बिराटनगर - जनस्वास्थकर्मीहरुको छाता सङ्गठन नेपाल जनस्वास्थ्य संघ स्थापना दिवसको अवसरमा नेपाल जनस्वास्थ्य संघले मंसिर २३ गते राष्ट्रिय जनस्वास्थ्य दिवस मनाउने भएको छ।
काठमाडौको त्रिपुरेश्वरका साथै ७ वटै प्रदेशमा बिभिन्न कार्यक्रमहरु आयोजना गरेर दिवस मनाउने जानकारी बिराटनगरमा पत्रकार सम्मेलनमार्फत् दिइएको हो।
मंसिर १४ देखि २० सम्म ७ वटै प्रदेशको राजधानीमा कार्यक्रम आयोजना हुने र १ हजार २५० भन्दा बढिको सहभागिता रहने अनुमान गरिएको छ। कार्यक्रमले वर्तमान अवस्थामा प्रदेशको स्वास्थ अवस्था र आगामी रणनीतिका सन्दर्भमा हरेक प्रदेशमा मुख्यमन्त्री , सरोकारवाला मन्त्रालयका मन्त्री ,स्वास्थ्य सचिव, स्वास्थसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ सस्थाका प्रतिनिधि लगायत सगको समूह छलफल, सरोकारवाला निकाय सगको अन्तरक्रिया लगायतका कार्यक्रम गर्नेछ।
कार्यक्रमबाट आएका निष्कर्षलाई हरेक प्रदेशका सम्बन्धित स्वास्थ मन्त्रालय तथा संघमा सङ्घीय स्वास्थ्य मन्त्रालयमा बुझाइने नेपाल जनस्वास्थ्य संघका केन्द्रिय महासचिव कैलाश खाकी श्रेष्ठले जानकारी दिए ।
त्यस्तै कोशी प्रदेशमा मंसिर १४ गते शुक्रवार बृहत् भेला आयोजना गरी कोशी प्रदेशभरिका जनस्वास्थ्यकर्मीहरुको सहभागीतामा बिबिध कार्यक्रमको आयोजना हुने नेपाल जनस्वास्थ्य संघ कोशी प्रदेशका अध्यक्ष ब्रजेश कुमार मेहेताले बताए।