काठमाडौं- पोखराको मणिपाल अस्पतालमा साझेदारी मिलाइदिने भन्दै डाक्टरबाटै ५० लाख रुपैयाँ ठगी गर्ने भारतीय नागरिक शिवम विरुमुथु पुर्पक्षका लागि जेल चलान भएका छन्।
काठमाडौं जिल्ला अदालतको आदेशपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले बताए। विरुमथले रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी (आईसीआरसी)को निर्देशक भएको मणिपाल अस्तालमा साझेदारी मिलाइदिने भन्दै एक डाक्टरबाट मात्रै ५० लाख रुपैयाँ ठगी गरेका थिए।
त्यसैगरी अर्का एक व्यक्तिलाई मलेसियन कम्पनी योङ लियानको डाइरेक्टर बनाइदिने भन्दै ३९ लाख रुपैयाँ ठगी गरेका थिए।
भारतको चेन्नेई घर भइ काठमाडौंको बालुवाटार बस्दै आएका ४४ वर्षीय विरुमुथु मणिपाल अस्पताल खरिद गर्ने भारतीय शेयर होल्डरसँग कुराकानी भइ सम्झौताका लागि मस्यौदा समेत तयार भइरहेको भनेर झुटा कागजात र कुराकानी तयार गरी विभिन्न व्यक्तिलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाई ठगी गरेका थिए।
विरुमुथुले व्यक्तिले विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी उनीहरुको स्वामित्वमा रहेको जमिनको लालपूर्जा समेत आफ्नो नियन्त्रणमा लिइ ठगी गरेको समेत फेला परेको छ।
उनले एनएमबी बैंकमा मात्रै १५ प्रतिशत शेयर रहेको भनेर कागजात समेत बनाउन लगाएका थिए। मलेसियन कम्पनी योङ लियानको एनएमबी बैंकका १५ प्रतिशत शेयरेको रहेको थियो। सोही अनुसार विरुमुथुले आफू योङ लियानको डाइरेक्टर भएको र आफूलाई सम्बोधन गरेर शेयर रहेको भन्ने कागजात बैंकलाई बनाउन समेत लगाएका थिए।
बैंकका कर्मचारी सञ्जिव महर्जनको हस्ताक्षरमा उक्त काजगात बनाएको पाइएपछि उनीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ। हाल उनी फरार छन्। उनीसँगै विरुमुथुकी श्रीमती आस्मा केसीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ। विरुमुथुविरुद्ध ठगी र कीर्तेमा प्रहरीले मुद्दा चलाएको छ।
विरुमुथु यसअघि २०७२ सालमा समेत पक्राउ परेर २ वर्ष जेल परेका थिए। २ वर्ष कैद र ३५ हजार जरिवाना तिरेर रिहा भएका उनी त्यसबेला पनि ठगी मुद्दामा पक्राउ परेका थिए।