पिसाब एक्कास रोकिएपछि कति गाह्रो हुन्छ ? त्यो त्यसैलाई मात्र थाहा होला, जसले त्यो दुर्भाग्य अनुभव गर्नुपर्यो । अतीतको मेरो सम्झनामा म सानै थिएँ, बैतडीमा । थिए एक कुप्रो परेका झण्डै धनुषजस्तै, दुब्ला, वृद्ध, आँगनमा बसेर हुक्का गड्गडाउँदै निकै खोक्ने । एउटै गाउँमा त्यसमा पनि मेरो बाजे पर्ने व्यक्ति । एकदिन एक्कासी उनी पिसाब फेर्न नसक्ने भए । सधैँ हुक्का गड्गडाउने बाजे त्यो दिन भुइँमा लडीबडी गर्दै थिए । मानौं सानो बच्चा मन नपरेको कुरा गर्नु पर्दा प्रतिवाद जनाउँदै । म ठिङ्ग उभिएर अलि त्रसित मुद्रामा हेरिरहें।
एकैछिन्मा त्यहाँ २–३ जना पुरुष आए । ती पनि मजस्तै हेर्न लागे र के के कुरा गर्न लागे । मेरो पूर्ण ध्यान लडीबडी गरेर ऐया आत्थु गरिरहेको वृद्धमै थियो तर फाट्टफुट्ट कानले अशुभ समाचार नचाहदा नचाहदै पनि श्रवण गर्दैथिए । ‘‘अब बूढा मरी जाने हुन्, जाने भए अब । बाटो लाग्या....’’ कडा नमिठा लाग्ने तर यथार्थ गर्भमा राखेका शब्दसम्म पनि स्मृतिमा रन्थनिदैछन् । नभन्दै तीन दिनपछि ती बिते । त्यहाँ पुग्दा खालि सेता लुगा लगाएका, कपाल खौरेका व्यक्तिहरू मात्र देखा पर्थे आँगनमा.... । धेरैपछि मात्र मलाई थाहा भयो एक्कासी पिसाब रोकिएर बिते । त्यो बेला कहीँकतै चिकित्सक तथा कम्पाउण्डर थिएनन्, मूत्रनलीमा पाइप घुसाएर पिसाब सञ्चालन गर्न । गाउँमा धामी थिए, जो प्रायः मानसिक रोगी र झाँको आउने रोग (मृगी–छारे रोग) भएका बिरामीलाई आगोको धुनी बालेर वरीपरी दर्शक थुपार्दै आहतलाई हायलकायल गर्थे । त्यसपछि कतिका पिडौला पोलेको घाउ महिनौं निको नभएको म आफैंले देखेको थिएँ ।
जनकपुरमा शल्यकक्षको सरसफाइ र विसङक्रमण कार्य पूरा भइसकेको थियो । एक्कासी साँझ ६ बजेतिर एकहुल मानिस खटियामा बोकेर वृद्ध व्यक्तिलाई अस्पतालभित्र ल्याए । आपत्कालीन कक्ष नजिकै ती पुग्दा मलाई बोलाए । दुई दिनदेखि पिसाब नभएर बिरामी छट्पटाइरहेको । खुट्टा उसका सुन्निएका । दुब्लो मान्छेको पेटको तल्लोभाग पुट्ट फुलेको टाढैबाट देखिन्थ्यो । त्यसबेला ट्रोकारले मूत्रथैलीमा नली राख्न कुनै सामग्री थिएन । मूत्रनलीबाट राख्ने नलीमा व्यालुन हुँदैनथ्यो । त्यसैले नखसोस् भन्न जति राम्ररी बाँध्दा पनि दुईचार दिनमै झर्ने सम्भावना उच्च । त्यसैले पेटको तल्लो भागमा नदुःख्ने औषधि दिएर चिरेर मूत्र थैलीमा पेचर भन्ने मोटो रातो रबडको पाइप राखेर वृद्ध व्यक्तिको ज्यान बचायौं । नलीभित्र राख्नुअगाडि थैलीमा कतै पत्थरी छ कि भनी औँलाले जाँच्दा मूत्रथैलीभित्र घुसेको प्रोष्टेट ग्रन्थीको ठूलो भाग मैले स्पर्श गरें।
