डियर कमरेड शंकर! शुभकामना तथा बधाई। थोरै समयमा यस्तो जिम्मेवारी हजुरको काँधमा आएको छ यसलाई अवसर र चुनौती दुबै ठान्नु होला। किनकी जहाँ हजुर हुनुहुन्छ त्यो अत्यन्त संवेदनशील निकाय भन्न म रुचाउँछु र यसलाई त्यही नजरले हेर्नु हुन अनुरोध पनि छ। यहाँ पहिलेदेखि नै यो भयो त्यो भयो, किन भएन, कहिले हुन्छ? फलनाको पालामा यस्तो थियो अहिले यस्तो! भनेर भन्ने र कुरा काट्ने छुट्टै जमात र समस्याका चाङ नै छ भनेर भन्दा फरक नपर्ला।
अब लागौं कुरोको जुरो तिर, नेपाल सरकारले स्वास्थ्य सेवा लिने प्रवृतिमा बढोत्तरी गरी रहे पनि अर्कोतिर जन अपेक्षा अनुरुप सरकारले स्वास्थ्य उपचार सेवा दिन नसकेको भनेर बेला बेलामा समाचार सुन्न र हेर्न पाइएको छ। जनताले निजी स्वास्थ्य संस्था मार्फत महंगोमा सेवा लिई रहेका छन् भने अर्कोतिर सरकारी अस्पताल मार्फत सेवाको विस्तार सान्दर्भिक रुपमा सहज सरल र प्रभावकारी हुन सकिरहेको छैन। यसलाई विशेष ध्यान दिनु होला।
अस्पताल जस्तो संवेदनशील निकायलाई पनि राजनीतिसँग जोडेर फरक नपारी यसको थप विकास, सेवा सुविधामा टेवा पुग्ने खालका कार्यक्रम होस् या प्रवन्धन गर्ने, व्यस्थापन दिगो गर्नेमा महत्व दिनु होला। यस्तो निकायलाई राजनीति गर्ने, भवन मात्र बनाउने, कमिसन घुसखोरी खानेलाई बन्देज गरी बृद्ध, सुत्केरी, बालबालिकाका सेवा सुविधालाई ध्यान दिनु होला।
एउटा भनाई छ 'Right person on right post on right time'। यो उक्तिलाई शिरोपर गरी तपाईंको कार्यकालमा शिलान्यास गर्ने, यति र उति शय्याको बनाएँ, यो उपकरण राखेँ भनेर भाषण गर्दै मिडियामा चिच्याउँदै हिड्नु भन्दा त्यस उपकरणलाई दिगो गर्ने, मर्मत सम्भार गर्ने, सहज औषधि उपलब्ध गराउने, दक्ष चिकित्सकको दरबन्दी दिनेमा ध्यान दिनुहोला।
जनताले हजुरको पालामा यस्तो काम भयो भनेर आफैं भन्दै हिड्ने वातावरण तयार पार्नु होला। कर्मचारी व्यवस्थापन, सरकारले दिने सम्पुर्ण औषधि उपलब्ध गराउने, एम्बुलेन्स सेवा चौबिसै घन्टा र सातै दिन उपलब्ध गराउने साथै अहिले जिल्लामा धेरै पर्यटक आउने वातावरण भएका कारण दुर्घटनाका जोखिम न्यूनीकारण गर्न र आकस्मिक उपचारका लागी ट्रमा सेन्टर बनाउने लक्ष्य राख्नु होला।
हाल कुस्मा पर्यटकको हब बनिरहेको अवस्था र धौलागिरीको मूलद्वार कुस्मा रहेको हुँदा दुर्घटनाको जोखिम कम गर्न विभिन्न निकायसँग समन्वय गरी ट्रमा सेन्टरका लागि पहल गर्नु हुन अनुरोध छ। निजी अस्पातल महँगो हुनुका साथै ख़र्चीलो भएकाले यसलाई ध्यान राखी सस्तोमा उपचार, आकस्मिक सेवा चौबिसै घन्टा र सातै दिन दिने, अनुगमन जाँच सधैं गर्नु होला।
