कोभिड १९ विरुद्धको पहिलो खोप लगाएको करिब एक महिना भयो। २० दिन पछि अर्को खोप लगाउनु थियो।
समयको व्यस्तताले समयमै पुग्न नसके पनि खोप लगाउन त जरुरी थियो। अलिकति ढिला हुँदैमा केही हुन्न भने कुराले पनि हतार गरिन। आफ्नो क्याम्प नजिक पनि लगाउने हुँदा टाढा जाने कुरा भएन। नजिकै भने खुली सकेको थिएन। एक दुई दिनमै खुल्ने खबर थियो।
आज बिदाको दिन नै हो भनेर घाम ताप्न निस्किएको थिएँ। पहिला खोप लगाएको ठाउँमा लाइन थियो। मलाई पनि दोस्रो खोप लगाउनु पर्ने थियो। म त्यतै तिर गएँ। लाइन त्यत्ति लामो थिएन। सायद बिदाको दिन खुल्दैन भनेर पनि होला। त्यहाँ बुझ्दा त्यो लाइन दोस्रो खोप लगाउनेहरुको रहेछ। तुरुन्त साथी भाइलाई फोन गरे । परिचय पत्रको फोटोकपी चाहिने हुँदा मेरो दराजबाट फोटोकपी ल्याउन पनि भने।
म पुग्दा भर्खर खुलेको थियो। हेर्दा हेर्दै एकै छिनमा मानिसको भीड बाक्लियो। भीड बढ्दै गएपनि यहाँ नियम सबैलाई एकै हुने हुँदा आत्तिनुपर्ने अवस्था भने थिएन। त्यही क्रममा साथीहरु पनि आए। लाइनमा सँगै बस्न संभव थिएन। एक जना आएर मलाई फोटोकपी दिएर आफ्नो लाइन समाउन गए। ऊ म भन्दा करिब पचास जनापछि उभिएको देखँे।
लाइनमा उभिँदा मनमा धेरै कुराहरु खेलिरहे। दोस्रो भ्याक्सिन पहिलोभन्दा कडा छ भन्ने कुरा सुनेको थिएँ। सुनेको भरमा मनलाई अस्थिर बनाउन पनि त भएन। पहिलो भ्याक्सिन लगाउने समयमा पनि यस्तो कुरा नसुनेको होइन। तर त्यसको नकारात्मक असर केही देखिएन। त्यही सोचेर मन बुझाएको थिएँ।
यो दोस्रो पटक भएर पनि हुन सक्छ, म अलि ढुक्क थिएँ। सोच्दा सोच्दै खोप लगाउने मेरो पालो आयो। खोप लगाउन म कुर्चीमा बसे। मैले खोप हेरे। हेर्दा यो पटक भ्याक्सिन अलि फरक अनि राम्रो प्याकिङमा थियो।
त्यहाँ फोटो लिन पनि मनाही थियो। यस पटक भ्याक्सिन लगाउँदा अलि बढी ध्यान दिएको देखियो। अलि बढी समय पनि लाग्यो। यस पटक दुखाई पनि पहिलाभन्दा अलि बढी नै भयो। भ्याक्सिन लगाएपछि म बाहिरिए। बाहिर निस्किदा खोप लगाउने मानिसहरूको भीड झनै बाक्लिएको थियो।
मनमा खुसी मात्र होइन, डर पनि थियो। खोप लगाएपछि अब कोरोनाबाट मुक्ति पाइयो भनेर खुसी छु। यसको कुनै असर हुन्छ या हुँदैन त्यो त भविष्यमा देखिएला। तर म खोप प्रति सकारात्मक नै छु।
आफ्नो देश नेपालमा पहिलो खोप लगाउन नपाउँदा हामी जस्तो विदेशमा पासपोर्ट भित्र बाँधिएर श्रम बेच्न मजदुरले समयमा नै खोप लाउन पाएका छौं। यसको लागि युएईको व्यवस्थालाई धन्यवाद पनि दिन चाहन्छु।
(तानसेन पाल्पाका नारायण कोइराला हाल युएईमा छन्।)