काठमाडौं– मार्कसिट कीर्ते गरेर एमबिबिएस अध्ययन गरी डाक्टर बनेको पाइएको भन्दै एक जना डाक्टरविरुद्ध मुद्दा दर्ता भएको छ। सुर्खेतकी ३१ वर्षीया श्रेष्ठ थरकी एक डाक्टरविरुद्ध मुद्दा दर्ता गरिएको हो।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई फरार प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन पठाएको थियो। कीर्ते मुद्दाको हदम्याद सकिन लाग्दा समेत उनी पक्राउ नपरेपछि फरार प्रतिवादी बनाउँदै फाइल पठाइएको थियो। सोही फाइलअनुसार सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो।
उनले एमबिबिएस अध्ययन गर्न चाहिने न्यूनतम नम्बर समेत नपुगेका विषयका एसएलसीका मार्कसिट र सर्टिफिकेटमा नम्बर थपघट गरेर एसबीबीएस अध्ययन गरेको पाइएको अनुसन्धानबाट खुलेको छ।
नेपाल मेडिकल काउन्सिलका इलिजिबिटी कमिटीका अध्यक्ष डा अनिलकुमार झाको पालामा श्रेष्ठले एसएलसीको मार्कसिट कीर्ते गरेर बंगलादेशमा एमबिबिएस अध्ययन गरेको पाइएपछि उनीविरुद्ध मुद्दा चलाइएको हो।
एमबिबिएस अध्ययनका लागि चाहिने न्यूनतम योग्यता नपुगेका श्रेष्ठले एसएलसीको नम्बर कीर्ते गरेको पाइएको छ। मार्कसिटको नम्बर कीर्ते गरी नेपाल मेडिकल काउन्सिलबाट समेत स्वीकृत लिएर उनले बंगलादेशमा एमबिबिएस अध्ययन गरेकी थिइन्।
श्रेष्ठको सर्टिफिकेट भेरिफाइका लागि सीआईबीले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयमा पठाएको थियो। तर, उनको सर्टिफिकेट भेरिफाइ हुन सकेको थिएन। एसएलसीकोसँगै उनले प्लस टुको सर्टिफिकेट समेत कीर्ते गरेकी थिइन्।
उनले शिवपुरी माध्यामिक काठमाडौंबाट २०६६ सालमा एसएलसी पास गरेको सर्टिफिकेट पेस गरेकी थिइन्। तर, अनुसन्धानको क्रममा शिवपुरीबाट २०६६ मा सिम्बोल नम्बर ०२५०८५४ एफ भएकी श्रेष्ठ नामको विद्यार्थी नै नभएको खुलेको थियो।
श्रेष्ठले कीर्ते गरेर सर्टिफिकेट बनाएको अनुसन्धानबाट खुलेपछि मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २७६ अन्तर्गतको कसूरमा उनीविरुद्ध मुद्दा दायर गरिएको छ। सार्वजनिक लिखत अन्तर्गतको कसूरमा उनीवरुद्ध ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ।
यसअघि गत शुक्रबार सर्लाहीको ईश्वरपुर नगरपालिका-१४ का २७ वर्षीय डाक्टर अजय साहविरुद्ध पनि कीर्ते सर्टिफिकेट बनाएर एमबिबिएस अध्ययन गरेर डाक्टर बनेको पाइएको भन्दै मुद्दा दर्ता भएको थियो।
*पाठकहरुको सूझाव अनुसार श्रेष्ठको नाम र ठेगाना हटाइएको छ।