स्वास्थ्य सेवाको विकासमा एउटा प्रेरक प्रसंग! उहिले जतिबेला बेलायतबाट चिकित्सा बिज्ञानमा उच्च शिक्षा हासिल गरेका केही औंलामा गन्न सकिने चिकित्सकहरु मात्र हुनुहुन्थ्यो, त्यतिबेला विश्व स्वास्थ्य संगठनले प्रदान गरेको छात्रवृत्ति खेर जाने परिस्थिति सृजना गरियो ! नेत्ररोग बिशेषज्ञ डा रामप्रसाद पोखरेलले यस्तो कुरा थाहा पाउनासाथ विश्व स्वास्थ्य संगठनलाई छात्रवृत्ति खेर जान नदिन अनुरोध गर्नुभयो।
उहाँहरुको साथीहरुले भनेछन्, 'किन आफ्नै खुट्टामा बञ्चरो हानेको? धेरै नेत्ररोग विशेषज्ञ भयो भने तिम्रो महत्व घट्दैन? तिम्रो क्लिनिक सुक्दैन?' तत्कालीन समयमा उहाँको उत्तर थियो- यो देशमा १ करोड मानिस छन्, २ करोड आँखा! एक्लो रामप्रसादले धान्न सक्दैन ! मेरो क्लिनिक, मेरो महत्व भन्दा २ करोड आँखा स्वस्थ रहनु महत्वपूर्ण छ ! आज आँखा स्वास्थ्य देशका कुना-कन्दरा सम्म बिस्तार भएको छ । अन्तरराष्ट्रिय रुपमा ख्याति कमाएको छ !
अर्को प्रेरक प्रसंग- आज भन्दा ४६ बर्ष अगाडी डा. मोइन शाहले नेपालमै शुरु गर्नु भएको क्रान्तिकारी कदम स्नातक तहको चिकित्सा शिक्षा! यो स्नातक तहको चिकित्सा शिक्षाको पाठ्यक्रम परम्परागत एमबीबीएस जस्तो थिएन ! शुरुमा उपाधिको नाम डिप्लोमा अफ डाक्टर अफ जनरल एण्ड कम्युनिटी मेडिसिन (डीडीजीसीएम) राखियो। प्रत्येक जिल्लाबाट छानिएका मेधावी बिद्यार्थीहरुले स्वास्थ्य विधामा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि तीन वर्ष जिल्ला-जिल्लामा काम गरे पश्चात् मात्र स्नातक तहमा प्रवेश गर्न पाइने प्रावधान राखिएको थियो! अर्थात् सुगम होस् वा दुर्गम, महिला हुन् वा पुरुष, बुढा हुन् वा बालक, धनी हुन् वा गरिब सबैले समान रुपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने समुदायमा आधारित स्वास्थ्य एवं चिकित्सा शिक्षाको अवधारणा अघि सारिएको थियो! यहि अवधारणामा विश्व स्वास्थ्य संगठन अगाडि बढिरहेको छ ! यो हाम्रा लागि गौरवको बिषय हो।
स्वास्थ्य सेवा तथा शिक्षाका अरु विधाहरुमा हाम्रो देशले विश्वलाई बाटो देखाउन सक्छ वा सक्दैन थाहा छैन तर प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार प्राथमिक तथा आधारभूत स्वास्थ्य सेवा जुन हाम्रो देशका नागरिकहरुले प्राप्त गर्न सकेका छैनन्। यस सन्दर्भमा हाम्रो देश अग्रपंतिमा हुन सक्ने सम्भावना प्रबल हुँदै गइरहेको छ!
विश्वका समृद्ध देशमा जनरल प्राक्टिस पद्धति स्वास्थ्य सेवाको मेरुदण्ड मानिन्छ ! यी देशहरुमा प्रत्येक नागरिक जनरल प्राक्टिस विषयमा स्नाकोत्तर गरेका विशेषज्ञ चिकित्सकको निगरानीमा हुन्छन्! आश्चर्य लाग्न सक्छ, हाम्रो देश भन्दा लगभग २ गुणा मात्र बढी जनसंख्या भएको देश बेलायतमा ११० गुणा बढी जनरल प्राक्टिस विशेषाज्ञ चिकित्सक छन् । अर्थात् हाम्रो देशमा लगभग ५०० जना जनरल प्राक्टिसनर छन् भने बेलायतमा लगभग ५५ हजार जनरल प्राक्टिसनर चिकित्सक छन्।
अन्य देशहरुसँग तुलना गर्नु भन्दा पनि आफ्नो देशको आर्थिक, सामाजिक, भौगोलिक, राजनीतिक, सांस्कृतिक अवस्थाको आधारमा नीति तथा योजना तर्जुमा गरिनु पर्दछl
नेपालमा उत्पादित जनरल प्राक्टिसनर विश्वमै एक मात्र यस्तो अद्भुत जनशक्ति हो, जो प्राथमिक स्वास्थ्य सेवादेखि ज्यान जोगाउने आकस्मिक शल्यक्रिया गर्न सक्षम छ। यस्तो सक्षम जनशक्तिको प्रभावकारी ब्यबस्थापन हुन सकेको छैन।
