काठमाडौं– नेपाल जनस्वास्थ्य संघले कोरोनाविरुद्धको खोप उत्पादक सेरम इन्स्टीच्युड अफ इन्डियालाई कोभिसिल्ड खोपको आपूर्ति गर्न अनुरोध गर्दै पत्र लेखेको छ।
बुधबार जनस्वास्थ्य संघका अध्यक्ष श्रीकृष्ण भट्टले सेरमका प्रमुख डा साइरस एस पूनवालालाई एक पत्र लेख्दै सेरमलाई कोभिसिल्ड खोपको आपूर्ति फेरि सुरु गर्न र नेपाललाई उचित मूल्यमा उपलब्ध गराउन अनुरोध गरेका हुन्।
उनले आफूहरुको प्रस्तावलाई सेरमले गम्भीररुपमा लिने र कोभिड–१९ को महामारीबाट बच्ने नेपालको प्रयासमा साथ दिने अपेक्षा गरेको पत्रमा उल्लेख गरेका छन्।
सेरमले यसअघि उलपब्ध गराएको खोप नेपालका ६५ वर्षभन्दा माथिका उमेर समूहकाले लगाएको भएपनि भारत सरकारले अन्य देशलाई खोप आपूर्ति बन्द गर्ने निर्णय गरेसँगै यसको प्रभाव नेपालमा परेको पत्रमा उल्लेख गरिएको छ।
नेपालमा कोभिसिल्डको आपूर्तिमा भएको रुकावटले परिणाम पीडादायक बनेको संघले सेरमलाई पठाएको पत्रमा उल्लेख गरिएको छ। अप्रिल २०२१ मा कोभिसिल्डको पहिलो मात्र पाएका नेपालीले यससँग मिल्ने अन्य कम्पनीको खोपसमेत नपाउँदा उक्त उमेर समूह जोखिममा परेको र यसले गर्दा नेपालमा महामारी नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको पत्रमा उल्लेख गरिएको छ।
खुला सीमाका कारण नेपाल भारतले विश्वव्यापी महामारीको चुनौती र प्रभावलाई मिलेर सामना गर्नुपर्ने भएकाले खोप उपलब्ध गराउन संघले आग्रह गरेको छ।
नेपालमा कोभिसिल्डको पहिलो डोज लगाएका साढे १३ लाखभन्दा बढी नागरिक दोस्रो डोजको पर्खाइमा छन्।
कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका ६५ वर्ष र १४ जिल्लाका ५५ वर्षमाथिका गरी साढे १३ लाख व्यक्तिले खोप लगाउन नपाएका हुन्।
विश्व स्वास्थ्य संगठनले खोपको पहिलो मात्रा लगाएको ८ देखि १२ हप्तासम्ममा दोस्रो मात्रा लगाउनुपर्ने जनाएको छ। तर, दोस्रो डोज लगाउनका लागि भारतीय कम्पनीबाट खोप प्राप्त हुन नसकेको र अन्य ठाउँबाट पनि सरकारले खोप ल्याउन नसक्दा कोभिड संक्रमणको उच्च जोखिमा रहने उक्त उमेर समूहले दोस्रो डोज खोप लगाउन नपाएको हो।