वस्थ जीवनशैली अपनाई, सक्रिय रहन र आफ्नो स्वास्थ्यप्रति जागरूक बन्नु जरूरी छ। स्वस्थ जीवनशैली नै रोग रोक्ने मुख्य औषधि हो।