पत्थरी थिएन । एक हप्तापछि नली लगाएरै घर पठाउन खोज्दा ऊ ज्यादै व्याकुल भयो । ऊ मलाई देख्दै बेखुस हुने गर्थ्यो। अधमरो पारेर किन बचाएको ? उसको मलाई ठाडो प्रश्न तथा जबरजस्त अभियोग थियो। ऊ यति नाखुस थियो कि पाए भने सोझै हमला गर्लाजस्तो । एक हप्तामा ऊ निकै फूर्तिलो र धेरै जोडले बोल्न सक्ने भइसक्यो । मेरा बाध्यता कसरी बुझाउने ? अप्रेसन सामान्य होइन । ज्यादै रक्तस्राव हुनसक्ने मध्येको एउटा । जबकि अस्पतालमा न हेमोग्लोविन नै हेर्न सकिन्छ, न रक्तसमूह । प¥यो भने कताबाट रगत दिने ? अलिकता तलमाथि भए आँखाअगाडि बिरामी बोल्दाबोल्दै बर्बराएर अचेत भई लाशमा परिणत हुनसक्छ तर पनि बिरामी र उसका मान्छे बुझ्न खोज्दैनन् । केही हुँदैन अप्रेसन गरिदेऊ, जे हुन्छ हुन्छ मात्रै भन्छन् । बिरामी र उसका मान्छेको हठपूर्वक अडान र आग्रह सुनेपछि मेरो मस्तिष्कमा घनलेभन्दा जोडले हानेकोजस्तो महसुस भयो।
मैले आफैंले आफूलाई काँतर भनें। डरपोक र डरछेरुवाको शब्द दिदै सम्झाएँ – के मेरो बसाइमा यो जनकपुर अञ्चल अस्पतालमा सबै सुविधा भएर म प्रोष्टेटको शल्यक्रिया गर्न सकुँला भन्ने विश्वास गर्छु ? यो असम्भव छ । कित हर्निया गरेर आफूलाई सर्जन भनेर फिजिसियनजस्तै बिरामी हेर्दै औषधि लेख्नु पर्यो । होइन भने चुनौती सामना गर्दै यस्तै अवस्थामा मर्न तयार बिरामीलाई बँचाएर देखाउन सक्नु प¥यो । मनमा कत्रो द्वन्द्व? महाभारतको कुरुक्षेत्रको लडाइँभन्दा कति हो कति ठूलो । त्यो रातभर म सुत्न सकिन । एउटा कोल्टेबाट अर्काे तकिया मिलाउँदै हैरान।
आँखामा एकथोपा निद आउन सकेन । रातको दुई बज्यो, अहँ तीन पनि बज्यो केही फरक छैन । रुसी भाषामा उल्था हङ्गेरियन सर्जनको सर्जरीको किताब र सोभियत सर्जनकै सर्जरी दुवै ठेली लिएर सुत्ने कोठाबाट बैठक भनाउँदोमा टर्चलाइट बालेर निस्कँे । लाल्टिन बालँे । सानो छँदा बत्ती बाल्दा प्रकाशलाई चढाउने नमस्कार केही उठाइन । खुरुक्क दुबै ठेलीमा प्रोष्टेट सर्जरीको अध्ययन गर्न थालँे । दुवैले रगतको जोहो गर्न भन्छन् । कम्तिमा दुई पोका रगत भएपछि अप्रेसन राख्न भन्छन् । छैन यहाँ हेमोग्लोविन र रक्त समूहको ठेगाना । किताब दुवै बन्द गरँे । दुवै किताबले पनि बिरामीलेजस्तै मलाई गालामा चट्कन दिएर अपमान गर्न खोजेको मुटुले अनुभव ग¥यो । कताबाट यस्तो लिसो जुका बिरामी आइपुग्यो भित्री मनमा आफैंले पनि नसुन्ने गरीकन बिस्तारै सोचेँ अनि एक्कासी घडी हेरँे चार बजे छ । अब त एकछिन्मा बिहान सबेरै उठ्ने मानिस खोक्ने र पानी तान्ने ट्युबेल–कल चलाउने बेला हुन थालिसक्यो । म सुत्न होइन आँखा झिम्म पनि गर्न सकिरहेको छैन । म आफैंदेखि आफू क्रुद्ध छु । सुत्न नसकेकोमा होइन निर्णय लिन नसकेकोमा । अविकसित देशको चुनौती लिन नसकेकोमा । अभावको मर्म बुझ्न नसकेकोमा । दुइटा नाउँमा एकैपल्ट एकएक खुट्टा राखेर अलग अलगतिर पौडिन खोजेकोमा।
