प्रश्न: बांगोटिंगो दाँतको तार बाँधेर गरिने उपचार 'ब्रेसेस' कुन उमेरमा लगाउने? कस्ता खानेकुरा खान हुँदैन? कस्ता व्यक्तिमा गर्न मिल्दैन?
डा कृपा ताम्राकारको उत्तर :
बांगोटिंगो दाँतको तार बाँधेर अर्थात् ब्रेसेस लगाउने उपचार गरिन्छ। ब्रेसेस कुन उमेरमा लगाउने भन्ने पनि धेरैलाई थाहा नहुन सक्छ। जनमानसमा ब्रेसेस लगाउने भनेको १३ वर्ष माथिका किशोर–किशोरीले हो भन्ने बुझाइ छ। तर यस्तो होइन। जब दूधे दाँत झरेर पर्मामेन्ट दाँत आउँछ, त्यसपछि बांगोटिंगो दाँत पनि देखिन थाल्छ। सामान्यतया ६ वर्षदेखि नै बांगोटिंगो देखिन थाल्छ। त्यसैले बांगोटिंगो दाँत देखिन थालेपछि नै उपचार सुरु गर्नुपर्छ। दाँतको हड्डी राम्रो भएको अवस्थासम्म बांगोटिंगो दाँत मिलाउन सकिन्छ। सामान्यतया ४० वर्षको उमेर सम्ममा अर्थोडन्टिक्स उपचार गर्न मिल्छ।
बांगोटिंगो दाँत मिलाउन ब्रेसेस लगाउँदा दाँतको हड्डी खिइन्छ। एक ठाउँमा खिइने र अर्को ठाउँमा बन्छ। अर्थात् दाँत चल्न थाल्छ। हड्डी बन्ने र खिइने क्रम चलिरहन्छ र विस्तारै दाँतको आकार मिल्दै जान्छ। ब्रेसेस लगाएपछि एक महिनामा शून्य दशमलब ८ मिलिमिटर जति दाँतको हड्डी चल्छ।
ब्रेसेस लगाएको पहिलो हप्ता दाँत सर्छ। त्यसैले गर्दा दुखाइ महसुस हुन सक्छ। त्यसपछिको तीन हप्ता सरेको दाँतलाई त्यहीँ बन्न दिनुपर्छ। यसरी ब्रेसेस लगाएर बांगोटिंगो दाँतको उपचार गरिरहेका व्यक्तिलाई हामी हरेक महिना फलोअपमा बोलाउँछौ। हरेक महिना ब्रेसेस गर्दाको तार र रबर फेर्छौं। एक महिनापछि विस्तारै ब्रेसेस गर्दाको तारको साइज बढाउँदै लान्छौं।
बांगोटिंगो दाँत मिलाउन ६ वर्षको उमेरदेखि नै ब्रेसेस लगाउन सकिन्छ। ६ वर्षको उमेरमै दाँत मिलाउँदा सबै दाँतमा भने ब्रेसेस लगाउनु पर्दैन। समस्या देखिएको दाँत अगाडिको २ वटामा बाँधेर र पछाडिको बंगारा दाँतमा मात्र बाँधेर ब्रेसेस लगाउन सकिन्छ।
धेरैजस्तो पूरै दाँतमा ब्रेसेस लगाउने भनेको १२ वर्षपछि हो। दूधे दाँत झरेर सबै नयाँ दाँत पलाइसकेपछि ब्रेसेस लगाउन सकिन्छ। तर अझै पनि बांगोटिंगो दाँत हुनेहरु १६–१७ वर्षको भएपछि मात्र मिलाउन आउने गर्छन्।
उमेर बढ्दै गएपछि हड्डी कडा हुँदै जान्छ। त्यसैले बांगोटिंगो दाँत जति छिटो ब्रेसेस लगायो उति नै प्रभावकारी हुन्छ।
ब्रेसेस लगाएर दाँत मिलाउने उपचार विधि सामान्यतया २ वा ३ वर्षसम्म गर्नुपर्छ। दाँतमा ब्रेसेस लगाएपछि हल्लाएर सिधा बनाउने हो। यसरी उपचार गर्दा दाँतसँगै गिजा पनि चल्छ र विस्तारै मिल्दै जान्छ। ब्रेसेस लगाएको एक वर्षसम्ममा बांगोटिंगो दाँत सिधा हुन सक्छ। यो क्रममा साना–साना कुराहरुमा ख्याल गर्नुपर्छ।
