काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतका तीन वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तीको प्रक्रिया अगाडि बढेको छ। उपकुलपति सिमारिस समितिले तीनवटै प्रतिष्ठानका उपकुलपतिका लागि फागुन २४ गते आवेदन माग गरेको थियो।
समितिले रिक्त उपकुलति पदका लागि सात दिनको समयावधि राखेर आवेदन माग गरेको थियो। तर उक्त समितिमा को को छन् भन्ने कुरा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गोप्य नै राखेको छ। स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा समिति बनाइएको भनिएपनि समितिका विषयमा सार्वजनिक गरिएको छैन। समितिमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल र राष्ट्रिय योजना आयोगका शिक्षा र स्वास्थ्य हेर्ने सदस्य उषा झा सदस्य रहेको बताइएको छ।
मन्त्रालय स्रोतका अनुसार समितिले आवदेन माग गरेपछि उपकुलपतिका लागि पाटन र पोखरामा १२/१२ जनाको आवेदन परेको छ भने कर्णालीमा २१ जनाको आवेदन परेको छ। तर यो कुरा पनि गोप्य नै राखिएको छ।
स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वनजिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ती र मनोनयन सम्बन्धी मापदण्ड २०७३ अनुसार आवेदन माग गरेको समितिले उक्त मापदण्ड अनुसार कति जनाले निवेदन दिएका छन् भन्ने जानकारी समेत गोप्य राख्नुलाई रहस्यमय ढंगले हेरिएको छ।
मन्त्रालयका एक उच्च तहका कर्मचारी भन्छन्, 'सबै नाम गोप्य राख्नुको कारण प्रधानमन्त्री र मन्त्री निकटका व्यक्तिलाई नियुक्ती दिने खेल हो। यहाँ मापदण्ड र प्रतिस्पर्धा भन्दा पनि अर्कै खेल भइरहेको छ।'
समितिले नाम गोप्य राखे पनि केही नाम भने बाहिर आएका छन्। कर्णालीमा कार्यवाहक उपकुलपति डा मङ्गल रावल, निवर्तमान उपकुलपति प्रा डा राजेन्द्र वाग्ले, डीन डा रेशम राना, रेक्टर निरेश थापा, डा सूर्यमान लिम्बू, प्रा डा तरुण पौडेल, डा राजीव साह, प्रा डा रामप्रसाद उप्रेती, प्रा डा गेहनाथ बराललगायत २१ जनाले आवेदन दिएका छन्।
त्यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यवाहक उपकुलपति प्रा डा राजेशनाथ गङ्गोल, रजिष्ट्रार प्रा डा पारसकुमार आचार्य, प्रा डा गेहनाथ बराल, प्रा डा राजेन्द्र वाग्लेलगायत १२ ले आवेदन दिएका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि डा ध्रुव अधिकारी, डा भरत खत्री, डा डुपबहादुर क्षेत्री, डा श्रीकृष्ण श्रेष्ठ, डा विजय अर्याललगायत १२ जनाको आवेदन परेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
आवेदन दिएकाहरुले पेश गरेको निवेदन, कार्ययोजना र अन्य आवश्यक अध्ययनपछि समितिले प्रत्येक प्रतिष्ठानका लागि तीन जनाको नाम कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सिफारिस गर्नेछ। विगतमा उपकुलपतिका आवेदकहरुको कार्ययोजनका विषयमा समितिमा प्रस्तुति दिनुका साथै अन्तर्वार्ता पनि हुन्थ्यो। तर यसपटक प्रस्तुति र अन्तर्वार्ता नगरी सोझै नाम सिफारिस गर्न लागिएको छ। यसरी सिफारिस भएकामध्ये प्रधानमन्त्रीले एक/एक जनालाई उपकुलति नियुक्त गर्ने छन्।