मलाई यो अभावमा र शून्य विकासको अवस्थामा पनि रक्त समूह र रगतका दुई पोका तयार गरेर मात्र शल्यक्रिया गर्न खोजेकोमा । बन्द गरिएका दुवै पुस्तकका ठेली नै मेरा सर्जिकल विकासक्रम प्रगतिका बाधक हुन् भन्ने लाग्यो । तिमीहरू सयप्रतिशत ठीक छौ तर आफ्नै विकासको खुट्किलोमा । म त तल खाली भ¥याङ्–विकासको भ¥याङ् हेरी उभिरहेको छु । कसरी तिमीहरूकै मापदण्ड अनुसार काम गर्न सक्छु ? अब म प्रत्येक बिरामीका निम्ति आफ्नै मापदण्ड बनाई अगाडि बढ्छु । म दुई खुट्टा एउटै नाउँमा राख्छु र त्यसैलाई अगाडि बढाउने प्रयत्न गर्छु । निर्णय लिएँ–पाँच बजे तर पनि म चङ्गा थिएँ । मानाँै गहिरो निद्रा आठघण्टा सुतेर अर्काे दिन अस्पताल सामान्यभन्दा आधाघण्टा अगाडि नै पुगें। सोझै प्रोष्टेटकै बिरामीकहाँ एकैपल्ट उसका मान्छेहरू पनि बोलाएँ अनि भने म फेरि दोहोर्याउँछु।
शल्यक्रिया ज्यादै जटिल छ । यो ठाउँमा पहिलोपल्ट गर्नुपर्ने, नभई नहुने रगत इत्यादि केही छैन तर पनि तपाईहरू सम्पूर्ण जोखिम मोल्दै अप्रेसन गर भन्नुहुन्छ भने म तयार छु । दुई दिनपछि तपाईको शल्यक्रिया हुन्छ तर त्यसको परिणाम के हुन्छ, म भन्नै सक्दिन । प्रयत्न गर्ने हो फलको ठेगान छैन । राम्रो हुने र जीवनै नरहने सम्भावना उतिउति नै छ । तपाईंहरू सर्वप्रथम बिरामी सहमत भए अति जोखिम अप्रेसनको स्वीकृति लेखेर दिनुहोस् । हामी सबै तयारी नै शुरु गर्छाैं । फेरि दोहो¥याउँछु यो शल्यक्रियामा रक्तस्राव हुने सम्भावना ज्यादै उच्च हुन्छ । यति भन्दा मानौँ उनीहरू सबैले पनि रातभरि नसुती निर्णय गरेका थिए । अप्रेसन सबै जोखिम मोलेरै गराउने । लिखित र मुखले स्वीकृति दिए । हाम्रो टिमको तर्फबाट तयारी युद्धस्तरमा चल्यो । सबै जोशिए डर, त्रास तर नयाँ अनुभव बटुल्ने आशा राख्दै । दिनको चारपाँचपल्ट हामीले आपसी भेटघाट ग¥यौँ । थपटेट्रा, रिबन, गजका फित्ताहरू, दशदशवटा तयार पा¥यौं । सबै आवश्यक औजार जो मैले सोभियत सङ्घबाटै ल्याएको थिएँ सबै शल्यकक्ष पुर्याएँ।
