राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा यही मिति २०८२ साल कात्तिक २० र २१ गते देशैभरी एकै साथ सञ्चालन हुने भएको हुँदा आफ्ना बालबालिकाहरूलाई तोकिएअनुसार भिटामिन ए र जुकाको औषधि खुवाउन नजिकको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकासँग सम्पर्क गरी अनिवार्य रूपमा सेवन गराऔँ।
सरकारले भिटामिन ए क्याप्सुल सन् १९९३ देखि र भिटामिन एसँगै जुकाको औषधि सन् २००१ देखि सुरु गरेको यस कार्यक्रममा आफ्ना बालबालिकाहरूलाई अभियानमा नछुटाऔँ। हरेक वर्ष बैशाख र कार्तिक महिनामा सञ्चालन हुँदै आएको यो महाअभियान यस वर्ष कार्तिक २ र ३ गते नेपालीहरूको महान् पर्व शुभ दीपावली पर्न गएकोले मन्त्रालयको निर्णय र परिपत्रअनुसार यही कार्तिक २० र २१ गते देशैभरी एकैसाथ खुवाउन परिपत्र गरिएको भएकाले सबैले आफ्ना स्थानबाट अभियान सफल बनाउन लागिपर्नु आवश्यक छ।
आफ्ना भविष्यका कर्णधार ६ महिना देखि ५ वर्षसम्मका उमेर समूहका सम्पूर्ण बालबालिकाहरूलाई भिटामिन ए को क्याप्सुल र जुकाको औषधि खुवाउन नबिर्सौँ।
यो अभियानले बच्चालाई कमजोरी हुनबाट बचाउँछ, लुलो–लङ्गडो तथा असक्त हुनबाट जोगाउँछ, साथै अन्य रोगसँग लड्ने क्षमता पनि बढाउँछ। रतन्धो जस्तो घातक रोग हुनबाट समेत बचाउँछ। त्यसैले आफ्ना बालबालिकाहरूलाई निःशुल्क रूपमा उपलब्ध भएको यो औषधि सेवन गराउने कार्यमा अनिवार्य रूपमा सहभागी बनौँ।
भिटामिन ए को कमिको रोकथाम तथा नियन्त्रण कार्यक्रमका लागि हरेक सूचीकृत स्वास्थ्य संस्थाहरूले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकामार्फत वर्षको दुई पटक (कार्तिक र बैशाख महिनामा) ६ महिना देखि ५ वर्षसम्मका सम्पूर्ण बालबालिकाहरूलाई भिटामिन ए को क्याप्सुल खुवाइन्छ। जसमा :
• ६ देखि १२ महिनाका लागि १,००,००० IU (आधा क्याप्सुल)
• १२ महिना पूरा भएदेखि ५ वर्षसम्मका लागि २,००,००० IU (१ क्याप्सुल) खुवाइन्छ।
साथै, दादुरा, कडा कुपोषण, दीर्घ झाडापखाला र भिटामिन ए को कमिबाट हुने आँखा सम्बन्धी रोगहरूको उपचारका लागि पनि स्वास्थ्य संस्थाबाट भिटामिन ए क्याप्सुल प्रदान गरिन्छ।
त्यसैगरी, शिशुलाई स्तनपानमार्फत भिटामिन ए आपूर्ति गर्ने उद्देश्यले सुत्केरी महिलालाई शिशु जन्मेको ६ हप्ताभित्र स्वास्थ्य संस्था वा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकामार्फत एक क्याप्सुल (२,००,००० IU) भिटामिन ए खुवाइन्छ।
साथ साथै, परजीवी नियन्त्रण कार्यक्रम अन्तर्गत जन्मेदेखि १ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैन भने १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकामार्फत अर्धवार्षिक रूपमा (कार्तिक र बैशाख महिनामा) जुकाको औषधि अल्बेन्डाजोल ४०० मिलिग्राम एक मात्रा खुवाइन्छ।
