रुकुम पश्चिमको सदरमुकाम खलंगादेखि करिब ४५ कि.मी.को दुरीमा रहेको आठबिसकोट नगरपालिका वडा नं २ अन्तर्गत स्याला भौगिलिक हिसाबले मात्र नभएर सामाजिक,आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट पनि निकै दुर रहेको महसुस भयो। त्यहाँ पुग्नको लागि गाडीको मद्दतले यात्रा तय गर्ने हो भने खलंगादेखि राउखेत-गिल्बाङ-छिनखेत-मग्मा-नदुवा-भम्पु-झारमारे-बसेरा जङ्गलको ओरालो बाटो हुँदै निकै कठिन सफरपश्चात् स्याला स्वास्थ्य चौकी पुगिने रहेछ।
आठबीसकोट नगरपालिकाको आयोजनामा शान्ति नेपाल र नगरपालिकाको संयुक्त साझेदारीमा आठबिसकोट नगरपालिकाका १,२ र ३ नं वडाका महिलाहरुका निम्ति प्रजनन रुग्णता नि:शुल्क स्वास्थ्य शिविर(२०७९/११/२८ र २९)मा नगरपालिका मातहतमा कार्यरत मेडिकल अधिकृत डा संयमचन्द्र घिमिरे लगायत स्वास्थयकर्मीसँगै जिल्ला अस्पतालमा कार्यरत महिला तथा स्त्रीरोग विशेषज्ञ डा केहल विक्रम जि.सी, मेडिकल अधिकृत डा नितिश महतो,वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक हृदयकली पौडेलसँगैको टिम तथा प्राइभेट अस्पतालतर्फ खलंगा सिटी हस्पिटल एन्ड डेन्टल क्लिनिकमा कार्यरत मेडिकल अधिकृत म डा राजकुमार भुजेलको पनि सहभागिता थियो। उक्त शिविरका लागि जिल्ला अस्पतालको टिममध्ये केही बोलेरो गाडीमार्फत र २ वटा मोटरसाइकलमा ४ जना जाने गरि मिति मुसिकोट खलंगाबाट यात्रा तय भयो। मोटरसाइकलको लागि बाटो केही छोटो पर्ने भएकाले हामी ११/२७ गते करिव १२:४५ बजे दिउँसो सदरमुकामदेखि मध्यपहाडी लोकमार्ग अन्तर्गतको माछिमी हुँदै गाराघाट झोलुङगेपुल हुँदै बाफीकोट गाउँपालिकामा पर्ने छिनखेत निस्कने बाटो पछ्यायौँ।
गाडीमा सवार जिल्ला अस्पतालको नर्सिङ टिम अनि आठबिसकोट नगरपालिकाका स्वास्थ्यकर्मीको टोली हामीभन्दा अघि यात्रा सुरु गर्नुभएकोले हामी ४ जना डा केहल,डा नितिश,म र सिअहेब इश्वर रावल)लाई नदुवामा कुरेर बसिराख्नुभएको थियो। हामी उहाँहरुभन्दा त्यस स्थानमा करिव आधा घन्टा पछि पुग्यौँ र सहयात्री बन्यौँ स्यालासम्मको गन्तव्यमा। त्यहाँबाट हामी मोटरसाइकलमा सवार जति अघि लाग्यौँ अनि आठबिसकोट नगरपालिकाका स्वास्थ्यकर्मी टिम र जिल्ला अस्पतालका स्वास्थ्यकर्मीको टीम दुईवटा गाडीमा हाम्रो पछि पछि लाग्नुभयो।
नदुवाको डाँडादेखि झारमारेको लेकसम्म पुग्ने बाटो सम्झेर ल्याउँदा आङ नै सिरिङ्ग भएर आउँछ।पैदल यात्रा नै गर्न निकै कठिन पर्ने बाटोमा कति ठाउँमा बाइक धकेल्यौँ,कति ठाउँमा गाडी धकेल्यौँ भनिसाध्य छैन। तथापि बाटोको डिलतिर लटरम्म फुलेका फरक फरक रङका लालीगुँरास र भिमकाय पहाडबीचका सुन्दर जङ्गलले भने थकानका बीच पनि सफरमा मिठास थपिरहेको थियो। दिउँसोको ३:३० बजेतिर नदुवाबाट हिँडेका जसोतसो हामी झारमारेको लेक पुग्दा ५:४५ भइसकेको थियो।
