काठमाडौं– ‘हामी प्रहरी हौं। तपाईंको पसलमा अवैध औषधि बिक्रीवितरण भइरहेको सूचना आएको छ। हामी खानतलासी गर्न आएका हौं’ काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित समृध फार्मेसीका सञ्चालक राजेन्द्र साँकीलाई ८ जनाको एउटा समूहले धम्की दियो।
घटना यही फागुन १८ गते साँझ साढे ७ बजेको हो। प्रहरी भन्दै अनावश्यक धम्की दिँदै खानतलासीसम्म गर्ने बताएपछि साँकी पनि छक्क परे। उनले औषधिको रुपमा नाइट्राभेटहरु पनि बेच्दै आएका थिए। तर उक्त युवाको समूहले भने डाक्टरको अनुमित बिना बेच्न नमिल्ने ती औषधि लागुऔषधको रुपमा बेच्ने गरेको भन्दै अनावश्यक आरोप लगाउँदै साँकीलाई धम्की दिए।
प्रहरी बताउँदै आएको ८ जनाको समूहले मध्ये केहीले साँकीलाई नियन्त्रणमा लिए। खानतलासी गर्नुको साटो उनले लगाएका घडी, खल्तीको मोबाइलसम्म लुट्न सुरु भयो। त्यसपछि ग्लोबल आईएमई बैंकको खाताबाट उनीहरुको इ–सेवा आइडीमा १० हजार, स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको खातामा रहेको नगद ३५ सय, कुमारी बैंकको खाताबाट इ–सेवामा पठाउन लगाएर १७ सय समेत प्रहरी भन्दै धम्की दिएको समूहले लुटेको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए। रकम र नगद गरेर उनीहरुले ६५ हजार रुपैयाँ बराबर लुटपाट गरेको एसपी कोइरालाले बताए।
खानतलासी गर्छौ भन्दै फार्मेसीमा आएर लुटपाट गरेपछि साँकीलाई उनीहरु प्रहरी हुनेमा आशंका लाग्यो। आफ्नो पसल लुटपाट भएको भन्दै उनले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा जोहरी दिए।
जाहेरी परेको केही दिनमै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेसँगै आफूलाई प्रहरी बताउँदै छापा हान्न गएको उक्त समूहबारे पर्दाफास भएको छ।
बहालवाला प्रहरीदेखि पूर्वप्रहरी समेतेको मिलेमतोमा छापा हान्ने निहुमा लुटपाट भएको उनीहरु पक्राउ परेसँगै खुलेको छ।बुधबार र बिहीबार गरेर काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट लुटपाटमा संलग्न भएका बहालवाला प्रहरीदेखि पूर्वप्रहरीसम्मलाई अपराध महाशाखाको टोलीले सार्वजनिक गरेको छ।
लागुऔषध मुद्दामा जागिर गएका प्रहरीदेखि बहालवाला प्रहरीसम्म पक्राउ
पक्राउ परेका मध्ये दुई जना प्रहरी रहेको खुलेको छ। जसमा कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ झलारी घर भई सर्वोच्च अदालत सुरक्षा समन्वय इकाईमा कार्यरत प्रहरी जवान २७ वर्षीय सुवास रतोकीदेखि जुम्लाको गुठिचौर गाउँपालिका–५ घर भएका पूर्वप्रहरी २६ वर्षीय देवीप्रसाद धितालसम्म छन्।
सर्वोच्च अदालतमा कार्यरत प्रहरी जवान सुवास रतोकी र लागुऔषध मुद्दामा जागिर गुमाएका पूर्वप्रहरी देवीप्रसाद धिताल। तस्बिर : नेपाल प्रहरी
त्यसैगरी धादिङको धुनुबेशी नगरपालिका–३ का ३० वर्षीय शंकर रेग्मी, डडेलधुराको महाकाली नगरपालिका–२ का २८ वर्षीय हिक्मत महता, कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ झलारीका ३४ वर्षीय मिलन बोहरा, पाँचथरको याङ्गक गाउँपालिका–८ का ३२ वर्षीय लिम्बू भनिने भविन्द्र बेगा, दैलेखको नौमुले गाउँपालिका–५ सल्लेरीका २७ वर्षीय जीवन भनिने योगेन्द्रबहादुर चन्द र प्युठानको गौमुखी गाउँपालिका–६ का २१ वर्षीय भिटेन र संगीत थापा नामले चिनिने कमल सुनार छन्।
उनीहरुबाट प्रहरीले ११ थान मोबाइल, १ थान घडी, १ थान नागरिकता, ५ थान एटिएम कार्ड र २ थान चेक बरामद गरेको छ।
सर्वोच्च अदालतमा कार्यरत प्रहरीकै सहयोगमा लुटपाट
हाल पक्राउ परेका रेग्मी पटके चोर हुन्। साथै उनी चोरी सम्बन्धीका सूचना बेला–बेला प्रहरीलाई दिएर सहयोग पनि गर्थे। चोरी घटनामै पक्राउ पर्दै जेल जाँदै गर्दा उनको प्रहरीसँग राम्रै हिमचिम भएको थियो। यसरी पक्राउ पर्ने र छुट्ने क्रममा केही समय अघिसम्म अपराध महाशाखामै कार्यरत प्रहरी जवान धितालसँग राम्रै चिनजान भएको थियो। धिताल लागुऔषधका सेवनकर्ता थिए।
प्रहरी स्रोतका अनुसार गत वर्ष भरतपुर तालिम केन्द्रमा तालिम गर्न गएको बेला धितालको साथबाट तीन पत्ता नाइट्रोभेट लागुऔषध प्रहरीले बरामद गरेको थियो। हिरासतमा राखेर उनीमाथि अनुसन्धान सुरु गरिएको थियो। पछि अदालतको आदेशमार्फत उनी धरौटीमा रिहा भएका थिए भने प्रहरी संगठनले विभागीय कारबाही गर्दै जागिरबाट बर्खास्त गरेको थियो।
उनै धिताललाई रेग्मीले समृध फार्मेसीले लागुऔषधको रुपमा नाइट्रोभेट बेच्ने गरेको सूचना पुर्याएका थिए। त्यसपछि पूर्वप्रहरी धितालकै योजनामा उक्त फार्मेसीमा लुटपाट भएको प्रहरीको भनाइ छ।
धितालले नै बोलाएपछि बहालवाला प्रहरी जवान रतोकीसमेत लुटपाटमा संलग्न भएको प्रहरी अनुसन्धान अधिकारी बताउँछन्। ‘रतोकी र धितालको चिनजान पहिल्यैदेखि थियो। उनै धितालले बोलाएपछि रतोकी पनि गएको देखिन्छ’ एक प्रहरी अधिकारीले भने।
यद्यपी रतोकीले भने आफूलाई लुटपाटको कुनै योजना नै थाहा नभएको र धितालले भेटघाट गर्नुपर्यो भनेर बोलाएकाले गएको मात्रै दाबी गर्दै आएका छन्। पक्राउ परेका अन्य व्यक्तिहरु पनि विभिन्न चोरी घटनाहरुमा संलग्न रहेको पाइएको छ। ‘उनीहरु दोहोरीतिर काम गर्ने तथा बसपार्क क्षेत्रलाई आधार बनाएर चोरी गर्ने व्यक्तिहरु हुन्’ एक अनुसन्धान अधिकारीले भने।