काठमाडौं - बिरामीको उपचारमा खटिनुपर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आइतबार काठमाडौंको माइतीघर मण्डलामा भेटिए। बिहान ११ बजेदेखि मध्यान्ह १२ बजेसम्म उनीहरु माइतीघर मण्डलामा प्ले कार्ड सहित मौन धर्नामा बसे।
आफुहरुले उठाएका विभिन्न १८ बुँदे मागहरु पुरा नभएपछि स्वास्थ्य क्षेत्रमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ/संगठनहरुको संयुक्त संघष समिति आन्दोलनमा उत्रिएका छन्। सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि माग पुरा नभएको भन्दै आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन्।
माग पुरा गर्न उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समय नदिएका होइनन्। संगठनले गत मंसिर ७ गते मन्त्रालय सामु विभिन्न १८ बुँदे माग सहितको ज्ञापन पत्र बुझाउँदै २१ दिनको अल्टिमेटम समेत दिएका थिए। तर सरकारलाई दिएको अल्टिमेटमको अवधिमा पनि माग पुरा नभएपछि उनीहरु आन्दोलनमा उत्रन बाध्य भएको उनीहरु
कोभिड लगायत अन्य जटिल रोगको सबै उपचार राज्यले निःशुल्क गर्नुपर्ने, आइसियु, भेन्टिलेटर लगायत उपकरणहरुको संख्या देशैभरका अस्पतालमा वृद्धि गरी सेवा विस्तार गर्नुपर्ने, निश्चित मापदण्डका आधारमा सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन, आइसोलेसन र बिदाको व्यवस्थापन हुनुपर्ने लगायत १८ बुँदे माग उनीहरुले अघि सारेका हुन्। सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता नदिएका कारण यस्तो अवस्था सिर्जना भएको उनीहरु बताउँछन्।
आफ्ना माग पुरा नभएसम्म आन्दोलनका कार्यक्रमहरु थप गर्दै जाने समितिले जनाएको छ। कोभिडको महामारीको यो समयमा स्वास्थ्यकर्मीको मनोबल बढाउनु र प्रोत्साहन दिनुको साटो सरकारले मनोबल घट्ने काम गरेकोमा उनीहरुको आपत्ति छ।
नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन लगायत २६ वटा संघ संगठनले आन्दोलनमा ऐक्यवद्धता जनाएका छन्।
यसैबीच, स्वास्थ्यकर्मीले आन्दोलन चर्काउँदै गएपछि स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा रोशन पोखरेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति बनाएको छ। समितिमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम र सहसचिव दामोदर रेग्मी सदस्य छन्।