काठमाडौं- रूसले २०२५ मा सार्वजनिक प्रयोगको लक्ष्यसहित एमआरएनए क्यान्सर खोप विकासको घोषणा गरेको छ। प्रारम्भिक क्लिनिकल परीक्षणहरूले ट्युमरको वृद्धि रोक्न र मेटास्टेसिस (क्यान्सरको फैलावट) कम गर्न सक्ने देखाएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको समावेशले व्यक्तिगत खोप निर्माणलाई एक घण्टाभित्र सम्पन्न गर्न सक्नेछ, जसले हालको लामो प्रक्रिया उल्लेखनीय रूपमा घटाएको समाचारमाहरुमा उल्लेख गरिएको छ। खोप प्रतिरक्षा प्रणालीलाई बलियो बनाएर क्यान्सर कोषहरू लक्षित गरी नष्ट गर्न सक्षम बनाउनेतर्फ केन्द्रीत छ।
यो शताब्दीको खोजको रूपमा, रूसी सरकारले आफ्नो क्यान्सर खोप विकास गरेको जनाएको छ। खोप २०२५ को सुरुमा सार्वजनिक गरिने अपेक्षा गरिएको छ।
रूसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका महानिर्देशक आन्द्रेइ कप्रिन अनुसार यो एमआरएनए खोप सुरुवातमा बिरामीहरूलाई निशुल्क वितरण गरिनेछ। रूसी समाचार एजेन्सी टिएएसएसका अनुसार यो खोपले प्रारम्भिक परीक्षणहरूले ट्युमरको विकास रोक्ने र मेटास्टेसिस घटाउने देखाएका छन्।
गामालेया नेशनल रिसर्च सेन्टर फर एपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजीका निर्देशक अलेक्जान्डर गिन्ट्सबर्गले टीएसएसलाई बताएअनुसार, 'यो खोप ट्युमर विकास र सम्भावित मेटास्टेसिसलाई दबाउन सक्षम छ।'
यस वर्षको सुरुवातमा, रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजन मार्फत भनेका थिए, 'हामी तथाकथित क्यान्सर खोप र नयाँ पुस्ताका प्रतिरक्षा सुधार गर्ने औषधिहरूको विकासमा निकै नजिक पुगेका छौं ।'
त्यसपछि उनले मस्कोमा आयोजित भविष्य प्रविधिसम्बन्धी मञ्चमा उनले चाँडै नै व्यक्तिगत उपचार विधिका रूपमा प्रभावकारी रूपमा प्रयोग हुने बताएका थिए।
पुटिनले प्रस्तावित खोपहरूले कुन प्रकारका क्यान्सरलाई लक्षित गर्नेछन् र ती कसरी काम गर्नेछन् भन्ने बारे स्पष्ट गरेका छैनन्।
खोपहरुको खोज र विकास
विभिन्न देश र कम्पनीहरू क्यान्सर खोपमा काम गरिरहेका छन्। गत वर्ष, बेलायत सरकारले जर्मनीको बायोएनटेक कम्पनीसँग 'व्यक्तिगत क्यान्सर उपचार' प्रदान गर्न क्लिनिकल परीक्षण सुरू गर्ने सम्झौता गरेको थियो, जसले २०३० सम्म १०,००० बिरामीलाई पुग्ने लक्ष्य राखेको छ।
औषधि कम्पनी मोडेर्ना र मर्करकोले मेलानोमा (सबैभन्दा घातक छाला क्यान्सर) को पुनरावृत्ति वा मृत्युको सम्भावना तीन वर्षको उपचारपछि आधामा घटाउने खोपको विकास गरिरहेका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार, मानव प्यापिलोमाभाइरस बिरुद्ध छ वटा लाइसेन्स प्राप्त खोपहरू उपलब्ध छन्, जुन भाइरसलेपाठेघरको क्यान्सरजस्ता धेरै क्यान्सरहरु निम्त्याउँछ। त्यस्तै, हेपाटाइटिस बी (एचपीभी) विरुद्धका खोपले कलेजो क्यान्सर निम्त्याउने जोखिमलाई कम गर्न सक्छ।
कोरोना महामारीको समयमा, रूसले आफ्नो स्पुतनिक भी खोप विकास गरेको थियो र यो विभिन्न देशमा बिक्री गरियो, तर घरेलु रूपमा यो खोप लगाउनमा जनतामा व्यापक हिचकिचाहट देखिएको थियो। पुटिनले स्वयं स्पुतनिक खोप लिएको बताएर यसको प्रभावकारिता र सुरक्षा पुष्टि गर्न प्रयास गरेका थिए।
एआईबाट एक घण्टामा खोप विकास
खोप परीक्षणको बीचमा, गिन्ट्सबर्गले मिडियालाई बताए कि कृत्रिम न्यूरल नेटवर्कको प्रयोगले व्यक्तिगत क्यान्सर खोप बनाउने लामो प्रक्रिया आधा घण्टादेखि एक घण्टाभित्र पूरा गर्न सकिनेछ।
'हाल व्यक्तिगत खोप निर्माण गर्न समय लाग्छ, किनकि गणना प्रक्रियाले म्याट्रिक्स विधिहरू प्रयोग गर्छ। हामीले इवान्निकोभ इन्स्टिच्युटलाई समावेश गरेका छौं, जसले यस गणना प्रक्रियामा कृत्रिम बुद्धिमत्ताको उपयोग गर्नेछ। यसले न्यूरल नेटवर्क गणनाको माध्यमबाट यो प्रक्रिया छोटो बनाउनेछ,' रूसका खोप प्रमुखले भने।