काठमाडौं- सरकारले खरिद गर्न लागेको २० लाख डोज कोभिड खोप कोभिसिल्ड पहिलो चरणमा १० लाख आउने भएको छ।
नेपालले सेरम इस्न्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको अक्सफोर्ड–एस्ट्राजेनिकाको कोरोना विरुद्धको खोप कोभिसिल्ड खरिद गर्न लागेको छ।
कम्पनीले २० लाख खोप दुई चरणमा पठाउन सक्ने सम्भावना रहेको बताएको तर अन्तिम निर्णय नदिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले स्रोतले भन्यो,‘हामी कम्पनीको नियमित सम्पर्कमा छौँ। दुई चरणमा खोप पठाउने सम्भावनाबारे उनीहरुले बताएका छन्। आज बेलुका वा भोलिसम्म त्यसको निर्णय आउँछ होला। हामीले त्यही अनुसार पहिलो चरणमा १० लाख र दोस्रो चरणमा १० लाख खोप ल्याउने तयारी गरेका छौं’
सरकारले प्रति एक डोज ४ डलर रुपैयाँमा २० लाख डोज खोप खरिद गर्न लागेको छ।
कम्पनीले खोप उपलब्ध गराउने तर त्यसका लागि अग्रिम भुक्तानी गर्नुपर्ने सर्त राखेपछि मन्त्रीपरिषद्को मंगलबार(हिजो) बसेको बैठकले बाधाअड्चन फुकाई खोप खरिदका लागि अग्रिम भुक्तानी गर्ने निर्णय गरिसकेको छ।
नेपालको कानुनी व्यवस्था अनुसार खरिद गरिएको सामग्री नेपाल आइसकेपछि मात्र भुक्तानी दिइन्छ। कम्पनीले राखेको प्रस्ताव नेपालको खरिद ऐन विपरीत भएपछि स्वास्थ्य मन्त्रालयले उक्त प्रस्ताव मन्त्रीपरिषदमा पठाइएको थियो।
मरिपरिषद्को निर्णय पछि अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई रकम निकासा दिने र मन्त्रालयले कम्पनीको बैंक अकाउन्टमा रकम जम्मा गर्ने बताइएको छ।
सरकारले उक्त खोप आएपछि दोस्रो चरणको खोप अभियान सञ्चालन गर्नेछ।
दोस्रो चरणमा ज्येष्ठ नागरिक, कडा रोग भएको व्यक्तिहरुलाई खोप लगाइने छ। सरकारले दोस्रो चरणमा ६० वर्षमाथिका करिब २७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने योजना बनाएको छ।
‘हामीलाई ७ लाख भन्दा बढी ७५ वर्षमाथिका नागरिक छन् भनिएको थियो। त्यो संख्या १४ लाख आसपास छ भनिएको छ। ६० वर्षभन्दा माथि सबै जोड्दा २७ लाख व्यक्ति पुग्छन् भन्ने मन्त्रालयको अनुमान छ,’ मन्त्रालय स्रोतले भन्यो।
नेपालमा माघ १४ गतेदेखि कोभिड विरुद्धको खोप अभियान सञ्चालन भएको थियो।
पहिलो चरणको पहिलो प्राथमिकतामा फ्रन्टलाइर्नस स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स, शबबाहन चालक, कारागारका कर्मचारी, कैदी, सफाईकर्मीलाई खोप लगाइएको थियो।
पहिलो दोस्रो प्राथमिकतामा पत्रकार, राजदुतावासका कर्मचारीहरु र यूएन एजेन्सीमा कार्यरत कर्मचारीलाई खोप लगाइएको थियो।
अहिले सोही चरणमा सरकारी कार्यालयका कर्मचारीहरु र स्थानीय तहका जनप्रतिनिधिलाई खोप लगाइदैँ छ। यो चरणको खोप अभियान फागुन ८ गतेसम्म चल्ने बताइएको छ।
मंगलबार साँझसम्मको तथ्यांक अनुसार हालसम्म २ लाख ६३ हजार ४८ जनाले कोभिड खोप लगाइसकेका छन्।