हाम्रो देशमा जनरल प्राक्टिस विशेषज्ञ चिकित्सक उत्पादन शुरु भएको ४२ वर्षमा ५०० जनरल प्राक्टिसनर उत्पादन भएका छन् अर्थात् औसत प्रत्येक बर्ष १२ जना उत्पादन भएको देखिन्छ ! अहिले उपलब्ध सबै जनरल प्राक्टिसनर हरुलाई ७५३ स्थानीय तहमा खपत गर्न सकियो भने पनि (जुन सम्भव छैन ) थप २५३ जना आवश्यक पर्दछ! अहिलेको उत्पादन क्षमताको आधारमा २५३ जना उत्पादन गर्न ५ वर्ष भन्दा बढी समय लाग्दछ! अझै हामीले न्युनतम प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउन कम्तिमा ६ हजार ७४३ वडा हरुमा जनरल प्राक्टिसनरको ब्यबस्था गर्नुपर्ने हुन्छ ! अहिलेको गतिमा यत्रो जशक्ति उत्पादन गर्न १३५ वर्ष लाग्ने देखिन्छ।
प्राय एमडीजीपी भनेर चिनिने डाक्टरहरुको हाम्रो समाजमा मात्र हैन, जनरल प्राक्टिसनरहरुको आफ्नै समाजको नाममा पनि एकरुपता छैन। यी चिकित्सकहरुलाई जीपी, फेमिली फ़िजिसिएन, जनरल फिजिसिएन, इमर्जेन्सी फ़िजिसिएन, प्राथमिक चिकित्सक, आधारभुत चिकित्सक भन्ने गरेको पाइन् ! जे होस् ,जसले जसरी बुझे पनि हाम्रो देशमा स्नाकोत्तर तहमा जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन विषयको मात्र पढाइ हुन्छ । यस कारण एमडी जीपीइएम नै यी चिकित्सकहरुको औपचारिक नाम हो। उपाधि हो।
कतै-कतै यी चिकित्सकहरुमा हामि विशेषज्ञ हौं र भन्ने लघुताभास व्यक्त गरेको पनि भेटिन्छ! स्नाकोत्तर परीक्षा उत्तीर्ण गरेपछि नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ परिक्षा उत्तीर्ण गरे पश्चात् यी चिकित्सकहरुले विशेषज्ञ चिकित्सकको लाइसेन्स प्राप्त गर्दछन, यसैले यी चिकित्सकहरु विशेषाज्ञ चिकित्सक हुन् ।
बेला-बेलामा बिभिन्न कोणबाट जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ चिकित्सकहरुको योग्यता माथि प्रश्न उठ्ने गर्छन्, यसलाई अन्यथा होइन स्वाभाविक रुपमा लिइनु पर्छ। यस्ता प्रश्नहरुले सचेत रहन, आफ्ना कमी-कमजोरीहरुलाई न्युनिकरण गर्दै आफ्नो क्षमता अभिवृद्धि गर्न प्रोत्साहित गर्दछ! जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन बिषयको अध्ययनको क्रममा अन्य सम्पूर्ण विधाका गुरुबा, गुरुआमाहरुको अत्यन्तै महत्वपूर्ण योगदान रहेको हुन्छ। उहाँहरुले सिकाउनु भएको र सिक्न दिनुभएको अवसरले नै दक्ष एमडीजीपीएम चिकित्सक हुने अवसर प्राप्त हुन्छ।
हाम्रो समाज र सरकारले एमडीजिपी नामले चिन्न थालेको भएतापनि विभिन्न कारणले इमर्जेन्सी मेडिसिन थपिएर 'एमडी जिपीइएम' हुन पुगेकोछ ! अब यहि नाम चीरकालसम्म रहनेछ ! यसैले नामको विषयमा बहस गरिरहनु उचित हुँदैन।
एमडी जिपीइएम समाज एमडी इमर्जेन्सी मेडिसिन विषयको पढाइ शुरु भए पश्चात् अलि चिन्तित भएको देखिन्छ, जुन आवश्यक छैन! सबै विधाको आ-आफ्नै महत्व हुन्छ, तथापी एमडी जिपीइएमलाई अन्य कुनै पनि विशेषज्ञतासँग दाँज्न मिल्दैन! एमडी जिपीइएम रुख हो, अन्य हांगासँग चिन्तित भैरहनु पर्दैन।
एमडी जिपीइएम सरकारलाई आफ्नो क्षमता र आवश्यकता महशुस गराउन सफल भएको छ। यसैले ५० बेडसम्मका अस्पतालको नेतृत्व एमडी जिपीइएमलाई दिने नीति अवलम्बन गर्न थालेको छ! यो नीति नै सम्पूर्ण जनतालाई स्तरीय स्वास्थ्य सेवा पुर्याउने एक मात्र प्रभावकारी उपाय हो।
कतिपयमा एमडी जिपीइएम चिकित्सक दुर्गम क्षेत्रका लागि हुन् भन्ने गलत धारणा भेटिन्छ ! एमडी जिपीइएम चिकित्सक सुगम, दुर्गम छुट्याएर उत्पादन भएका चिकित्सक होइनन्! तथापि दुर्गम क्षेत्रमा बढी आवश्यक एवं अहम् भूमिका निर्वाह गर्न सक्ने चिकित्सक हुन् एमडी जिपीइएम।
