काठमाडौं- मधेश सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको छ।
अर्थमन्त्री भरतप्रसाद साहले शनिबार प्रदेशसभामा पेश गरेको बजेटको चालु तर्फ १६ अर्ब ०७ लाख १ हजार र पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार विनियोजन गरिएको छ।
बजेटमा स्वस्थ्य तथा जनसंख्या मन्त्रालय तर्फ रु ५ अर्ब २१ करोड ६५ लाख ०६ हजार विनियोजन गरिएको उल्लेख छ।
स्वास्थ्य मन्त्रालय तर्फ विभिन्न ९ वटा विषय उल्लेख गर्दै उक्त बजेट विनियोजन गरिएको अर्थमन्त्री साहले बताएका छन्।
यी हुन् बजेटमा परेका ९ कार्यक्रम
१. संविधान प्रदत्त आधारभुत स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको मौलिक हकको प्रत्याभुत गराउन स्वास्थ्य सेवालाई थप विस्तार गर्न " मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नाराका साथ पालिकाहरुको समन्यवयमा मधेश प्रदेशका प्रत्येक जिल्लामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना तथा सञ्चालनको लागि यथेष्ट रकम विनियोजन गरेको छु ।
२. आधारभुत स्वास्थ्य सेवाको विस्तारका लागि न्यूनतम सेवा मापदण्ड व्यवस्थापन तथा अस्पताल सुदृढीकरण कार्यक्रमलाई प्राथमिकतामा राखि बजेट विनियोजन गरेको छु ।
३. किशोर किशोरीहरुलाई कुलतबाट बचाउन सुर्तीजन्य तथा मादक पदार्थ सेवन तथा लागुऔषध न्यूनीकरण कार्यक्रमलाई आवश्यक बजेट विनियोजन गरेको छु।
४. मधेश प्रदेशमा रहेको उच्च दरको आमा र शिशुको उच्च मृत्युदर न्यूनीकरण गर्न मातृ तथा नवजात शिशु स्वास्थ्य व्यवस्थापन प्रणाली Mother and Child Health Management system (MCHMS ) का लागि रू. १० करोड विनियोजन गरेको छु ।
५. मधेश प्रदेशमा बढ्दो स्वास्थ्य जोखिम र विरामी को अनुपातमा स्वस्थ्यकर्मीको संख्या न्यून रहेकाले प्रर्याप्त संख्यामा दरबन्दी सिर्जना गरी पदपुर्तिको प्रकृया अगाडी बढाउन मन्त्रालय तथा मातहतका निकायहरुको संगठन संरचनाको संगठन र व्यवस्थापन सर्वेक्षणको लागि रु. १ करोड विनियोजन गरेको छु ।
६. प्रदेशवासीको स्वास्थ्य अवस्थालाई सुधार गर्न तथा सम्भावित स्वास्थ्य जोखिमको न्यूनिकरणका लागि मुख्यमन्त्री घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालनलाई निरन्तरता दिएको छु ।
७. सुत्केरी र गर्भवती आमा तथा विधालय बालबालिकाको न्यूनतम पोषणको सुनिश्चितताका लागि सुत्केरी तथा गर्भवती आमा र विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको लागि किशोरी हरुलाई साप्ताहिक Iron, Folic acid and Albendazole वितरणका लागि रू. ३ करोड विनियोजन गरेको छु ।
८. हरेक जिल्लामा पुर्ण सुसज्जित मेडिकल उपकरण सहितको मोबाईल एम्बुलेन्स व्यवस्था गर्न आवश्यक बजेट विनियोजन गरेको
छु।
९. स्वस्थ्य तथा जनसंख्या मन्त्रालय तर्फ रु ५ अर्ब २१ करोड ६५ लाख ०६ हजार विनियोजन गरेको छु ।