काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरणको कोभिड विरुद्दको खोप अभियान सुरु गर्ने तयारी गरेको छ। पहिलो चरणको अभियान शनिबारबाट सकिएको छ।
तर पहिलो चरणका लागि ल्याइएको खोप बचेपछि सरकारले यस अन्तर्गत नै सोमबारदेखि कुटनीतिक नियोग, युनएन एजेन्सी र पत्रकारलाई कोभिड विरुद्धको खोप लगाउने निर्णय गरेको छ।
नेपालमा पहिलो चरणको खोप अभियानमा माघ १४ गते सुरु भएको थियो। सरकारले पहिलो चरणमा लक्षित वर्गको संख्या पुरा नभएपछि बचेको खोप कुटनीतिक नियोग, युनएन एजेन्सी र पत्रकारलाई लगाउने निर्णय गरेको छ।
शनिबार बसेको मन्त्रलायको बैठकले सोमबारदेखि कुटनीतिक नियोग, युनएन एजेन्सी र पत्रकारलाई कोभिड विरुद्धको खोप लगाउने निर्णय गरेको हो।
उनीहरुको संख्या धेरै नहुने भएकाले बचेको खोपले पुग्ने मन्त्रालयको भनाई छ।
स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यो पहिलो चरणकै खोप अभियानको निरन्तरता भएको बताए।
उनले पाटन अस्पतालमा युनएन एजेन्सीमा काम गर्ने स्वदेशी तथा विदेशी कर्मचारी र तिनका परिवारलाई खोप दिने तय गरिएको जानकारी दिए।
त्यसैगरि, टिचिङ अस्पताल र सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कुटनीतिक नियोगमा कार्यरत स्वदेशी तथा विदेशी कर्मचारी, तिनका परिवारलाई र सिभिल अस्पतालमा पत्रकारहरुलाई खोप दिने योजना बनाइएको प्रवक्ता गौतमले बताए।
कुटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुको विवरण र परिचयका आधारमा र पत्रकारले सूचना विभागको प्रेस पास देखाएर खोप लगाउन सक्ने बताइएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान फागुन १ गतेबाट गर्नेबारे छलफल भएको र प्राथमिकता निर्धारण गर्ने काम भइरहेको छ ।
उनले भने,‘ दोस्रो चरणमा हामीले पहिल्यै नै निर्धारण गरेका प्राथमिकताका व्यक्तिलाई खोप दिने कार्य फागुन १ गतेपछि सुरु गर्ने कि भनेर छलफल भइरहेको छ। तर, भोलिदेखि नै कुटनीतिक नियोग, युनएनका कर्मचारी र पत्रकारलाई दिइने छ।’
गत माघ ८ गते भारत सरकारले अनुदान अनुदन सहयता स्वरुप उपलब्ध गराएको खोप नेपाल आएपछि खोप अभियान सुरु भएको थियो।
भारतले अक्र्सफोर्ड एस्ट्राजेनिका र भारतको सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड १० लाख डोज खोप अनुदान स्वरुप नेपाललाई दिएको हो।
सरकारले उक्त खोप फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाई कर्मचारी,एम्बुलेन्स, शव वाहन चालक, करागारमा रहेका व्यक्ति गरी ४ लाख ३० हजारलाई दिने योजना बनाएको थियो।
तर, सरकारले अपेक्षा गरेको जस्तो खोप अभियानमा सहभागी हुनेको संख्या निकै कम देखिएको छ। हलसम्म एक लाख ८४ हजार ८५ जनाले कोभिड विरुद्धको खोप लगाइसकेका छन्।