लामो समय विद्यालय सञ्चालन नहुँदा बालबालिकामा शारीरिकसँगै मानसिक समस्या आउनसक्ने विज्ञहरु बताउँछन्। घरभित्रै बस्दा बालबालिका खेलकुदबाट बञ्चित छन्। त्यतिमात्र होइन, अधिकांश बालबालिकाको दैनिकी टेलिभिजन हेर्ने र मोबाइलमा इन्टरनेट चलाएरै बित्ने गरेको छ।
पढ्ने, खाने, खेल्ने, जे गरे पनि २४सै घन्टा कोठाभित्रै बस्नुपर्दा बालमस्तिष्कमा गहिरो असर पुग्नुका साथै बालबालिका शारीरिक तथा मानसिक रुपमा कमजोर बन्दै गइरहेको मनोरोग विशेषज्ञ डा सुदर्शन नरसिंह प्रधान बताउँछन्।
‘बालबालिकाको उमेर भनेको खेल्ने, कुद्ने, प्रडक्टिभ उमेर हो,’ उनी भन्छन्, ‘तर लामो समय लकडाउनले गर्दा बालबालिका यस्तो कार्य गर्नबाट वञ्चित भइरहेका छन्। अहिले उनीहरूको ध्यान मोबाइल र इन्टरनेटमा सीमित भइरहेको छ। त्यसले गर्दा उनीहरु प्रडक्टिभ हुन सकिरहेका छैनन्।’ साथीभाइसँग आफ्नो मनभित्रका पीडा पोख्न नपाएकोले पनि बालबालिकाहरु मानसिक रुपमा कमजोर हुँदै गएको डा प्रधान बताउँछन्।
चिकित्सकका अनुसार उमेर समूह अनुसार बालबालिकामा भिन्न समस्या देखिने गरेको छ। १० वर्ष मुनिका बालबालिका उफ्रने, खेल्ने, चकचक बढी गर्ने गर्छन्। यो उमेर समूहका बालबालिका एकै ठाउँ लामो समयसम्म बस्न रुचाउँदैनन्। कचकच गरिरहने भएकाले उनीहरुलाई भुलाउन आमाबुबाले कार्टुन लगाइदिने, मोबाइल दिएर भुलाउने गर्छन्।
१२ देखि १५ वर्ष उमेर समूहका अधिकांश बालबालिका मोबाइलमा बढी झुम्मिने गरेको पाइएको अध्ययनले देखाएको छ। विद्यालय बन्द हुँदा घरमै मोबाइलमा गेम खेल्ने र राति अबेरसम्म मोबाइलमै झुम्मिने भएकाले विभिन्न खालका समस्या देखिने मनोविद् करुणा कुँवरको भनाइ छ। लामो समय मोबाइल चलाउँदा निद्रा नलाग्ने, खानामा अरुचि हुने, टोलाउने, डराउने, तर्सिने, झगडा गर्ने जस्ता असामान्य व्यवहार यो उमेर समूहका बालबालिकामा देखिने गरेको उनी बताउँछिन्। ‘यस्तो समस्या लिएर मकहाँ अभिभावकहरु परामर्शका लागि आइरहनुहुन्छ,’ उनी भन्छिन्, ‘अझ यस्ता उमेर समूहका बच्चाले मोबाइल, कम्प्युटर चलाउन नपाएमा रिसले सामान फुटाउने, झगडा गरेर आमाबुबालाई दुःख दिने काम समेत गर्छन्।’
१५ देखि १८ वर्ष उमेर समूहका कतिपय किशोर–किशोरी लामो समय विद्यालय बन्द हुँदा पढाइमा समेत ध्यान दिन सकिरहेका छैनन्। विद्यालय लामो समय बन्द हुँदा र पढाइ अवरुद्ध हुँदा यो उमेर समूहका विद्यार्थीलाई पढाइ बिग्रने चिन्ताका साथै भविष्यको चिन्ता पनि हुने भएकाले डिप्रेसनको शिकार हुने सम्भावना बढी हुने गरेको चिकित्सकको दावी छ।
बच्चालाई एक्लोपन महसुस हुन नदिन आमाबुबाले बालबालिकाको साथी हुने कोसिस गर्नुपर्छ। कतिपय अभिभावकले त आफ्नो सजिलोको लागि बालबालिकालाई मोबाइल दिएर आफूहरु पनि मोबाइलमा व्यस्त हुने गर्छन्। यसले बच्चाहरु एकान्तमा बस्न मन पराउने, डिप्रेसनको शिकार हुने डर उत्तिकै हुन्छ। आमाबुबाले आफ्नो बच्चा के गर्दै छ भनेर ध्यान दिन जरुरी पर्छ।