जसमा:
• १ देखि २ वर्षका बालबालिकाका लागि २०० मिलिग्राम (आधा चक्की)
२ वर्ष पूरा भएदेखि ५ वर्षसम्मका लागि ४०० मिलिग्राम (एक चक्की) खुवाइन्छ।
विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत विद्यालय जाने बालबालिकाहरूलाई अर्धवार्षिक रूपमा जेठ र मंसिर महिनाको पहिलो हप्तामा जुकाको औषधि अल्बेन्डाजोल ४०० मिलिग्राम एकमात्रा खुवाउने चलन छ, र सोही अनुसार सहभागी गराई खुवाउनुपर्छ।
६ महिना देखि २ वर्ष मुनिका बालबालिकाहरूलाई बहुसूक्ष्म पोषक तत्व (बालभिटा) वितरण गरिँदैछ भने ५ वर्ष मुनिका बालबालिकाको पाखुराको नाप लिएर पोषण अवस्था मापन गरिँदैछ।
त्यसैले, यो कार्यक्रम अत्यन्त महत्वपूर्ण भएको हुनाले यसलाई अभियानकै रूपमा सञ्चालनमा ल्याइएको पाइन्छ।
के हो त भिटामिन ए ?
व्यक्तिको शारीरिक क्रियाकलापलाई नियन्त्रण गरी राम्रोसँग कार्य गर्न थोरै मात्रामा चाहिने तर शरीरलाई नभई नहुने सूक्ष्म पोषक तत्वको रूपमा मानिने रासायनिक पदार्थलाई भिटामिन भनिन्छ।
भिटामिन ए ले शरीरलाई विभिन्न किसिमका संक्रमणबाट बचाउँछ, आँखालाई स्वस्थ राख्छ, र बालबालिकाको वृद्धि–विकासमा महत्वपूर्ण भूमिका खेल्दछ।
यो आमाको दूध, सिङ्गो माछा, जनावरको दूध, हरिया सागपात (कर्कलो, पालुंगो), जनावरको कलेजो र किड्नी, अण्डा, पहेंला फलफूल र तरकारी (फर्सी, मेवा आदि) मा पाइन्छ।
त्यसैगरी, तयारी क्याप्सुलका रूपमा पनि सुरक्षित तरिकाले तयार पारिएको हुन्छ। त्यसैले यसलाई अत्यन्तै महत्वपूर्ण र स्वास्थ्यवर्धक पोषक तत्वको रूपमा मानिएको छ।
यसरी नेपाल सरकारबाट निःशुल्क रूपमा वितरण गरिएका यी महत्वपूर्ण स्वास्थ्य सम्बन्धी अभियानका कार्यक्रमहरूलाई आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा गई, आफ्ना बालबालिकाले प्राप्त गर्ने समयावधिका आधारमा अनिवार्य रूपमा सहभागिता जनाई औषधि सेवन गराउनु हरेक बाबुआमाको कर्तव्य हो।
त्यसैगरी, यही मिति २०८२ कार्तिक २० र २१ गते सञ्चालन हुने भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रममा सबै सहभागी भई भव्यताका साथ सफल पारौँ।
प्रत्येक बालबालिकाका अभिभावक, स्वास्थ्यका सम्पूर्ण सरोकारवालाहरू, शिक्षक–शिक्षिका, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, तीनै तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, प्रशासन लगायत सबैको आ-आफ्नो तहबाट सहयोग र सहकार्य रहँदा मात्र राज्यको यो महत्वपूर्ण कार्यको सार्थकता रहन्छ भन्नेमा कुनै दुईमत छैन।
त्यसैले सबै मिलेर यो अभियान सफल पारौँ र आफ्ना बालबालिकालाई घातक रोगबाट बचाऔँ।
नबिर्सौं- भिटामिन ए र जुकाको औषधि निःशुल्क पाइन्छन्, यी दुबै सुरक्षित छन्, यी दुबै औषधिले जीवन रक्षा गर्दछन्।