एकएक औजार सबैलाई परिचित पारें। अब खालि बाँकी थियो स्पाइनल अनेस्थेसिया आफैं दिन हिम्मत गर्ने । इएमओबाट इथर दिएर वृद्धको अप्रेसन गर्न म आफूलाई सुरक्षित ठान्दिनथें। ह्याभी जाइलोकेन स्पाइनल औषधि पसलेसँग माग गरेँ । अर्काे दिनको निम्ति औषधि पसलेहरूले ल्याइपु¥याए । एलपी पञ्चरको मसँग ठूलो अनुभव थियो । त्यसलाई म अब पर्दा नाइटोमुनि गरिने सबै शल्यक्रियामा प्रयोग गर्न चाहन्थँे । मैले गर्नु पर्ने कार्य हात धुनेदेखि शल्यक्रियाको पछिल्लोपट्टि लगाउनेसम्म ठूलो एक पाना कागजमा सिल्सिलेवार टिपोट गरँे । अनि प्रत्येकपल्ट शुरुदेखि अन्तैसम्म दोहोर्यायाएँ। त्यस्तै गरिकन डा. सिंह एकजना मेडिकल अफिसर र दुईजना परिचारिकालाई कसले के रोल खेल्नु पर्ने हो सबै बसेर देखाए।
अर्काे दिन फेरि सबैले आफ्नो अभिनय गरेर, भनेर, देखाएर प्रदर्शन गरँे । म बढी उत्तेजित र चिन्तित थिएँ तर अरु पनि सबै त्यस्तै भएको पाएँ । मुख्य मेरो अनुरोध थियो सबैलाई रक्तस्राव देख्दा कोही पनि नडराउनुस् र विभिन्न कमेन्ट नगर्नु होला किनकि बिरामी अचेत अवस्थामा छैन । म ऊसँग कुरा गरी गरी शल्यक्रिया गर्न चाहन्थेँ । म आफू चिन्तित उत्तेजित जे भए पनि अरु टिमसदस्यलाई आफू पूर्ण दृढ र आश्वस्त छु भनेजस्तो गरी अरुको अगाडि प्रस्तुत हुन्थेँ, अभिनय गर्थेँ । अप्रेसनको समयमा बढी रक्तस्राव भयो र कोही टिममेम्बर मूर्छा परे कसरी त्यसको भरपूर्ति गर्ने ? मैले अलग्गै थप फ्लोर नर्स पनि व्यवस्था गरेँ । यो बारे कसैलाई थाहा थिएन । छिटो तर छोटा तरिकाले स्क्रब गरेर गाउन लगाउँदै उनीहरू टिममा समावेश हुनुपर्ने थियो।
टीम पूर्ण रूपले तयार भइसकेको थियो । पछिल्लोपल्ट बिरामी र उसका नातेदारलाई सोधँे तपाईंहरूले दिएको कन्सेन्टमा कुनै संशोधन छ कि ? उच्च जोखिम मोल्ने भनेको तपाईहरूले सबै कुरा राम्ररी बुझेरै कसैको करकापमा नपरीकनै हो ? बिरामीको तर्फबाट पुरानो कन्सेन्टमा कुनै फेरबदल छैन भन्ने यकिन भयो । एकपल्ट फेरि बिरामीको पूर्ण शरीरको जाँच दोहो¥याउन उपयुक्त होला भन्ने लाग्यो । मलद्वार भएर गरिने प्रोष्टेट जाँच दोहो¥याएँ । सर्वप्रथम मलद्वारको ढोका राम्रोसँग खुम्चने हुन्छ । मलद्वारमा औँला हुँदा लिङ्गको टाउको हलुका थिच्दा मलद्वारमा मांशपेशीले औँंलालाई ट्याप्प समात्दछ । यो जाँचले मलाई अप्रेसनपछि लामो समय मूत्रथैली काम नगर्ला भन्ने शङ्काबाट धेरै मात्रामा मुक्त पा¥यो । दोस्रो कुरो मलद्वार र मोटो आन्द्राको तल्लो भागमा अर्बुद छैन भनी ढुक्क भएँ । अप्रेसनको समयमा घाउ पार्नु पर्ने ठाउँ र वरिपरि कहीँ घाउ खटिरा थिएनन्।
