काठमाडौं - चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) ले रोबोटिक सर्जरी सेवा सुरु गरेको छ।
अस्पतालले आज पत्रकार सम्मेलन गरी रोबोटिक सर्जरी प्रविधिबाट भदौदेखि हालसम्म १४ जनाको शल्यक्रिया गरिसकेको जनाएको छ। रोबोटिक तथा न्यूरो सर्जन डा प्रतीकमान सिंह गुरुङ, जि.आई सर्जकहरु डा विशाल आचार्य र डा रोहित कुमार मिश्रको नेतृत्वमा उक्त सेवा सुरु भएको हो। ३२ करोड रुपैयाँ लागतमा यो सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।
रोबोटिक सर्जरीमा चिकित्सकले प्रत्यक्ष रुपमा हातले नभई कम्प्युटरद्धारा नियन्त्रण हुने रोबोटिक हातहरुको माध्यमबाट शल्यक्रिया गरिन्छ। यी सर्जरीमा चिकित्सकले कम्प्युटरको सहायताले उपकरणको गति र दिशा नियन्त्रण गरेर शल्यक्रिया गर्ने अस्पतालले जनाएको छ।

रोबोटिक सर्जरीमा बिरामीहरुलाई कम पीडा हुने, कम रक्तस्राव, अस्पतालको लम्बाइ छोटिने र छिटो निको हुने जस्ता फाइदा रहेको अस्पतालले जनाएको छ। विशेषगरी युरोलोजी, गाइनकोलोजी, कार्डियोथोरासिक र क्यान्सर रोगको सर्जरीमा यसको प्रयोग बढ्दो रहेको अस्पतालले जनाएको छ।
अस्पतालले कार्तिक २९ गते रोबोटिक सर्जरीको विषयमा सम्मेलनको आयोजना समेत गरेको छ। उक्त सम्मेलनमा नेपालभरीका २ सय जनाको सहभागिता रहने जनाइएको छ। यो रोबोटिक सर्जरी नेपालमा दोस्रो र उपत्यका बाहिर पहिलो पटक आफुहरुले सुरु गरेको अस्पतालको दाबी छ।