ब्रेसेस लगाएपछि बांगोटिंगो दाँत सिधा बनाउनेसँगै दाँतको टोकाइ मिलाउने, दाँतको बीचमा ग्यापहरु मिलाउने सबै गर्नुपर्छ। यसरी दाँतमा ब्रेसेस लगाएपछि दाँतको सफाइ केयरमा विशेष ध्यान दिनुपर्छ। सामान्य अवस्थामा पनि बिहान–बेलुका दाँत माझ्दा–माझ्दै पनि दाँतमा खानेकुरा अड्किएर समस्या भइरहेको हुन्छ। ब्रेसेस लगाएको ठाउँमा खानेकुरा अड्किएको हुन्छ। त्यसैले हरेक पटक खाना खाइसकेपछि डेन्टल अर्थो ब्रसले सफा गर्नुपर्छ। मुख कुल्ला गर्नुपर्छ।
ब्रेसेस लगाएको व्यक्तिले दाँतमा टाँसिने खानेकुरा, चकलेट वा चुइगम खानु हुँदैन। एकदमै कडा खानेकुराहरु मासुको हड्डी, सुपारी खानु हुँदैन। अगाडिबाट टोकेर खाने खानेकुराहरु, मासु खाँदा लुछेर खाने पानी सबै बन्द गर्नुपर्छ। किनकी, यस्तो बानीले ब्रेसेस लगाएको दाँतबाट ब्रेसेस निस्किन सक्छ।
ब्रेसेस लगाएर बांगोटिंगो दाँत सिधा बनाउने विधिको उपचार हड्डी खिइने, हड्डी भाँच्चिने समस्या भिटामिन डी वा क्याल्सियम कम भएको व्यक्तिमा भने गर्न मिल्दैन। किनकी, उहाँहरुको हड्डी खिइने तर दाँत बन्ने प्रक्रिया ढिला हुन सक्छ।
२/३ वर्ष ब्रेसेस लगाएर उपचार गरेपछि रिटेन्सनमा जानुपर्छ। हाम्रो शरीरमा भिटामिन, क्याल्सियम बन्ने र नष्ट हुने प्रक्रिया चलिरहन्छ। यो क्रममा दाँत पनि बन्ने/खिइने प्रक्रिया चलिरहेको हुन्छ। ब्रेसेस लगाउँदा पूरै दाँत हल्लाएर पोजिसन दिइसकेको हुन्छ। ब्रेसेस लगाएर उपचार गरिसकेपछि त्यही पोजिसनमा छोडिदिँदा फेरि पछि बांगोटिंगो हुन सक्ने सम्भावना रहन्छ। त्यसैले रिटेन्सन फेस भनेको जस्तो छ, त्यस्तै राख्ने हो। जति वर्ष ब्रेसेस लगाएको छ, त्यति वर्ष नै रिटेनर लगाउनुपर्छ।
ब्रेसेस लगाएको अवधि पूरा भएपछि धेरै जस्तो व्यक्तिले दाँत मिल्यो भनेर रिटेनर नै लगाउनु हुँदैन। त्यस्तो गर्दा गिजा र हड्डी मिलिसकेको हुँदैन र फेरि समस्या हुन सक्छ। त्यसैले रिटेनर लगाउनुपर्छ।
ब्रेसेस लगाउँदा समय–समयमा तारहरु मिलाउन, फेर्न चिकित्सककोमा जानुपर्छ। तर रिटेनर लगाउँदा भने जानु पर्दैन। ६–६ महिनामा मात्र जाँदा हुन्छ। त्यसैले रिटेनर लगाउने फेजमा व्यक्तिले आफैं विशेष ध्यान दिनुपर्छ। ब्रेसेस लगाएर पूरा भएपछि रिटेनर पनि २ वर्ष लगाउनुपर्छ।
बांगोटिंगो दाँतमात्र नभई रिटेनर गिजाको समस्याले गर्दा अगाडिको दाँत उछिट्टिएको र फाटिएको अवस्थामा पनि उपचार गरेपछि रिटेनर लगाएर मिलाउन सकिन्छ।
अर्को, जरा मात्र बाँकी भएको दाँतलाई आरसीटी गरेर भित्रको दाँतलाई अलिकति बाहिर तानेर पनि त्यो दाँतलाई मात्र ब्रेसेस लगाएर मिलाउन सकिन्छ। कुनैकुनै दाँत हड्डी भित्र हुन्छ, त्यसलाई सिधा बनाउन सकिन्छ।
(डा ताम्राकार प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकमा कार्यरत छिन्।)