काठमाडौं- कोभिड-१९ खोप अभियान अन्तर्गत छैठौं दिन सम्ममा संख्या एक लाख बढीले खाेप लगाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका १९१ वटा खोप केन्द्रबाट ७७ जिल्लामा १ लाख १३ हजार १७५ जनाले खोप लगाएका छन्।
जसमध्ये प्रदेश नम्बर १ मा १५ हजार ३२९, प्रदेश नम्बर २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २७२ जनाले कोभिड खोप लगाएका छन्।
त्यसैगरी, गण्डकी प्रदेशमा १३ हजार ९२२, लुम्बिनी प्रदेशमा १४ हजार ६४०, कर्णाली प्रदेशमा ६ हजार १३१ र सुद्रपश्चिम प्रदेशमा ७ हजार ८५७ जनाले खोप लगाएका छन्।
पहिलो चरणमा सरकारले करिब ४ लाख ३० हजार जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ।
सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शब वाहन चालक, सरसफाईकर्मीलाई खोप लगाउन प्राथमिक सूचीमा राखेको थियो।
माघ १४ गतेदेखि सुरु गरिएको कोभिड खोपको पहिलो डोज अबको चारदिन भित्र लगाइसक्न स्वास्थ्य मन्त्रालयले सूचित समेत गरिसकेको छ।
खोपको दोस्रो मात्रा पहिलो खोप लगाएको २८ दिन पछि लगाइने छ।
खोप पश्चात अवाञ्छित घटनाको अनुगमन तथा व्यवस्थापनका लागि देशभरीबाटै विज्ञ चिकित्सकहरु परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
हरेक अस्पतालहरुमा संभाव्य घटनाहरुको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधिहरुको समुचित व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार खोप लगाएका केही व्यक्तिहरुमा सामान्य असरहरु देखिएपनि ती असरहरु केही समयपछि आफै निको भएको छ। यद्यपि हालसम्म कसैलाई पनि जटिल स्वास्थ्य समस्या नदेखिएको छैन। ढुक्क भएर खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ।
वृद्धाश्रम र कारागारमा रहेका लक्षित व्यक्तिहरुलाई खोप लगाउनका लागि खोपको उचित तापक्रम सुनिश्चित गरी सम्बन्धित संस्थामै गएर लगाउने व्यवस्था मिलाउन पनि मन्त्रालयले खोप समन्वय तथा अनुगमन समिति र स्वास्थ्य कार्यालयहरुलाई मन्त्रालयले आग्रह गरेको छ।