अनलाइन कक्षा पढ्दा ध्यान दिनुपर्ने कुरा
कोरोना संक्रमणको डरले अधिकांश शैक्षिक संस्था बन्द भएकोले सहरी क्षेत्रका स्कुलहरुले बालबालिकालाई अनलाइन माध्यमबाट पढाइरहेका छन्।
अनलाइन कक्षा पढ्दा कतिपय बच्चाहरु पढ्न नमान्ने, रिसाउने, पढाउन थालेपछि रुने गरेको अभिभावकको अनुभव छ। यस्तो अवस्थामा उनीहरुलाई पढ्न धेरै कर नगर्ने, अनलाइन पढाइको बारेमा बुझाउने, लामो समय एकै ठाउँ बस्दा गाह्रो हुने भएकोले बेलाबेलामा रिफ्रेस गराउनुपर्ने सुझाव दिन्छन् डा प्रधान।
१५ वर्षभन्दा माथिका किशोर–किशोरीका बारेमा अभिभावकले बढी चासो दिनुपर्छ। उनीहरु बुझ्ने छन् भनेर बेवास्ता गर्नुहुन्न। एक्लै बसेर लामो समयसम्म अनलाइन क्लास लिनुपर्ने भएकाले किशोर–किशोरीमा एक्लोपन महसुस हुनसक्छ। घरभित्रै बस्नुपर्ने भएकाले शारीरिक कसरत नहुँदा झन् स्वास्थ्यसम्बन्धी अनेक समस्या निम्तने भय उत्तिकै हुन्छ।
‘विद्यालयमा साथीभाइ हुन्छन्। कक्षाकोठामा पढिरहँदा पनि अरु साथीहरुसँग बोल्ने, हाँस्ने भइरहन्छ। ब्रेक टाइममा खेलकुद हुन्थ्यो। त्यसले गर्दा शारीरिक रुपमा मात्र होइन, मानसिक रुपमा पनि उनीहरु तन्दुरुन्त हुन्थे, कोरोनाले बालबालिकामा पारेको असरबारे डा प्रधान भन्छन्, ‘अहिले एकै ठाउँमा लामो समयसम्म बस्दा उनीहरुका भावना गुम्सिएर बसेका हुन्छन्। त्यसैले मानसिक रुपमा कमजोर बन्दै गइरहेका छन्।’
प्रधानका अनुसार एक्लोपन भनेको आफ्नो मनको कुरा बाहिर ननिस्कनु हो। खुलेर खेल्ने, खुलेर कुरा गर्ने बानी बसाल्नुपर्छ। एक आपसमा मनका भावहरु बाहिर पोख्ने, रोएर, कराएर जे गरेर भए पनि त्यसलाई बाहिर पोख्नुपर्छ। नत्र भविष्यमा मानसिक समस्या उत्पन्न हुनसक्छ। आफ्नो मन भित्रको भाव बाहिर पोखेपछि धेरै हदसम्म सजिलो महसुस हुने चिकित्सक बताउँछन्।
बच्चालाई मानसिक समस्या हुन नदिन के गर्ने ?
– आमाबुबाले आफ्ना बालबालिकालाई केही समस्या परेको छ कि छैन, उनीहरु के कुरामा दुःखी छन् भनेर समयसमयमा बुझ्ने। केही समस्या भए समाधानका लागि पहल गर्ने।
– बालबालिकासँग खेल्ने, रमाउने, उनीहरुलाई साथीजस्तै व्यवहार गर्ने।
– बालबालिकालाई मन पर्ने कथा सुनाउने र पढ्न सक्नेलाई कथा–कविता पढ्न लगाउने।
– बालबालिकाको अगाडि सकेसम्म आफू पनि मोबाइल नचलाउने र बच्चालाई पनि रातिसम्म मोबाइल, टेलिभिजन हेर्न नदिने।
– बिहान छिट्टै उठ्ने बानी बसाल्ने।
– बिहान उठ्ने, व्यायाम गर्ने, घरको काम सघाउने, टेलिभिजन हेर्ने, अध्ययन गर्ने, खेल्ने, सुत्ने समयको तालिका बनाएर पालन गर्न लगाउने र आमाबुबा आफूले पनि पालन गर्ने।
– घरायसी काम सहयोग गर्न लगाउने।
– उनीहरुको रुचि बुझेर चित्र कोर्न, पढ्न, नाच्न, गाउन जस्ता रचनात्मक काम गर्न लगाउने। बालबालिकामा कुनै असामान्य व्यवहार देखिएको जस्तो लागेमा बाल मनोविशेषज्ञसँग परामर्श लिने।