उपकरण छ, चलाउने जनशक्ति नहुनु, कर्मचारी दिगो नरहनु, उपकारण अनुसारका सेवा नदिने वा छैन भनेर फर्काउने, धेरै समय कुराउने र अन्त्यमा डाक्टर भएन, उपकरणले काम गरेन, विद्युत तथा पानीको अभाव देखाएर झारा टार्ने कामलाई निरीक्षण गर्ने र कर्मचारीको लापरबाहीलाई टेवा दिने नगर्नु होला।
सहीलाई सही र गलतलाई गलत भन्ने परिपाटीको विकास गराउने तपाईं यो अस्पतालमा नजिकका मात्र सेवाग्राही नभई टाढा टाढाका गरिब निमुखा पनि छन् है भन्ने खालको चेतना राख्नु होला।
उपचार गराउन आउने बिरामी अनपढ, अबूझ र धेरै टाढादेखि पनि आउने हुन सक्छन् त्यसलाई सामान्य ठान्ने र चौबिसै घन्टा र सातै दिन हेल्प डेस्क जस्तो व्यवस्था गराउनु होला।
अहिले कोरोनाका चरम समयमा चिकित्सक, बिरामीको मनोबल बढाउने खालका काम र चेतना अभिवृद्धि कार्यकम गाउँगाउँमा गराउनु होला।
हजुर राजनीतिक दलको व्यक्ति नठानी राजनीतिक भाषण भन्दा बिरामीको सेवा र फाइदा दिने जनचेतना मूलक भाषण दिनु होला।
बेला बेला सुनिने समयमै उपचार नहुने, लामो पालो पर्खनु पर्ने, एक्सरे मेसिन छ तर चलेन भन्ने उत्तर दिने, सिटामोल र कन्डोम भन्दा केहि नपाइने जस्ता समस्या आईरहेका छन् यसलाई तुरुन्त हेर्नुहोला। पदको उचित सम्मान र अस्पताल छिर्ने वित्तिकै मुस्कान सहितको उपचार र सरसफाईलाई ध्यान दिनु किनकी कति रोग अस्पताल छिर्ने वित्तिकै र चिकित्सकको उपचार गर्ने बिधिले पनि धेरै दर्शाउने गर्दछ।
नयाँ समस्याहरूको पहिचान गरी अस्पताल, कर्मचारी, सेवाग्राहीले बेहोरिरहेका सबैखाले समस्याहरूबारे एकिन गर्ने र समाधानका उपाय खोज्ने, विमर्श गर्ने, नयाँ नयाँ प्रविधि भित्र्याउने, कसरी हुन्छ समयमै उपचार गरेर घर फर्कन सकुन भन्ने मनसायले काम गर्नुहोला।
निकट भविष्यमा अस्पताल सुधारमा कस्ता योजना बनाउँदा ठीक, भौतिक पूर्वाधार, कार्य संचालन पूँजी, व्यस्थापन र जनशक्ति कसरी मिलाउने जस्ता गहन विषयमा छलफल गरी कार्यान्वयन गर्न कहाँ कसरी हुन्छ पहल गर्नुहोला।
कर्मचारीको बेला बखत चेक जाँच गर्ने र चिकित्सकलाई आफ्नो काम नभई सेवा र धर्म हो भन्ने अनुभूति देखाउने, ब्लड बैंक, प्रसूति सेवा, ट्रमा सेन्टर जस्ता अति आवश्यक के छ त्यसलाई वर्गिकरण गरी प्राथमिकताका आधारमा सेवा उपलब्ध गराउने। त्यसैले कामरेड अस्पताललाई अस्पताल जस्तो बनाउन हजुरको नेतृत्वमा विशेष ध्यान जाने छ भन्नेमा आशावादी र विश्वस्त छौं।
उही हजुरको शुभचिन्तक
सचिन्द्र श्रेष्ठ