जुनसुकै अस्पताल जहाँ कुनै पनि विधाका विशेषज्ञ चिकित्सकको अभाव हुन्छ, जीपीइएम चिकित्सकले परिपूर्ति गर्न सक्छन्! खासगरी हृदयाघात होस् वा मस्तिष्काघात, टाउकोको चोट होस् वा प्रसुतिजन्य रक्तश्राब, बच्चा तथा आमाकै ज्यान जान सक्ने प्रसव समस्या होस्, ज्यान जोगाउने शल्यक्रिया गर्न होस् वा अन्य चिकित्सकीय बिधिबाट उपचार गर्न पोख्त हुन्छन् जीपीइएम चिकित्सक। यसैले प्राइमरी होस् वा टर्सरी अस्पताल जीपीईम चिकित्सकको उचित ब्यबस्थापन गर्न सकियो भने अन्य बिधाका विशेषज्ञ चिकित्सकको अभावमा पनि बिरामी ज्यान जोगाउने अवस्था सृजना गर्न सकिन्छ।
संसारका अन्य कुनै पनि मुलुकका जीपी चिकित्सकहरुमा आकस्मिक शल्यक्रिया गर्ने विशेषज्ञता हुँदैन। यसैले नेपालका जीपीइम फिजिसिएन मात्र होइनन्, आकस्मिक सर्जन पनि हुन्। यसप्रकारको जनशक्ति अन्य विधाका जनशक्तिको अभाव भएका मुलुकका लागि अनुकरणिय हुन सक्ने यथार्थ विश्व जगतले खासगरी अफ्रिकन मुलुकहरुले महसुस गर्न थालेका छन्।
कस्तो जनशक्ति उत्पादन गर्ने हो? त्यहीअनुसारको पाठ्यक्रमको निर्माण गर्नुपर्ने हुन्छ ! पाठ्यक्रम सिकाउनु पर्ने विषयको सूची मात्र होइन, विशेषज्ञता प्राप्त गरिसके पछि के-के गर्न सक्ने हुनुपर्छ अर्थात् ज्ञाता हुनुपर्छ ति विषयमा अध्ययनकै क्रममा सिकाइनु पर्दछ। जीपीईम चिकित्सक औषधि उपचार गर्ने चिकित्सक मात्र होइनन्! बिभिन्न जाति, सम्प्रदाय, भाषा, संस्कृति, भौगोलिक अवस्थितिमा जीवन यापन गरिरहेका नवजात शिशु, युवा, बृद्ध, महिला, पुरुषले भरिएको हाम्रो समाजमा जीपीईम चिकित्सक स्वास्थ्य सेवाका नेतृत्वकर्ता, समन्वयकर्ता, सामाजिक अभियन्ता, पेशा प्रति उत्तरदायी कुशल संवादकर्ता, मानवीय सम्वेदनशिलताले भरिएका बिरामीका दु:खका साथी पनि हुन्।
जीपीईम चिकित्सकहरुको संगठन जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एसोसिएसन अफ नेपालले जीपीईम चिकित्सक हरुको हक, हित, वृत्ति विकासका साथै स्वास्थ्य तथा सामाजिक सेवाको क्षेत्रमा आफ्नो प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ। हाम्रो देशमा बिभिन्न विश्वविद्यालय, प्रतिष्ठानहरुबाट जीपीईम चिकित्सक उत्पादन भैरहेका छन्। तर पाठ्यक्रममा भने एकरुपता छैन। स्तरीय पाठ्यक्रम निर्माण गर्ने, समयानुकुल आवश्यकता अनुसार आवधिक परिमार्जन गर्ने, अनुगमन गर्ने काममा सम्बन्धित निकायहरु क्रियाशील हुनु जरुरी छ।
नेपालमा जीपीईम शिक्षाको विकासमा नेपाल तथा क्यानडा सरकार, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान, पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान, नेसनल एकेडेमी अफ मेडिकल साइन्स, काठमाण्डु विश्व बिद्यालय, निक साइमन इन्स्टिच्युट, चिकित्सा शिक्षा आयोग, अग्रज जीपीईम चिकित्सक तथा अन्य विधाका अग्रज चिकित्सकहरुको महत्वपूर्ण एवं अहम् भूमिका रहेको छ।
अब जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एसोसिएसन अफ नेपालले 'जीपीइम एकेडेमिक काउन्सिल' गठन गरेर चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय, स्वास्थ्य प्रतिष्ठान लगायत सम्बन्धित निकायहरुसँग समन्वय गरेर स्तरीय पाठ्यक्रम निर्माण गर्ने, समयानुकुल आवधिक आवश्यक परिमार्जन गर्ने, एकरुपता ल्याउने, अनुगमन गर्ने 'अभिभारा' बहन गर्नुपर्छ।
(प्राडा गुरुङ राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत छन्।)