काठमाडौं - रामेछापको उमाकुण्ड गाउँपालिकामा भाइरल फ्लु फैलिएको छ। कार्तिक १६ गतेदेखि फैलिएको फ्लुका कारण ७ सयबढी बालबालिका बिरामी परेका छन्।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अभिजित सुनुवारले कार्तिक २५ गतेसम्म ७१२ जना बालबालिका भाइल फ्लका कारण बिरामी परेको स्वास्थ्यखबरलाई जानकारी दिए। जसमध्ये स्वास्थ्य संस्थाका २८३ र माध्यमिक विद्यालयका ४२९ जना बालबालिका हुन्।
उनले भने, ‘हामी तथ्यांक संकलन गर्दैछौँ। यो कार्तिक २५ गतेसम्म ७१२ जना बिरामी परे। जसमध्ये धेरै बालबालिका निको पनि भइसकेका छन्।’
बिरामी बालबालिकामा ज्वरो आउने, रुघाखोकी, घाँटी र शरीर दुख्ने लक्षण देखिएको उनले बताए। केहीमा कडा खालको ब्याक्टेरिया समेत देखिएको उनले बताए। यो भाइरल फ्लु विद्यालयमा आएका संक्रमित विद्यार्थीबाटै फैलिएको हुन सक्ने उनको अनुमान छ।
‘विद्यालयमा अझै पनि फैलिने क्रम छ।’ उनले भने, ‘एउटा कक्षामा सबैजसो विद्यार्थी बिरामी भएको पनि भेट्यौँ। यो भाइरल फ्लु फैलाउने स्रोत नै विद्यालय देखियो।’
तीन दिनका लागि विद्यालय बन्द
विद्यालयबाट फ्लु फैलिएको भन्दै यसको संक्रमण रोक्न गाउँपालिकाले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय समेत गरेको छ। आजदेखि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ।
संक्रमणलाई रोक्न विद्यालय बन्द गरिएकाले सबैलाई घरमै आइसोलेसनमा बस्न गाउँपालिकाको आग्रह छ। गाउँपालिकाले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, फ्लुको लक्षण देखिएका व्यक्तिहरु निको नहुँदासम्म आइसोलेसनमा बस्न र अनावश्यक बाहिर जमघट नगर्न आग्रह गरेको छ।
हाल बिरामीको उपचारका लागि आवश्यक औषधिहरु मौज्दातमा रहेकाले समस्या नभएको शाखा प्रमुख सुनुवारले जानकारी दिए। उमाकुण्ड गाउँपालिकामा हाल १७ हजार ६०१ जनसंख्या छ।