अप्रेसनको अघिल्लोदिन बिरामीलाई नुहाउन लगाएँ । बेलुका १० बजेपछि पानी पनि नखान सल्लाह दिएँ । बिहान ८.३० मा बिरामी शल्यकक्षमा पुर्याइयो । सफा गाउन लगाएर मैले उसको पिठ्युँ, पेटको तल्लो भाग र जनेन्द्रिय अङ्ग राम्रोसँग दुईपल्ट साबनपानीले सफा गरेर त्यो हाम्रो टिमका सदस्य सबैलाई अब सधैँ यसो गर्न सुझाएँ । बिरामीलाई स्पाइनल इञ्जेक्सन दिन बसाएर हात धुन र पञ्जा लगाउन गएँ । पिठ्युँ मुख्यतः ढाड आयोडिनले दुईपल्ट सफा गरँे । स्पिरिटले पुछेपछि बिचमा प्वाल भएको कपडाले पिठ्युँ ढाकेँ । बिरामीको घाँटी मोडेर टाउको निहुराउन र चिउँडोले छातीको अगाडिको भाग छुन भनें।
प्रणाम चिह्न पुट्ठाको हाडनिर रहने शिखरहरू जोड्दै धर्साे तानें र त्यसको मध्यभागमा चौथो पाँचौ मेरुदण्डको बिचमा हुने अस्थिखण्ड (भर्टिव्रा)को खाल्टो चोरऔँलाको टुप्पोले अनुभूति गरें । तीन मिलिलिटर एक प्रतिशत जाइलोकेनले त्यसलाई अचेत पारँे । १८ गजको स्पाइनल निडिल भित्र घुसाएँ । पहिलोपल्ट निडिल हड्डीमा ठोकियो।
बिस्तार बाहिर तान्दै फेरि अलि छेउबाट भित्र घुसाएँ । सुस्त बिना कुनै अवरोध त्यो भित्र छि¥यो र पहेंलो पर्दा, लिगमन्ट ठोकिँदा अनि छिर्दा एक प्रकारको हलुका अवरोध अनुभव भएको थियो । निडिलको स्टिलेट निकालेर एकैछिन् पर्खदा बिस्तारै भित्रबाट मेरुदण्डको सफा तरल पदार्थ आयो।
सियो बिल्कुलै नहल्लाई ३ मिलिलिटर गरुङ्गो लिडोकेनभित्र पठाएँ । सियो स्टाइलेटले बन्द गरेर निकालेँ र त्यो ठाउँमा आयोडिनले पुछ्दै पट्टी टाँसे । तुरुन्त बिरामीलाई सिधा बनाएर सुताएँ । मसिना–पातला तकिया टाउको मुनि राख्दै।
बिरामी खुट्टा तातो भयो, झम्झमायो भन्न थाल्यो । म खुशी भएँ । एकछिन्मा उसलाई दाहिने खुट्टाको बूढीऔँला चलाउन भनँे सकेन । उसले खुट्टा हलुका उठाउन भनँे डेगै चलाउन सकेन । मेरो खुशीको सीमा रहेन । म स्रव गर्न गएँ अनि एकै छिन्मा गावन र पञ्जा लगाएर आएँ । दाहिनेतर्फ बिरामीको उभिएर पेन्ट गर्न खोज्दैथिएँ, परिचारिकाले सुनाइहालिन् ‘‘प्रोष्टेट अप्रेसन गर्दा देब्रे उभिन्छु भनेको होइन ? मैले भनेँ ‘धन्यवाद तपाई पास म फेल । म बाँयातिर उभिन्छु।’
वास्तवमा म पहिलोपल्ट सबै आफैं गर्न र बिचबिचमा अगाडि भनेका कुरा छड्के जाँचबुझ गर्दै पक्का गर्न र दोहो¥याउन चाहन्थेँ। नदुख्ने औषधिले प्रायः डेढघण्टा काम गर्ने भएकाले धेरै लम्बाउनु पनि मलाई थिएन । डेढघण्टामा कुनै पनि हालतमा अप्रेसन समाप्त गरेर विरामीलाई सारी सक्ने मेरो लक्ष्य थियो।
