काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थल र हवाई मार्ग प्रयोग गरी नेपाल भित्रिने व्यक्तिमा कोरोना पुष्टि भए उपचारका लागि १४ अस्पताल सूचीकृत गरेको छ।
भारतीय नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्समा कोरोना जाँच गर्ने र कोरोना पुष्टि भएमा सूचीकृत अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाउन ती अस्पताललाई निर्देशन दिइएको छ।
स्वास्थ्य मन्त्रालयले भारतबाट नेपाल फर्किनेहरुमा कोरोना संक्रमण देखिने क्रम बढ्न थालेपछि ५ वटा प्रदेशमा संक्रमितको उपचारका लागि १४ वटा अस्पताललाई सूचीकृत गरेको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले प्रदेश १ को काँकडभिट्टा हेल्थ डेस्कमा कोरोना पोजेटिभ आएकाहरुलाई मेची अस्पताल, रानी हेल्थ डेस्कमा पोजेटिभ देखिएका व्यक्तिहरुलाई कोशी अस्पतालको अस्थायी कोरोना विशेष अस्पतालमा र पशुपतिनगर हेल्थ डेस्कमा पोजेटिभ आएका बिरामीहरुको इलाम अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाएको जनाएको छ।
मन्त्रालयले प्रदेश २ को वीरगञ्ज हेल्थ डेस्कमा पोजेटिभ आएका बिरामीलाई नारायणी अस्पताल, सिरहाको मादर हेल्थ डेस्कमा पोजेटिभ आएकाहरुलाई सिरहा अस्पताल र गौर हेल्थ डेस्कमा पोजेटिभ आएका बिरामीलाई रौतहट अस्पतालमा उपचार गराउन निर्देशन दिएको छ।
त्यसैगरी, बागमती प्रदेशको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पोजेटिभ आएका बिरामीहरुलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, तातोपानी हेल्थ डेस्कमा पोजेटिभ आएकालाई सिन्धुपाल्चोक अस्पताल र रसुवागढी हेल्थ डेस्कमा पोजेटिभ भेटिएका बिरामीको उपचार रसुवा अस्पतालमा उपचार गराउन सूचीकृत गरिएको छ।
स्वास्थ्य मन्त्रालयले लुम्बिनी प्रदेशको बेलिया हेल्थ डेस्कमा पोजेटिभ आएका बिरामीलाई भीम अस्पताल, कृष्णनगर हेल्थ डेस्कमा पोजेटिभ आएका बिरामीलाई कपिलवस्तु अस्पताल र जमुनाह हेल्थ डेस्कमा पोजेटिभ आएका बिरामीलाई भेरी अस्पतालमा उपचार गराउने जनाएको छ।
यस्तै सुदूरपश्चिम प्रदेशको गड्डाचौकी हेल्थ डेस्कका पोजेटिभ आएकाहरुलाई महाकाली अस्पताल र त्रिनगर हेल्थ डेस्कमा पोजेटिभ आएका बिरामीलाई उपचार गर्न सेती प्रादेशिक अस्पताल तोकिएको छ।
स्वास्थ्य मन्त्रालयले सूचीकृत अस्पतलमा कोरोना पहिचान भई आएका बिरामीको उपचार खर्च मन्त्रालयले व्यहोर्ने जनाएको छ।