स्वास्थ्य मानव जीवनको लागि नभई नहुने विषय हो, जतिसुकै धनधान्य एवं सम्पन्नता भए पनि यदि स्वास्थ्य भएन भने सबै मुल्यहीन हुने गर्दछ। तसर्थ स्वस्थ हुनु नै मानव जातिको मूल लक्ष्य हुन्छ। स्वास्थ्य भन्दा वहुमुल्य केहि पनि छैन भन्ने सोचमा सत्यता रहेको देखिन्छ।
प्राचिनकाल देखि नै हाम्रा ऋषिमुनिहरुले समेत स्वास्थ्यलाई महत्व दिनुहुन्थ्यो जति आज छ। रोगि शरीरले खर्च सिर्जना गर्छ जसको कारणले स्वास्थ्य संस्थाका सेवा सुविधा सबैको पहुँचमा हुँदैन। स्वास्थ्य सुविधा सबैको पहुँचमा ल्याउनको लागि ‘’तपाईंको स्वास्थ्य, हाम्रो अठोट’’ भन्ने नाराका साथ् २०७२ साल देखि स्वास्थ्य बीमा कार्यक्रम राज्यद्वारा ल्याइएको कार्यक्रम हो। हाल स्वास्थ्य बीमा कार्यक्रम ७७ जिल्लाको ७५३ स्थानीय तहसम्म यहि चालु आर्थिक वर्षमा पुगेको छ। करिब ८ वर्ष भन्दा बढी समय पश्चात हरेक स्थानीय तहसम्म यो कार्यक्रम पुगेकोले अब यस कार्यक्रमले नयाँ खुड्किलो पार गर्ने आशा गर्नु स्वाभाविक हो। सरकारद्वारा संचालित कार्यक्रममध्ये स्वास्थ्य बीमा कार्यक्रम एक यस्तो कार्यक्रम जन्ता माझ स्थापित भएको छ जसको कारणले लाखो जन्ता देशको बिभिन्न सरकारी,गैरसरकारी वा सामुदाईक स्वास्थ्य संस्थामा दैनिक सेवा सुबिधा प्रत्यक्ष लिने गरेको देखिन्छ।
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत भएको सेवा सुबिधा पर्याप्त नभएको कतिपय नागरिकको सल्लाहको रुपमा सुनिन्छ। खासमा यस कार्यक्रमको योगदान रकम कमसेकम एक परिवार वाराबर १०,००० (दश हजार रुपैयाँ ) एवं पाँच लाखको सेवा सुबिधा हुनुको साथ् साथै प्रथम सेवा बिन्दु एक वटा स्वास्थ्य संस्थाको सट्टा तेही स्तरको पाँचवटा स्वास्थ्य संस्था प्रथम सेवा बिन्दुको रुपमा सेवा लिन सक्ने गरि सरकारले कानुन परिमार्जन गरेमा यस कार्यक्रमले अझै तिब्र गतिको रुपमा अभिबृद्धि हुन् सक्ने अनुमान गर्न सकिन्छ। नियमित नविकरण नगराएमा बिगतमा लिएको सेवा सुबिधाको कुल रकमको कमसेकम दश प्रतिशत रकम जरिमानाको रुपमा समेत व्यवस्था भएमा फरक नपर्ला।
जुन देशका नागरिक समृद्ध हुन्छन त्यही देशको अवस्था र व्यवस्था स्थायीरुपमा राम्रो हुन्छ तसर्थ नागरिकलाई स्वास्थ्य क्षेत्रमा अप्रत्याशित रुपले हुने अकस्मात खर्चलाई न्यून गर्ने एक बलियो माध्यम स्वास्थ्य बीमा रहेको देखिन्छ। स्वास्थ्य बीमालाई अनिवार्य गरि स्वास्थ्य क्षेत्रमा रहेको दोहोरो सुबिधालाई छानेर सम्भवतः राज्यद्वारा उपलब्ध गराइएको हरेक सुबिधा एवं सहुलियतमा एकद्वार प्रणाली लागू गरि स्वास्थ्य बीमामा आबद्ध गरेमा नागरिकले सहजै सुबिधा पाउने थिए। सरकारी, निजि, तथा अन्य सबै स्वास्थ्य संस्था स्वास्थ्य बीमामा अनिवार्य आबद्ध गर्ने गरि प्रावधान राखेमा नागरिकलाई आफू सोचेको वा इच्छाएको स्वास्थ्य संस्थामा उपचार गराउन सहज हुने थियो। स्वास्थ्य बीमाको मूलमन्त्र नै गुणस्तरीय सेवा सुबिधा हो, जति सहज एवं गुणस्तरीय स्वास्थ्य संस्थामा सेवा सुबिधा उपलब्ध हुन्छ त्यती नै रुपमा नागरिक स्वास्थ्य बीमामा आबद्ध हुन् तत्परता देखाउने छन्। तसर्थ स्वास्थ्य संस्थाको अनुगमन, मुल्यांकन, मापदण्ड नियमनमा सरकारले कडाईका साथ् लागू गरि, नागरिकको हक हितको लागि एकजुट भई अगाडि बढ्नुपर्ने हुन्छ। स्वास्थ्य बीमा नागरिकको आवश्यकताको रुपमा स्थापित गर्नु राज्यको प्रमुख दायीत्व हो।
नेपालको सन्दर्भमा स्वास्थ्य बीमाले गर्दा बिगत आधा दशकमा गरिब, बन्चित, उत्पीडित आदिवाशी, जनजाती, अल्पसंख्यक एवं मध्यमवर्गीय समाजको पहुँचमा ठूला ठूला अस्पतालहरु आएको छन्। स्वास्थ्य बीमाले गर्दा नै वर्तमानमा सरकारी अस्पतालहरु नवजीवन पाएका छन्। बिगतको तथ्यांक हेर्ने हो भने सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाले गर्दा करिब दुई शय प्रतिशतले सेवाग्राहीको संख्या बढेको छ। तसर्थ नागरिकको साथ साथै सरकारी संयन्त्रको लागि नै स्वास्थ्य बीमा वरदान भएर आएको छ। यस कार्यक्रमको लागि सबै मिलि निस्वार्थ ढंगले आ-आफ्नो स्थान वाट योगदान गरिनु आजको आवश्यकता रहेको देखिन्छ।
(तिवारी स्वास्थ्य बीमा बोर्ड कपिलवस्तुका जिल्ला संयोजक हुन्।)