काठमाडौं– भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मिर्गौला प्रत्यरोपणका लागि मिर्गौला दाता र मिर्गौला लिने व्यक्तिको क्रसम्याच गर्न ह्युमन ल्युकोसाइड एन्टिजिन (एचएलए) टाइपिङ एण्ड क्रसम्याच ल्याब संचालन गर्ने तयारी गरेको छ।
केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेम ज्ञवालीका अनुसार ल्याब संचालनका लागि क्रसम्याचिङ मेसिन जडानको काम भइरहेको छ। मेसिन खरिद सहित करिब एक करोड लगानीमा ल्याब संचालनको तयारी गरिएको डा ज्ञवालीको भनाइ छ।
अंग प्रत्यारोपण गर्नुअघि दाता र अंग लिने व्यक्तिको एन्टिजिनका बारेमा ल्याबमा अध्ययन गर्नुपर्ने हुन्छ। सो क्रममा दुवै जनाको रगतको नमुना निकालेर ह्युमन ल्युकोसाइट एन्टिजिनका बारेमा ल्याबमा अध्ययन गरिन्छ। ल्याबमा नमुना अध्ययनका क्रममा दुवै जनाको एचएलए टाइपिङ मिलेमा मात्र अंग प्रत्यारोपण गर्न मिल्छ।
प्रत्यारोपण केन्द्रमा हालसम्म उक्त ल्याब थिएन।
डा ज्ञवालीका अनुसार ल्याबका लागि मेसिन जडानको काम अन्तिम चरणमा पुगेको छ। पुस मसान्तसम्ममा उक्त ल्याब संचालनमा आउने डा ज्ञवालीले जानकारी दिए।
यसअघि मिर्गौला प्रत्यारोपण गर्ने बिरामीको नमुना भारतमा पठाएर क्रसम्याच गर्नुपर्ने बाध्यता थियो । एक निजी ल्याबमा उक्त सेवा उपलब्ध भए पनि विवादमा आएका कारण भारतमा पठाउनु पर्ने अवस्था थियो।
प्रत्यारोपण केन्द्रमा उक्त मेसिन जडान भएपछि क्रसम्यासका लागि नमुना भारत पठाउन नपर्ने र बिरामीहरुलाई आर्थिक भार पनि कम हुने डा ज्ञवालीले बताए।
‘भारतमा क्रसम्याच गर्न पठाउँदा क्रसम्याचकै लागि ७० देखि ८० हजार खर्च हुने गर्थ्यो,’ डा ज्ञवालीले भने, ‘अब हाम्रो केन्द्रमै सेवा सुरु भएपछि बिरामीले १५ देखि २० हजारमा क्रसम्याच गर्न पाउँछन्, यसले बिरामीलाई आर्थिक भार पनि कम हुन्छ।’
यो मेसिन सञ्चालनमा आएपछि मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्न पनि सहज हुने डा ज्ञवालीले बताए।
‘कुनै पनि मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला निकालेर अर्को व्यक्तिमा राख्न क्रस म्याच गर्नुपर्ने हुन्छ, भारतमा क्रसम्याच गर्न पठाउँदा कहिलेकाँही ५ दिन पनि लाग्न सक्छ,’ डा ज्ञवालीले भने, ‘तर, मृतकका आफन्तले मृत शरीरलाई मिर्गौला दान गर्न ५ दिन त राख्दैनन्, तर नेपालमै यो मेसिन भएपछि २४ घण्टाभित्र क्रसम्याच गर्न सकिन्छ, यो मेसिन जडान भएपछि व्रेन डेथ भएकाको मिर्गौला अर्को व्यक्तिमा प्रत्यारोपण गर्न पनि सहज हुन्छ।’
के हो क्रसम्याच?
मिर्गौला फेल भएका बिरामीलाई अर्को व्यक्तिको मिर्गौला दिनुपर्ने हुन्छ। सामान्यतया एउटै रक्तसमुह भएका व्यक्तिले मिर्गौला दिन मिल्छ। तर, एउटै रक्तसमुह भएका व्यक्तिको मिर्गौला अर्को व्यक्तिको शरीरमा राख्दा म्याच हुन्छ वा हुँदैन भनेर प्रत्यारोपण गर्नुपूर्व नै हेर्नुपर्ने हुन्छ। कुनै व्यक्तिको शरीरमा भएको मिर्गौला अर्को व्यक्तिमा राख्दा नयाँ शरीरमा त्यो मिर्गौला म्याच हुन्छ वा हुँदैन भनेर हेर्नु नै क्रसम्याच गर्नु हो। त्यसका लागि मिर्गौला लिने र मिर्गौला दिने दुवै व्यक्तिको रगतको नमुना लिएर परीक्षण गरिन्छ। यस्तो परीक्षण गर्न एचएलए टाइपिङ एण्ड क्रसम्याच मेसिनामा गरिन्छ।
सो मेसिनमा परीक्षण गर्दा दुवैको म्याच भए मात्र मिर्गौला प्रत्यारोपणका लागि अगाडि बढ्न सकिन्छ।