नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा स्थापित गरेको छ। साथै नेपालले अन्तर्राष्ट्रिय रुपमा दिगो विकासको लक्ष प्राप्त गर्नको लागि अङ्गिकार गरेको “स्वास्थ्यमा सर्बब्यापी पहुँच” सम्बन्धी सिदान्तलाई राष्ट्रिय स्वास्थ्य नीति २०७६ र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०७९/८० - २०८७/८८ ले पनि मार्गदर्शनको रुपमा लिएको छ। यस सिद्धान्त अनुरुप सबै व्यक्तिहरुले सबै प्रकारका गुणस्तरीय स्वास्थ्य सेवाहरु लिनको लागि आर्थिक रुपमा कुनै ब्ययभार नपर्ने किसिमले पाउनुपर्दछ।
त्यसैगरि नेपालमा जनस्वास्थ्य सेवा नियमावली २०७७ ले आधारभूत स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट तोकिएका स्वास्थ्य संस्थाहरुबाट निशुल्क रुपमा प्रदान गरिने उल्लेख गरिएको छ। नेपालको संविधान, ऐन, नियमावली, नीति तथा योजनाहरुमा उल्लेख गरिएका स्वास्थ्य सम्बन्धी यी व्यवस्थाहरु ज्यादै राम्रा छन्। तर माथि उल्लेख गरिएका हक र अधिकारहरु वास्तविक रुपमा कार्यान्वयन हुन सकिरहेको छैन। हुन त यसको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही प्रयासहरु गरिरहेको छ तर यस्ता प्रयासहरु जनताहरुको आवश्यकताको आधारमा ज्यादै न्यून मात्र रहेको छ।
जनताहरुले भोग्नु परेका स्वास्थ्य समस्याहरुमध्ये अस्पतालहरुमा सेवाको लागि लामो समय कुर्नुपर्ने समस्या पनि एउटा हो। यो समस्या बहिरङ्ग सेवा, भर्नाको लागि, शल्यक्रिया गर्न र सेवाको क्रममा विभिन्न जाँचपडताल गर्नको लागि पनि हो। एक जना गाँउबाट आएका व्यक्तिले काठमाडौं वा प्रदेश तहहरुमा भएका ठुला अस्पतालहरुमा सेवा पाउनको लागि हाम्रो हालको संरचना, प्रक्रिया र व्यवस्था अनुसार ठुलो मिहेनत गर्नु पर्दछ। जबकी आफनो मान्छे भएका चिने जानेका र राजनितिक ब्यक्तिहरुको लागि यस्ता सेवाहरु तुरन्तै पाउँछन। साथै पैसा बोकेर निजि असपतालमा गएमा सरकारी अरुपतालमा काम गर्ने चिकित्सकलेनै सकेसम्म चाँडो गरिदिन्छ।
सायद यो अबस्थालाई सुधार गर्नको लागि हालका स्वास्थ्य तथा जनस्ंख्या मन्त्रीद्वारा सरकारी अस्पतालमा बिरामीले समयमै उपचारका लागि पालो नपाएको र शल्यक्रियाको लागि वर्षौ पालो कुर्नुपर्ने लगायतका समस्याहरुको समाधानका लागि एउटा समिति गठन गरिएको छ। हुनत नेपालमा यस्ता स्वास्थ्य समस्याहरुको लागि समिति गठन गर्नु कुनै नौलो होइन र यस्ता समितिहरुले दिने सल्लाह र सुझाबहरुको कार्यान्वयन हुन्छ भन्न पनि गाहे छ। ता पनि नया मंत्रीज्यूको प्रयासको लागि धन्यवाद दिँदै यस बारेमा आफु स्वास्थ्य क्षेत्रमा लामो समयसम्म कार्य गरेको ज्ञान, अनुभवका नाताले म केही सुझावहरु दिन चाहन्छु। यो समस्याको समाधान एउटा मात्र उपायले गर्न सकिन्न र यो समस्या आजभोलिको मात्र नभएर वर्षौ अगाडिदेखि भएकोले समाधान गर्नको लागि धेरै प्रयासको आवश्यकता पर्दछ। यहाँ समस्या समाधानको लागि केही सुझावहरु दिन चाहन्छु।