झट्ट सम्झँे स्पाइनल अगाडि दुई बोतल रिनगर्स ल्याकटेट दिएकी दिएनन् ? यो भयो भन्दै डा. सिंहलाई परिचारिकाले सपोर्ट गरिन् । स्पाइनलले रक्तचाप तथा मुटुचाल कम गर्ने हुँदा म यसबारे यकिन हुन चाहन्थेँ ।..... म यो लेखिरहदा सम्झन्छु कति सुन्दर मेरो उमेर र स्मृित थियो त्यसबेला । अहिलेको समय भए त सायद कुनै कुरो म चेक गर्न वा भन्न पनि बिर्सन्थे होला । त्यो बेला नै त्यस्तो थियो । एकैपल्ट धेरै कार्य गर्न सकिने छिटो एउटा कार्यबाट अर्काेमा उफ्रिँदा अल्मल भन्ने हुँदै नहुने।
कस्तो रमाइलो त्यो उमेर । टाउकोतिर एक नर्सले रक्तचाप, मुटुको धड्कनको सङ्ख्या, त्यसको एकनासले पूर्ण निगरानी गरिरहेकी थिइन् । उनी प्रत्येकपल्ट हामीलाई त्यसबेलाको रिपोर्ट पनि दिँदै थिइन् । त्यसको अलावा मैले सोचे भन्दा राम्रो अति उत्तम तरिकाले बिरामीलाई परामर्श गर्दै, उसको घरपरिवार, काम, मन पराउने खाना, बच्चाको सङ्ख्या, बढी मनपरेको बच्चा, बढी मन पर्नाको कारण, किन र कसो सबै सोध्न भ्याउँदै थिइन् । बिरामी उनीसँग गफिएर अरु कोही पनि छैन भनेजस्तो सवाल जवाफमा मख्ख थियो ।
बिचबिचमा कति दुःख्दैछ ? पनि उनी प्रश्न गर्दै थिइन् । थाहै छैन चालै पाइँनभन्दा उनी बिरामीलाई ‘‘कस्तो बहादुर’’ भन्दै तारिफ गर्दै ढाडस पनि थप्दै थिइन् । शल्यटोली के कम हुनु । म उभिनु अगाडि नै डा.सिंहले अप्रेसन गर्ने ठाउँ पूर्ण तयार पारेर दाँत भएको फोरसेफले निमोठेर दुःखेको छैन भन्ने यकिन गरिसक्नु भएको थियो । मैले उभिनासाथ फेरि एकपल्ट आयोडिनले अप्रेसनक्षेत्र पुछें।
नाइटोको केही तलदेखि पुरानो अप्रेसनको घाउहुँदै सिम्फसिस पुट्ठाको हाड जोड्ने ठाउँसम्मै चिरेँ । पुरानो घाउको वरिपरिको एउटा सानो घेरा काटेर फालेँ । दुब्लो बिरामी – बोसोले व्याकुल पार्ने कुरै थिएन । एकैछिन्मा म मूत्रथैली ठ्याक्कै अगाडि भएँ । आमने–सामने पहिले गरिएको शल्यक्रियाको पुरानो प्वालबाट चोर औँला मूत्रथैलीभित्र हालेँ । मूत्रासयको माथिको भाग कति टाढा छ यकिन गरें अनि बिना कुनै सङ्कोच कैचीले घाउ माथितिर ३ सेन्टिमिटर जति बढाएँ त्यस्तै गरिकन घाउलाई मूत्रथैलीको घाँटीतिर पनि लम्ब्याएँ । मानौं हामी सबै शल्यटोलीलाई भेट्न आतुर छ प्रोष्टेट ऊ देखिई हाल्यो । अब दृश्यको केन्द्र नै प्रोष्टेटमात्र सबैका निम्ति भयो । आफूले स्पर्श गरेपछि पालैसँग टोलीसदस्य
सबैलाई औँलाले छुन लगाएँ।
सबै मख्खपरी मुस्कुराए । त्यो थियो प्रोष्टेटको मध्यग्रन्थी मूत्रथैलीभित्र घुसेको पिसाब रोक्ने दोषी बल गर्दा बिर्काेझैंँ मूत्रथैलीको घाँटी बन्द गर्ने । देब्रे हातमा माथिबाट अर्काे पञ्जा लगाएँ । औंलालाई तरल पाराफिन...त्यो बेला जाइलोकेन जेली उपलब्ध थिएन)ले चिप्लो पारेर बिरामीको मलद्वारभित्र छिराएँ । दाहिने हातको चोरऔँला मूत्रथैली हुँदै मूत्रनलीको प्रोष्टेट भाग भित्र पुर्याएँ । मलद्वारमा छिराएको औंला र माथिबाट हालेको औँलाको संयुक्त प्रयासमा दुई मिनेटमै प्रोष्टेट ग्रन्थीको बढेको भाग अकेन्द्रक–इन्युक्लिएट गर्न भ्याएँ र बाहिर किड्नी ट्रेमा राखेँ।
