बिरामीहरुको सेवा गर्ने तथा बिरामी अवस्थाबाट स्वास्थ्य लाभ गराउने पूनित सोच बोकेर लाखौं लगानी तथा रात दिन नभनि अथक मेहेनतबाट कोही व्यक्ति चिकित्सक वा स्वास्थ्यकर्मी बनेको हुन्छ। पढाईको सकस आफनो ठाँउमा छ। शूरुवाती दिनमा आफनै क्लेजका सिनियरबाट गरिने बुलिङ्ग नेपालका मेडिकल शिक्षण संस्थाका लागि नौलो विषय रहेन। हालैको कर्णालीको एक मेडिकल शिक्षण संस्थाको घटना हाम्रो सामु ताजा छ। यस प्रतिको क्लेज व्यवस्थापनको निरिहताको चर्चा यत्रतत्र सर्वत्र छ। विद्यार्थी बेलाको सकस त आफनो ठाँउमा छ तर जब पढाई सकेर सेवा गर्ने भावले अस्पतालमा काम गर्न थाल्यो कुन कुरामा कुन बिरामीको आफन्तले हात हाल्ने हो त्रासमय तवरमा काम गर्नुपर्ने विषय आजकल नौलो भएन।
दिनानुदिन सुनिने घटनाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा काम गर्ने मनोबल घटिरहेको आभाष गर्न सकिन्छ। बिरामी स्वास्थ्यमा समस्या भए पश्चात उपचारका लागि जाने तथा आश्रित हुने भनेकोनै अस्पतालमा हो तथा उपचार गर्ने भनेको चिकित्सक तथा स्वाथ्यकर्मीलेनै हो। गुणस्तरिय सेवा प्रवाह गर्नु सम्पूर्ण अस्पताल तथा नैतिकतामा रहेर पदिय जिम्मेवारीमा रहेर उपचार गर्नु चिकित्सक तथा स्वास्थ्यकर्मीको धर्म हो। मानिसको जिवन तथा मरणसंग सम्बन्धीत क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा बिरामी तथा बिरामी कुरुवासंग राम्रो काउन्सिलिङ्ग नगर्ने , बिरामीको कुरा नसुन्ने तथा जथाभावी औषधि चलाउने आरोप हुने गरेको छ। डिउटीमा चिकित्सकिय तथा स्वास्थ्यकर्मीले लगाउने पोशाक नलगाएकै कारण बिरामी तथा बिरामी कुरुवाले को चिकित्सक तथा को स्वास्थ्यकर्मी भन्ने पहिचान गर्न नसकेको आरोप पनि बजारमा सुनिन्छ। के यर्थाथमा यहि हो त ?यदि यस किसिमका अनैतिक तथा पदिय मर्यादा विपरितका कार्य भएका हुन भने सुधार आवश्यक छ। चिकित्सक तथा स्वास्थ्यकर्मी एकदमै मर्यादित पेशा हो। मानिसको जिवन बचाउने कसम खाएर पेशामा आएको यो जनशक्तिले मानिसले भन्ने गरेको भगवानको अर्को रुपमा आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ तर के समाज अराजक भईरहेको छ भन्ने कुरालाई हामी अन्देखा गर्न सक्छौ र ?
जथाभावी औषधि आफै सेवन गर्ने , हतपत अस्पताल नजाने , आफै चिकित्सक बन्न खोज्ने अनि अन्तिम अवस्थामा मात्र अस्पताल जाने हामी नेपाली अस्पताल अन्तिम अवस्थामा पुगे पनि कुनै औषधिले काम नगर्ने अवस्थामा पुगेका हुन्छौं। चिकित्सकले अथक प्रयास गरे पनि बिरामी बचाउन सम्भव हुँदैन अनि लपरवाही भनेर हातपात गर्ने, अस्पताल तोडफोड गर्ने , क्षतिपूर्तिका कुरा गर्ने अनि राज्यसंयन्त्र यस अवस्थामा निरिह बन्दिने यसरी समाज कता गइरहेको छ ?अस्पताल आउने सबै बिरामीलाई अस्पतालले तथा चिकित्सकले चाहेर पनि बचाउन सक्दैन। सबै मृत्यु हुने बिरामीमा लपरवाहीको उपाधी तथा धम्कीले अस्पतालमा काम गर्ने कर्मचारीले सिकिस्त बिरामीलाई कसरी उपचार गर्ने हिम्मत गर्न सक्छन ? सिकिस्त बिरामी अस्पतालको ढोकाबाटै फर्काइने वातावरण बन्न थाल्यो भने अवस्था के होला सबैले मनन गर्न आवश्यक छैन?