चिकित्सकले सरकारको नियम अनुसार ठीक समय र अवधि काम गर्ने
यो सुझाव सुन्दा अचम्म लागेता पनि वास्तविकता यही हो। हाम्रा चिकित्सकहरु बिहान विभिन्न आफ्ना केही निजि क्लिनिक वा अस्पतालहरुमा धाएर सरकारी अस्पतालमा प्राय ढिलै आउछन। यो सबैलाई जगजाहेर छ। यत्ति मात्र नभएर अस्पतालमा हाजिर गरि एक दुई जना बिरामी जाँचेर वा सेवा दिएर कति छिटो आफ्नो अर्को निजि क्लिनिक वा अस्पतालमा जान हतार हुन्छ। केहीले त सरकारी अस्पतालमा बस्दाबस्दै निजी क्लिनिकमा भर्ना गरिरहेका आफ्ना बिरामीहरुको लागि सल्लाह सुझाबहरु फोनबाटनै दिन भ्याउछन। यसो गर्नु उहाँहरुको रहर नभएर बाध्यता भएता पनि यो ब्यबहार जनताहरुको लागि राम्रो होइन। त्यसैले सकिन्छ भने चिकित्सक, नर्स र अन्य सेवा प्रदायकहरुले सरकारको नियम अनुसार ठीक समय अबधिको लागि (बिहान १० देखि ५ बजे सम्म) निर्धक्क काम गर्ने वातावरण बनाउन सकेमा पनि धेरै मात्रामा समस्याको समाधान हुन सक्छ।
चिकित्सक र स्वास्थ्य समस्याको तह अनुसार बिरामीको उचार गर्ने व्यवस्थाः नेपालमा कस्ता बिरामीहरु कुन तहका स्वास्थ्य संस्थाहरुमा पहिला जाँच्ने ? कस्तालाई रेफर गर्ने ? केही नियम छैन। यसतो नियम नभएकोले सामान्य बिरामी भएकाहरुले पनि विशेषज्ञ चिकित्सकबाट सेवा लिन प्रयास गर्छन। यसले गर्दा विशेषज्ञ चिकित्सकबाट बिशेष प्रकारका स्वास्थ्य समस्याहरुको समाधानको लागि कम समय पाउँछन। जबकी तल्लो तहमा काम गर्ने स्वास्थ्य कार्यकर्ताहरुले दिनको एक दुई जनालाई सेवा दिएर समय कटाएर बस्छन। यसको लागि अन्य देशहरुमा जस्तै कुनै ब्यक्तिलाई स्वास्थ्य जाँच गर्नको लागि पहिला आफ्नो क्षेत्रमा भएको स्वास्थ्य संस्थाका स्वास्थ्य कार्यकता वा चिकित्सकबाट उपचार गरेर आबस्यकता अनुसार मात्र विशिष्टकृत सेवाको लागि विशेषज्ञ चिकित्सककोमा पे्रषण गर्ने परिपाटीको विकास गर्न सकेमा पनि यो समाधान गर्न मदत पुग्न सक्छ। यसतो नियमले सबै तहका स्वास्थ्य संस्थाहरुले समान काम पाउछन भने जिम्मेवारी पनि बढछ।
टेलिमेडिसिन सेवाको विस्तार
संघ र प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सककोमा अनाबश्यक भिड कम गर्नको लागि आधारभुत अस्पताल र संघ वा प्रादेशिक अस्पतालको बिचमा कुनै प्राविधिक सरसल्लाहको आबश्यकता भएमा विशेषज्ञ चिकित्सकबाट टेलिमेडिसिनको माध्यमबाट सरसल्लाह र सुझाब दिने व्यवस्था मिलाउनु फलदायी हुन्छ। यसले सानो समस्याको लागि पनि संघ र प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सककोमा आउनु पर्ने बाध्यतामा कमी ल्याउन सकिन्छ। साथै यसले आधारभुत अस्पताल वा स्वास्थ्य संस्थाहरुमा काम गर्ने चिकित्सक वा अन्य स्वास्थ्य कार्यकताहरुको ज्ञान र शिपको बृद्धि हुनुको साथै संस्थाहरु प्रति सर्बसाधारणहरुको बिश्वास बढछ।
अस्पतालको औजार उपकरणको उचित व्यवस्थापन