यही थियो रक्तस्रावले अत्याउने बेला । पहिलेकै प्लान अनुसार भिजाएको टेट्रा मलाई परिचारिकाले मेडिकल अफिसर हुँदै दिइन् माग्नु अगाडि नै । मैले टेट्राले प्रोष्टेटको खाल्टो खदिलोसँग भरें र मुठीले नै थिचेर स्थिरसँग उभिएँ । पाँच मिनेट आराम र शान्त भएर कुरा गर्ने, निकालेको प्रोष्टेट सबै छ, कि भित्र केही बाँकी छ भनेर सोच्ने अुनसन्धान गर्ने बेला ? प्रोष्टेटका तीनवटै भाग थिए बाहिर । परिचारिका दुईटा रिबनगज तयार पारेर पर्खिरहेकी थिइन् । कति राम्रो समन्वय । मेडिकल अफिसर रातो रबडको क्याथेटर लिएर तयार–मेरो अनुहार चहार्दै थिए । कुनबेला माग्छ भनी।
जनकपुर अझै त्यो फोलीक्याथेटरबाट अनभिज्ञ थियो । युरोलोजिस्टलाई त्यति धेरै गुन लगाउने दुई र तीनमुखे फोलीक्याथेटर प्रयोग गर्न मलाई अझै धेरै वर्ष कुर्नै पर्ने थियो । छिटो रबडको नली मूत्रनलीबाट पठाएर एक्कासी टेट्रा निकालेँ । माननौं रक्तस्रावै छैन । सोधें. रक्तचाप कति छ ? त्यो ११०-७५ थियो । उत्तम–म ढुक्क भएँ र रिबन गजले प्रोष्टेटको खाल्टो नलीको वरिपरि खदिलोसँग भरेँ । रिबन गजको पुच्छर बाहिर निकालें। एकछिन फेरि पर्खें, स्राव थिएन । एउटा ज्यादै मोटो झुप्पो टुप्पोमा भएको रातो रबडको नली मूत्रथैलीभित्र राखेर त्यसको र रिवनगजको वरिपरि मूत्रथैली पुरै सिलाइ दिएँ, दुई तह गरेर।
यस्तै गरिकन चर्मसम्मै घाउ सिलाएँ । मूत्रनलीबाट राखिएको क्याथेटरबाट नर्मल सिलिनले दुईपल्ट मूत्रथैली सफा गरें । खासै रक्तस्राव लागेन । छालाको घाउ सिलाउँदै बाहिर निकालिएका नली र रिबनगजलाई राम्रोसँग सिलाउदै छालासँग अड्याएँ । अग्रचर्मसँग सिलाएर रातो रबडको क्याथेटर पनि नखस्ने बनाएँ । बिरामीको रक्तचाप र मुटुको चाल सबै ठीक थियो । बिरामीलाई उसकै खाटमा सार्यौं । ....... सबैसँगै बसेर एकएक कप चिया र बिस्कुटले पेट शान्त पार्यौं–खुशी मनायौं । निकालेको प्रोष्टेट तन्तु जाँचलाई पठाउने प्रश्नै थिएन । खार्कोभ इन्स्टिच्युट मैले सम्झेँ जहाँ सानोभन्दा सानो निकालिएको तन्तुटुक्रा पनि जाँचलाई पठाउनै पथ्र्यो।
बीस दिनपछि आफैंले प्राकृतिक रूपमा पिसाब फेर्ने भएपछि बिरामी घर गयो । ऊ ज्यादै खुशी थियो तर त्योभन्दा बढी हाम्रो शल्यटोली थियो खुशी । अब नयाँ चरणमा जनकपुर अञ्चल अस्पतालमा शल्यक्रियाको शुरुवात भइसकेको थियो।