झारमारेको लेक पुग्दा देखिने सिस्ने हिमालको निकटतम दृश्य अनि अन्य हिमशृङ्खला अग्ला अग्ला पहाड बीच स-साना बस्ती,चिसो सिरेटोले अघि सफरमा भोगेका अप्ठ्याराहरुलाई थोरबहुत बिर्साउँदै थियो।केही बेरको विश्राम पछि हामीले झारमारेदेखि स्यालासम्मको गन्तव्य अघि बढायौँ।
त्यसपछि भने बाटो अघिको भन्दा अलिक सहज हो कि भन्ने भान भएको आधा घन्टा नबित्दै हाम्रो टिमको गाडी बसेराको जङ्गलमा फस्यो,बाइक भने जसोतसो ४/५ जना मिलेर धकेली धकेली अप्ठ्यारो बाटो कटायौँ।यात्रामा भएका सबै मिलेर गरेको अथक प्रयास पश्चात् करिव ४५ मिनेटपछि गाडीलाई पनि अप्ठ्यारो बाटोबाट पार लगाउन सफल भयौँ। त्यसपछि भने सफरमा आएको सहजतासँगै हामी बेलुकीको करिव ७:५० तिर हाम्रो गन्तव्य स्याला स्वास्थ्य चौकी पुग्यौँ।
स्यालामा हाम्रो पर्खाइमा रहेका त्यहाँका जनप्रतिनिधिस्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरु,शान्ति नेपालमा आबद्ध कर्मचारीहरु एवम् त्यहाँका जनताहरुले एक एक गरि हामीलाई सुन्तलाको पात,धुपीका पातबाट निर्मित सुन्दर मालाले मीठो स्वागत गर्नुभयो। केही समयको भलाकुसारी पश्चात् उहाँहरुको टिमले हामीलाई खान बस्नको व्यवस्था भएको ठाउँ चिनाइदिनुभयो र हामी फ्रेस भएर खाना खाई थाकेका हुनाले त्यसदिन सबेरै सुत्यौँ।
भोलिपल्ट बिहानै देखि स्वास्थ्य चौकीका सर म्यामहरु शिविरको व्यवस्थापनमा खटिनुभयो,हामीले पनि सहजीकरण गर्यौँ। त्यहाँका जनप्रतिनिधिहरुले हामीलाई त्यहाँको जनताको स्वास्थ्य अवस्था,आधारभुत आवश्यकताका लागि गरिराख्नुपरेको संघर्ष,भौगोलिक विकटता,गरिबी,जनचेतनाको अवस्थाबारे हामीलाई ब्रिफिङ गर्नुभयो। त्यस ठाउँमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर यसैपाली पहिलोपटक सन्चालान भएको रहेछ।
उक्त नि:शुल्क स्वास्थ्य शिविरमा प्रजनन उमेर समुहका महिलामा हुन सक्ने स्वास्थ्य समस्याहरुको पहिचान,निदानका लागि भिडियो एक्सरे, भीआइए पद्धतिद्वारा पाठेघरको मुखको क्यान्सरको स्कृनिङ,आङ खसेका महिलाको ग्रेड पहिचान गरेर रिङ पेशरी सेवा एवम् जटिल केशहरुको लागि आवश्यक परामर्श सेवा,फिस्टुलाको पहिचानसँगै आवश्यक उपचार,परामर्श सेवा,प्रजनन अङ्गहरुमा हुने सङ्क्रमणको पहिचान र नि:शुल्क ओेैषधी वितरण सेवा सँगै महिलाहरुमा हुन सक्ने अन्य स्वास्थ्य सम्बन्धी समस्याहरुको पहिचान,उपलब्ध उपचार तथा परामर्श सेवा समेत उपलब्ध थियो।