कुनै अस्पतालमा चिकित्सकले सेवा दिन चाहेता पनि औजार उपकरण प्रयाप्त मात्रामा नभएर वा भएको पनि बिग्रिएर सेवा दिनको लागि ढीलाई हुने गरेको प्रशष्त उडाहरणहरु छन। त्यसैले अस्पतालमा आबश्यक औजार उपकरणहरुको व्यवस्था र बिग्रिएमा तुरन्त मरम्मत र बिग्रिन नदिनको लागि समय समयमा प्राबिधिकबाट जाँच गर्ने व्यवस्था गर्न आबश्यक छ।
अस्पताल भित्रको वातावरण सेवाग्राही मैत्री बनाउने
धेरै जसो अस्पतालहरु सेवाग्राही मैत्री छैनन। दर्ता गर्ने ठाँउमा जान र त्यस पछि सेवाको लागि सेवाग्राहीलाई आफूलाई आवश्यकता परेका ठाउमा जानको लागि सुचना, चिन्ह, ठाँउ ठाँउमा सहयोग गर्ने व्यक्ति वा स्वयंसेवकहरु राख्न सकेमा सेवा लिन र दिन सहज हुन्छ। साथै अस्पताल भित्र विभिन्न समान प्रकारका स्वास्थ्य सेवा संग सम्बन्धीत सेवा प्रदान गर्ने इकाईहरु नजिकै र एक आपसमा समन्वय भएमा सेवाग्राहीले चाँडो सेवा पाउन सक्छ र यसले सेवाग्राहीहरुको अस्पतालको बसाई कम भएर भिडको कमी हुन्छ।
आधुनिक संचार र प्रविधिको प्रयोगमा विस्तार
आजभोलि विभिन्न देशहरुमा आधुनिक संचार र प्रविधिको प्रयोगले अस्पाताल र सेवाग्राही बिचको सम्बन्धमा सुचना र सेवा लिन र दिनको लागि धेरै सजिलो भएको छ। आजभोलि अधिकांस ब्यक्तिको हातमा मोबाइल र स्वास्थ्य संस्थाहरुमा कम्प्युरको सुबिधा भएता पनि यस्ता आधुनिक साधनहरुको प्रयोगले सेवाको पहुँच बढाउनको लागि मदत लिन सकिरहेको छैन। आजभोलि पनि अस्पतालहरुमा भौतिक रुपमा लाइन लागेर दर्ता गर्नुपर्ने, रीपोट लिन देखाउनु पर्ने, पैसा तिर्नु पर्ने, मौखिक रुपमा औषधि र स्याहारको बारेमा भन्ने ब्यबहार कायम छ। यस्ता सेवाहरुमा आधुनिक संचार र प्रबिधिको प्रयोग गरेर छिटो र छरिटो बनाउन सकिन्छ।
सरकारी अस्पतालमा काम गर्ने चिकित्सक लगायत अन्य प्राबिधिकहरुलाई निजि क्षेत्रमा काम गर्न बन्देज
यो विषय ज्यादै उपयोगी भएता पनि पेचिलो छ। यस विषयमा धेरै छलफल भएता पनि कार्यान्वयन हुन सकिरहेको छैन। तर आजभोलि धेरै निजि र गैरसरकारी संस्थाहरुमा काम गर्ने सर्तको रुपमा अन्य ठाउमा काम गर्न बन्देज लगाउन सक्छ भने सरकारले किन सक्दैन ?
आवश्यक जनशक्तीको लेखाजोखा गरि सोही अनुसार परिपुर्ती गर्ने
धेरैजसो अस्पतालहरुमा एक दशक भन्दा पनि पहिलाको जनशक्तीको दरबन्दी अनुसार कार्य भैरहेको छ। समस्याको मुल कारण यो पनि हो। अस्पतालहरुको बिरामीको चाप र भौतिक संरचना र कामको आधारमा के कति जनशक्तीको आवश्यकता छ सोको लेखाजोखा गरेर आवश्यकता अनुसार विशेषज्ञ चिकित्सक र अन्य स्वास्थ्य कार्यकर्ताहरुको परिपुर्ति गर्नु महत्वपुर्ण छ। माथि उल्लेख गरिएका समाधानका उपायहरु बाहेक, विशेषज्ञ चिकित्सकलाई आफ्नो विषय बाहेक अन्य प्रशासनिक कार्यमा नलगाउने, बिरामी हुनबाट बचाउन स्वास्थ्य प्रबर्धन र रोकथामका कार्यक्रमहरुको संचालन र चिकित्सकहरुले स्वास्थ्यको जाँच र उपचार गर्दा तथ्य र असल ब्यबहारमा आधारीत प्रोटोकल अनुसार सेवा दिन सकेमा पनि समस्याको समाधान गर्न मदत पुग्ने छ।
(जनस्वास्थ्य विषयमा स्नातकोत्तर दीर्घराज श्रेष्ठ फ्री ल्यान्सर हुन्।)