काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सेवा विभागमा रहेको केन्द्रिय कोल्ड चेन (खोप भण्डारण केन्द्र) को निरीक्षण गरेका छन्।
मन्त्री त्रिपाठीले कोभिड भ्याक्सिनको भण्डारणका लागि नेपालमा खोप भण्डारणको अवस्था, खोप भण्डारणको क्षमता र उनीहरुको संरचनागत अवस्थाबारे जानकारी लिएका छन्।
उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको कोल्डचेनको पनि निरिक्षण गरेका छन्।
मन्त्रालयले विमानस्थलको रहेको कोल्डचेन मर्मत गरी कोभिड भ्याक्सिन भण्डारण गर्न सम्झौता गरेको छ। विमानस्थलमा माइनस र प्लस दुवै खालका भ्याक्सिन भण्डारण गर्ने क्षमता रहेको छ।
व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह तिंकरीले भने,‘हरेक स्थानमा रहेको कोल्ड चेनको क्षमता, कति प्रयोग भएको छ, कति स्पेस बाँकी हुन्छ, कुन ठाउँको के अवस्था छ भन्ने जानकारी माग्नुभएको छ।’
उनले आइतबार सबै कागजपत्र तयार गरी मन्त्रालयलाई बुझाउने जानकारी दिए।
नेपालमा २ देखि ८ डिग्री तापक्रममा खोप भण्डारण गर्न मिल्ने संरचना छ। तर, हाल आपतकालिन अनुमति पाएका कोरोनाविरूद्धका तीन भ्याक्सिन फाइजरको माइनस ७०, मर्डेनाको माइनस २० र अक्सफोर्डको २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने खालको छ।
नेपालले भारतले समेत अनुमति दिइसकेको र भारतमा उत्पादन समेत हुने अक्सफोर्डको २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने भ्याक्सिनको लागि पहल गरेको छ।
तर, यदि माइनस तापक्रममा भण्डारण गर्नुपर्ने भ्याक्सिन आएको खण्डमा नेपालको भण्डारण क्षमता बिस्तार गर्न र सम्भावना के हुन्छ भन्ने विषयमा मन्त्री त्रिपाठीले विभागका कर्मचारीसँग जिज्ञासा राखेका थिए।
नेपालले छिटो प्राप्त गर्न सकिने अवस्था भएका माइनस तापक्रममा भण्डारण गर्नुपर्ने भ्याक्सिन खरीद गर्ने योजना बनाएको छ।
पहिलो चरणमा ३ प्रतिशत भ्याक्सिन खरीद गरि कोभिडको उपचारमा खटिएका फ्रन्टलाइन र सामाजिक दुरी कायम गरी काम गर्न नसक्ने व्यक्तिहरुलाई भ्याक्सिन दिने योजना मन्त्रालयको छ।