काठमाडौं– सरकारले कुटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय अन्तर सरकारी संस्थाबाट आयात हुने कोभिड–१९ विरुद्धको खोप आयातमा अनुमति दिने भएको छ।
औषधि व्यवस्था विभागले सोमबार एक विज्ञप्ती जारी गर्दै कुटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय अन्तर सरकारी संस्थाबाट आयात हुने खोपलाई आयातमा अनुमति दिने जनाएको हो।
औषधि वा खोपको आपतकालीन प्रयोग सम्बन्धि संहिता,२०७७ बमोजिम नेपाल सरकारलाई दातृराष्ट्र, अन्तराष्ट्रिय अन्तरसरकारी संस्था वा परोपकारी संस्थाले अनुदानमा खोप उपलब्ध गराउने भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा औषधि व्यवस्था विभागले आयात अनुमति दिने व्यवस्था गरिएको जनाइएको छ।
कोरोना भाइरस विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धि अबधारणा पत्रमा नै नेपाल स्थित कुटनीतिक नियोग तथा अन्तर सरकारी संस्थाले सम्बन्धित मुलुक वा अन्तर सरकारी संस्थाले स्वीकृत गरेको खोप नियोगका कर्मचारी तथा निजका परिवारका सदस्यहरुलाई कोभिड–१९ खोप लगाउनका लागि आयात गर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।
त्यसका लागि परराष्ट्र मन्त्रालय एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा औषधि व्यवस्था विभागले आयात अनुमति दिने र नियोगले खोपको प्रयोग प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा तोकेको ढाँचामा उपलब्ध गराउनुपर्ने जनाएको छ।
गत सोमबार स्वास्थ्य मन्त्रालय तथा माताहतको निकाय तथा विभागलाई जानकारी नै नदिइ बहाराइनबाट २ हजार डोज कोरोनाविरुद्धको खोप ल्याइएको थियो।
बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको १५ जनाको टोलीले सोमबार नेपाल आउँदा उक्त खोप ल्याएका थिए।
बहराइनस्थित नेपाली राजदुत पदम सुन्दास लगायत दुतावास परिवारले भने खोप सहित नेपाल आएका टोलीलाई सोमबार त्यहाँबाट विदाई नै गरेका थिए।
तर खोप नेपाल आइसक्दा पनि सोमबार दिउँसोसम्म स्वास्थ्य मन्त्रालय र मातहतका कुनै पनि निकायलाई जानकारी भने थिएन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कुटनीतिक नियोगमार्फत सूचना नै नदिइ खोप आयात हुन थालेपछि औषधि व्यवस्था विभागले त्यस्ता खोपलाई आयातका लागि अनुमति दिने व्यवस्था रहेको भएपनि खोप आयात गर्दा परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई जानकारी दिएर खोप ल्याउनुपर्ने व्यवस्था भएको जनाएको छ।
बहराइनबाट ल्याइएको खोपलाई प्रयोग गर्न दिने वा नदिने भन्ने विषयमा भने अझै निर्णय नभएको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले जाकारी दिए।
‘हामीले आज निकालेको सूचना हाम्रो ऐनमा भएको व्यवस्थाबारे जानकारी दिनलाई हो,’ उनले भने, ‘बहराइनबाट ल्याइएको खोपको विषयमा थप अनुसन्धान हुदै छ। अहिले नै के गर्ने भन्ने निर्णय भइसकेको छैन।’
सो खोप आइसकेपछि गत मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागलाई सो खोपको विषयमा छानवीन गर्न मंगलबार निर्देशन दिएको थियो।
विभागले गत बिहीबार नै सो खोपबारे प्रारम्भिक अनुसन्धान पुरा गरी त्यसको रिपोर्ट स्वास्थ्य मन्त्रालयलाई बुझाइसकेको छ।
सो खोप सिनोफार्म अन्तरगतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोप ‘सार्स –कोभ –२ भ्याक्सिन (भेरो सेल) रहेको पाइएको छ।
तर नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति पाएको खोप भएपनि स्वास्थ्य मन्त्रालयसँग समन्वय नै नभइ ल्याएको हुँदा प्रयोग गर्ने÷नगर्ने भन्ने विषयमा भने कुनै निर्णय भइसकेको छैन। सो खोपलाई हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोप भण्डारणमा नै राखिएको छ।