कुनै एक अस्पतालले सबै बिरामीको उपचार गर्न सक्दैन। जनशक्तिको अभाव , स्वास्थ्य क्षेत्रमा कुनै एक सेवा थप गर्न लाग्ने करोडौं लगानी तथा स्वीकृतिको झमेलाले कुनै एक अस्पतालमा सबै सेवा प्रवाह सम्भव छैन। आफूकोमा नभएको सेवाका लागि तथा थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा रेफर गरिनु सामान्य प्रकिया हो तर बिरामी रेफर गर्ने कुरा आयो कि बिरामी तथा कुरुवाले अस्पतालमा हिजोआज असहज वातावरण श्रृजना गर्न थालेका छन। थप उपचार वा आफूकोमा नभएको सेवाका लागि रेफर गर्दा यति दिन सम्म किन राखेको , शुरुमै भर्ना किन गरेको वा अहिले आएर किन रेफर, मेरो बिरामीलाई झुलाउने कार्य गरियो , अवस्था बिगारियो लगायतका नानाथरीको कपोकल्पित कुरा बनाएर वातावरण खलल गर्ने कार्य बढिरहेको छ।
शल्यक्रिया गरिने बिरामी , आई.सि.युमा राख्नुपर्ने बिरामीको शल्यक्रिया तथा उपचारमा चिकित्सक त्रासमा बस्नुपर्ने वातावरण बन्दै गर्दा बिरामीले कसतो उपचार पाउलान ?अस्पतालमा तोडफोड गर्ने तथा चिकित्सक तथा स्वास्थ्यकर्मी माथी हातपात गर्नेलाई जेल तथा जरीवानाको व्यवस्था भएता पनि त्यसको कडा पालना भएको पाइदैन। सबै नागरिक कार्यकर्ता भएको यो देशमा जेल हालेको २–४ घण्टा समेत जेल प्रशासनले थुनिएको मानिसलाई राख्न गार्हो छ। चिकित्सक तथा स्वास्थ्यकर्मी देशमा काम गर्ने वातावरण नभएको बरु विदेशमा पेशगत सुरक्षा तथा उच्च मनोबलका साथ काम गर्न सकिने सोचले विदेशिने होड चलेको छ।
स्नातक तह उत्तिर्ण गरि मेडिकल काउन्सीलको परीक्षा दिने बितिकै विदेशको सपना बोक्ने, स्नातकोत्तर गरि आफनो अलग्गै पहिचान स्थापित गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु विदेश पलायन हुने लहरमा लगेको देख्दा यो देशमा चिकित्सक तथा स्वास्थ्यकर्मीको भविष्यमा खडेरी पर्ने सम्भावना प्रबल छ। देशको माया भएता पनि काम गर्ने वातावरण छैन केका लागि बस्ने नेपालमा अनि बसेर नि के गर्ने एक त कम तलब त्यस माथी कहाँ कुन बेला कसले हातपात गर्ने हो थाहा छैन कसरी काम गर्ने सोच्नु मानसिक तनाव लिएर चिकित्सकिय सेवा तथा उपचार दिन सकिदैन बरु जुन देश होस विदेशनै जाने भन्नेहरुको संख्या ठूलो छ।
सरकारी अस्पतालमा दरबन्दी श्रृजनामा सरकारको उदासिनता, मेडिकल साइन्समा स्नातक तथा स्नातकोत्तर गरेर पनि जाँगिरका लागि भौतारिनुपर्ने , लाखौ लगानी , अथक कडा परिश्रम गरेर एम.बि.बि.एस वा एम डि÷ एम एस गरेर स्वयंसेवक भएर अस्पतालमा कार्य गनुपर्ने त्यस माथी बिरामी तथा बिरामी कुरुवाको हप्कीदप्की अझ त्यस माथी मेडिकल साइन्समा सिनियरको हेपाई अनि चरम दमन खेपेर बस्नुभन्दा विदेशिनु ठीक भन्ने जनशक्तिको संख्या आजभोली उल्लेख्य पाइन्छ। देश कता गईरहेको छ?
एक त जनशक्तिको उत्पादन कम भईरहेको छ। मेडिकल साइन्सका नाम चलेका शिक्षण संस्थाको स्नातकोत्तरका कैयन सिटमा आवेदकनै नपर्नु अनि सिट खाली हुनुले के संकेत गदैछ अनुमान गरुम। स्वास्थ्य सेवा अझ भयावह अवस्थाउन्मुख प्रतित हुन्छ। बे्रनड्रेनको यो भयावह अवस्थालाई रोक्न राज्य उदासिन छ। पेशगत संघ संगठललाई फुर्सदनै नभएको देखिन्छ। रोजगारीकोृ सुनिश्चितता तथा भयरहित काम गर्ने वातावरण श्रजना नहुने भए देशमा कोही पनि दक्ष जनशक्ति नबस्ने कुरालाई हृदयंगम गर्न ढिला भएन ?
