काठमाडौं- नेपालमा रेम्डेसिभिर र कन्भालेसेन्ट प्लाज्मा थेरापीको प्रयोग कोरोना संक्रमितको उपचारका लागि प्रभावकारी भएको पाइएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले नेपालमा कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिर र कन्भालेसेन्ट प्लाज्मा थेरापीको प्रयोग प्रभावकारी देखिएको हो।
परिषद्का अनुसार रेम्डेसिभिर र कन्भालेसेन्ट दुवै विधिको उपचार गर्ने कोरोना संक्रमितमा निको हुने दर ७४ प्रतिशत रहेको थियो।
परिषद्ले सो अध्ययन गत जुलाईमा १२ वटा अस्पतालबाट शुरु गरी नोभेम्बरमा देशभरका ५० भन्दा बढी अस्पतालमा अध्ययन गरेको थियो। तर, सार्वजनिक गरिएको रिपोर्टमा भने जुलाई देखि अक्टोबर सम्मको नजिता मात्र छ।
परिषद्ले ३० वटा अस्पतालका १३ सय १५ जनामा गरेको अध्ययनमा ८३ दशमलब ६ प्रतिशत कोरोना संक्रमितले रेम्डेसिभिर मात्र प्रयोग गरेका थिए। यस्तै ५ दशमलब ८ प्रतिशतले कन्भालेसेन्ट प्लाज्मा मात्र प्रयोग गरेका थिए।
यस्तै १० दशमलब ६ प्रतिशत बिरामीले दुवै उपाचार पाएका थिए। यसरी उपचार पाउनेमध्ये ७४ प्रतिशत राम्रो अवस्थामा डिस्चार्ज भएका थिए भने ४ दशमलब ४ प्रतिशत बिरामीमा दिर्घकालिन असर देखिएको थियो।
यस्तै २१ दशमलब ६ प्रतिशत बिरामीको मृत्यु भएको थियो। मृत्यु भएका अधिकांश बिरामीमा कडा र खतरायुक्त कोरोना संक्रमण भएको र उनीहरुलाई सघन उपचार र भेन्टिलेटरको आवश्यकता परेको बिरामीहरु थिए।
अध्ययनका अनुसार मध्यम र गम्भिर बिरामीहरुलाई कोभिड–१९ को उपचार गर्न रेम्डेसिभिर मात्र प्रयोग गरिएको थियो । जसमध्ये ८४ प्रतिशत बिरामी निको भइ डिस्चार्ज भएका थिए । यस्तै रेम्डेसिभिर मात्रको प्रयोगले मध्यम संक्रमण भएका बिरामीहरुको निको हुने दर ९८ दशमलब ४ प्रतिशत थियो ।
यस्तै कन्भालेसेन्ट प्लाज्मा मात्र पाएका बिरामीको निको हुने दर ३९ प्रतिशत थियो भने रेम्डेसिभिर र कन्भालेसेन्ट प्लाज्मा दुवै प्रयोग गरि निको हुने बिरामीको दर ५४ प्रतिशत थियो ।
अध्ययनका अनुसार रेम्डेसिभिर र कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिको उपचारले ५ प्रतिशत भन्दा कम बिरामीमा मात्र प्रतिकूल असर परेको पाइएको छ ।