काठमाडौं- कान्ति बाल अस्पतालले विश्व बाल क्यान्सर युके प्रोजेक्टमार्फत बाल क्यान्सरको क्षेत्र सुधारका लागि करिब ३ करोडको सहयोग प्राप्त गरेको छ।
कान्ति बाल अस्पतालमा सोमबार एक कार्यक्रम आयोजना गर्दै युके एड म्याचको सहयोगमा नेपालमा बाल क्यान्सरको क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रम शुभारम्भ भएको घोषणा गरिएको हो।
बालबालिकामा क्यान्सर लाग्नबाटै रोक्न नसकिने भए पनि क्यान्सर लागेका बालबालिकाको सुरुवाती अवस्थामै पहिचान गरी उपचार गरेमा निको हुने भएकाले बाल क्यान्सरको क्षेत्रमा सुधारका लागि यो कार्यक्रम शुभारम्भ गरिएको हो।
कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा विष्णुरथ गिरीले करिब साढे २ वर्षसम्मको निरन्तर प्रयासपछि युकेको पब्लिक फन्डबाट नेपालमा बाल क्यान्सरको क्षेत्रमा सुधारका लागि सो कार्यक्रम शुभारम्भ गर्न सफल भएको बताए।
डा गिरीका अनुसार सो कार्यक्रम अन्तर्गत क्यान्सर भएका बालबालिकको पहुँच पु¥याउने, कान्ति बाल अस्पतालको अंकोलोजी सेवालाई अझै गुणस्तरीय बनाउन र क्यान्सर लागेका बालबालिकाको केयरमा खटिने नर्सिङ जनशक्तिको लागि फेलोसिपको आयोजना गर्ने तयारी भइरहेको छ।
डा गिरीका अनुसार सो रकमबाट पहिलो चरणमा विभिन्न प्रदेशमा रहेका प्रादेशिक अस्पतालका बाल रोग विशेषज्ञ र नर्सिङ जनशक्तिलाई बाल क्यान्सर रोगको विषयमा तालिम दिइने छ। प्रादेशिक अस्पतालका बाल रोग विशेषज्ञ तथा नर्सिङ जनशक्तिलाई बाल क्यान्सर रोगको विषयमा जानकारी दिँदा काठमाडौं उपत्यका बाहिर रहेका क्यान्सर पीडित बालबालिकाले समयमै सहज रुपमा उपचार सेवा पाउने छन्।
प्रादेशिक अस्पतालका चिकित्सक तथा नर्सिङ स्टाफहरुलाई तालिम दिएपछि क्यान्सरको पहिलो चरणको उपचार पूरा गरी मेन्टेनस चरणको उपचारमा रहेका बालबालिका उपचारका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता अन्त्य हुने डा गिरीले बताए।
‘क्यान्सर भएका बालबालिकाको ८ महिनाको उपचार पूरा गरेपछि दोस्रो चरण अर्थात् मेन्टेनस चरणको उपचार विधि हुन्छ, त्यो विधिबाट उपचार गर्न बिरामी महिनामा एकपटक मात्र आए पुग्छ,’ डा गिरीले भने, ‘त्यो उपचारका लागि अहिले बिरामीहरु काठमाडौं नै आउनुपर्ने बाध्यता छ। यो कार्यक्रमले बिरामी काठमाडौं नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने हाम्रो उद्देश्य हो।’
सोही कार्यक्रम अन्तर्गत बाल क्यान्सरका बिरामीको केयर गर्ने नर्सिङ जनशक्तिको हरेक वर्ष दुई जना नर्सलाई विदेशमा फेलोसिपको लागि पठाउने पनि बताए।
यस्तै नर्सिङ स्टाफलाई तालिम उपलब्ध गराउन एक वर्षको पेडियाट्रिक अंकोलोजी केयर फेलोसिप कान्ति बाल अस्पतालमै सुरु गर्ने योजना पनि रहेको छ।
अंकोलोजीको विषयमा जानकारी भएका नर्सिङ जनशक्ति उपलब्ध हुँदा भर्ना भएर उपचार गराइरहेका क्यान्सरका बिरामी बालबालिकाको अस्पतालमा हुने अस्पतालजन्य संक्रमण न्यूनीकरण गर्न सहयोग पुग्ने डा गिरीले बताए।
‘क्यान्सरका बिरामी बालबालिकाको उपचारको क्रममा लामो समयसम्म अस्पतालमै भर्ना हुँदा हुने अस्पतालजन्य संक्रमण न्यूनीकरण गर्न र क्यान्सर भएका बालबालिकाको मृत्युदर कम गर्न सकिन्छ,’ उनले भने।
यस्तै सोही रकमबाट कान्ति बाल अस्पतालको अंकोलोजी वार्डमा इन्फ्युजम पम्प, सिरिन्ज पम्प र मोनिटर थप गरिने पनि उनले बताए।
कान्ति बाल अस्पतालमा क्यान्सर भएका बालबालिकाको मात्र उपचारका लागि हाल २७ वटा बेड भर्ना हुने बिरामीका लागि र ८ वटा डे केयरका लागि आउने बिरामीको लागि उपलब्ध छन्।
डा गिरीले प्रादेशिक अस्पतालहरुमा बाल क्यान्सरको सेवा उपलब्ध गराउँदा काठमाडौंमा धाउँदा हुने खर्चमा बिरामीलाई राहत मिल्ने, प्रादेशिक अस्पतालमै बालबालिकामा क्यान्सर पत्ता लगाउन सहज हुने बताए।