गुणस्तरिय शिक्षा प्रणाली विषयमा समेत कहि कतै प्रश्न उठने गरेको सुन्न पाइन्छ। विश्वविद्यालयले निधारण गरेको पाठयक्रम समयसापेक्ष नभएको, परीक्षा प्रणाली अवैज्ञानिक , प्रयोगात्मक अभ्यासको अभाव , आचार संहिता तथा नैतिक शिक्षाको अभाव अनि अनुगमनका बेला कृत्रिम प्रोफेसर तथा लेक्चरर खडेबाबाका रुपमा उभाइनुले चिकित्सकयि तथा उपचार सेवाको शिक्षानै गुणस्तर नभएको आरोपलाई मेडिकल शिक्षण संस्थाहरुले चिर्न जरुरी छ , यदि सत्य रहेमा सुधार अपरिहार्य छ। मेडिकल शिक्षण संस्थामा समय समयमा बेथितीको आवाज , परीक्षा प्रणाली तथा दश्तुरका विषयलाई लिएर विद्यार्थी अन्दोलित बनेको अवस्थाले लाखौं खर्च गरेर डाक्टर बन्छु भन्ने सपना बोकेर मेडिकल स्कुल प्रवेश गरेका विद्यार्थी राजनैतिक गतिविधिमा, अन्दोलनमा , नाराबाजीमा लाग्नुपर्ने वातावरण बजारमा आउनुले मेडिकल क्लेजमा केहि बेथिती पक्कै छ कि अनि यसता मेडिकल क्लेजबाट उत्पादन हुने जनशक्तिले के गुणस्तरिय सेवा प्रवाह गर्लान , के नैतिक व्यवहार प्रस्तुत गर्न सक्छन भन्ने अशंका आमजनमानसमा बढदै गएकाले चिकित्सक प्रतिको समाजको सम्मान अनि हेर्ने दृष्टिकोणमा परिवर्तन आएकाले चिकित्सकलाई निर्बाद रुपमा भयरहित भएर काम गर्ने वातावरण हटदै गएको त होइन ?
राज्यको संविधानको कागजमा स्वास्थ्य नागरिकको मौलिक हक भनिएको तर समाजमा स्वास्थ्य क्षेत्र निजिकरण उन्मुख छ अनि ती अस्पतालमा नैतिकताको खडेरी परेको छ भन्ने नकरात्मक भावले जरो गाढिरहेको छ। बिरामीलाई आवश्यकभन्दा कैयन अनावश्यक जाँच गराउने कमिशनको खेति गर्ने अनि अस्पताल गयो कि त लाखौँ पैसा लाग्छ लुटिइन्छ अनि त्यही लुटतन्त्रमा स्वास्थ्यकर्मी मतियार बनेका छन , निःस्वार्थ भाव तथा नैतिकताभन्दा बिरामीको माध्ययमबाट कमिशनको स्रोत देख्ने अनि आफनो बिरामीको सहि उपचार नभएको भनेर बिरामीको आफन्त आक्रोशित भावमा हुन्छन भन्ने तर्क दिनेको संख्या पनि उत्तिकै छ। चिकित्सक मानवतालाई तिलाञ्जली दिएर जथाभावी औषधि लेखेर कमिशनको होडको दौडमा छन भन्नेहरुको पनि कमि छैन।
मानिसको जिवन तथा मरणसंग प्रत्यक्ष सम्बन्ध राख्ने अस्पताल तथा स्वस्थ्य सेवा प्रदायकहरु अत्यन्तै संवेदनशील क्षेत्र हुन्। उच्च गुणस्तरको सेवाप्रवाह आजको आवश्यकताका रुपमा खटकिएको कुरा आजको यथार्थ हो। चिकित्सकको चिकित्सकिय चुस्तता , प्राविधिकको कामप्रतिको इमान्दारिता साथै अस्पतालको चुस्त व्यवस्थापनले बिरामीको सेवाप्रवाहमा अहम् भुमिका निवार्ह गरेको हुन्छ। बिरामी अस्पतालको गेटबाट प्रवेश गरे पश्चात सेवा पाएर नफकिए सम्म उसले शुलभ तथा गुणस्तरिय सेवा पाउनका लागी अस्पतालको व्यवस्थापन चुस्त रहनु जरुरी रहन्छ। संख्यात्मक रुपमा नेपालमा सरकारी तथा निजि अस्पतालहरुको संख्या विगत दुई दशकमा आशातित रुपमा वृद्धि भएको पाइन्छ।
अस्पताल , चिकित्सक तथा अस्पतालमा काम गर्ने सबै कर्मचारीहरुलाई भयरहित वातावरणमा काम गर्ने परिबेश बनाउन राज्यसंयन्त्र सचेत नहुने हो भने समाज एकदमै अराजक बन्दै गइरहेको कुरालाई कसैले छोप्न सक्दैन अनि यसले देशको स्वास्थ्य क्षेत्रलाई झन जरजर बनाउने कुरा निति निर्माताले मनन गर्न अतिआवश्यक छ। कडा अनुगमन प्रणाली , कडा अनुशासन , तथा नियमन आजको माग हो। अस्पताल तोडफोड तथा चिकित्सक तथा अस्पतालका कर्मचारीलाई हातपात गर्न कसैलाई पनि छुट छैन, कडाभन्दा कडा कारवाही नगरे अस्पताल बन्द हुन तथा चिकित्सक तथा स्वास्थ्यकर्मी विदेशिनबाट कसैले रोक्न सकिदैन। समयमै चेतना भया।