हामीले बिहानको नास्ता खाइसकेपछि टाढा टाढाबाट बिरामीहरु आउनुभएकोले नगरपालिकाका जनप्रतिनिधि,साझेदारी संस्था सँगको समन्वयमा २८ गते ९ बजे देखि नै ओपचारिक उद्घाटन गरि शिविर सुरु गर्ने सल्लाह गर्यौँ र भने बमोजिम भयो। टाढा-टाढाबाट पाल्नुभएका बुढी हजुरआमा,आमा,दिदी बहिनीहरुको समस्याहरुको खोजपड्ताल सँगै उपलब्ध ओैषधी-उपचार अनि आवश्यक परामर्शमै त्यस दिन बितेको पत्तै भएन। बेलुका हामीले आपसमा देखेभेटेका समस्याहरुको साटासाट,यसका कारणहरु र हामीबाट गर्न सकिने उपचार सल्लाहबारे पनि छलफल गर्यौँ। थकाइ भुलाउन रुकुमेली टप्पा,सिँगारु,झ्याउरेे भाकामा केही बेर रमायौँ पनि।
शिविरको अन्तिम दिन २९ गते बिहान ८ बजेबाटै सन्चालन गर्नै गरि अघिल्लो दिन नै चाँजोपाँजो मिलाएकाले धेरै सहज भयो। बिहानको नास्ता खाइवरी हाम्रो टिम स्वास्थ्य चौकी तर्फ लाग्यो र आ-आफ्नो जिम्मेवारी वहनमा तल्लीन रह्ययो।त्यसदिन दिउँसो ३:२०बजेसम्म हामीले शिविरमा आउनुभएका बिरामीहरुको स्वास्थ्य चेकजाँच गरेर सक्यौँ
अन्तिम दिनमा आइपुग्दा हामीले ४३० जना प्रजनन उमेर समुहका महिलाको स्वास्थ्य चेकजाँचमध्ये २१० जनाको भिआइए परिक्षण,१६९ जनाको भिडियो एक्सरे,७ जनाको रिङ पेशरी सेवा,शंकास्पद पाठेघरको मुखको क्यान्सर १० जना,चौथो डिग्री अर्थात् प्रोसिडेन्सिया आङ खस्ने समस्या भएका ३ जनामा पाइयो। अधिकांश महिलाहरुमा प्रजनन अङ्गको संक्रमण भएको पाइयो।
कम उमेरमै हुने विवाह,अशिक्षा,गरिबी,जनचेतनाको कमी महिनावारी र अन्य समयमा सरसफाइको कमी,आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट बन्चित हुनुपर्ने कारणले पनि त्यहाँ प्रजनन उमेर समुहका अधिकांश महिलाहरुमा प्रजनन अङ्गको संक्रमणको समस्या विकराल भएको पाइयो।
एक बिरामीको अनौठो अनुभव
शिविरमा प्राप्त अभिलेख अनुसार हेर्दा आठविसकोट नगरपलिका वडा नम्बर २ वर्ष २४ कि एक महिला शिविरमा करिब मध्याह्न १२:०० आउँछिन। टिकट लिई डाक्टरलाई देखाउन भिडभाड भएको कारण उनी लाइनमा बस्छिन। मध्याह्न करिब १२:४५ बजे डाक्टरलाई देखाउन उनको पालो आउँछ। स्त्रीरोग विशेषज्ञ डाक्टर केहल विक्रम जि. सी. लाई उनिले समस्याको बारेमा बताउँछिन्। त्यसपछि उनले सुरुमा तल्लो पेट दुखेको र सेतो पानी बग्ने समस्या भएको बताउँछिन। पुन: डाक्टरले सोध्दा भावुक हुँदै भन्छिन- मेरो गर्भ नरहने समस्या छ। त्यस पछि उनको यूएसजी गर्न सल्लाह दिँदै यूएसजी कोठामा पठाइन्छ र शिविरमा खटिएका मेडिकल अधिकृत डा राजकुमार भसजेलले उनको यूएसजी गर्छन्। यूएसजीबाट लामो समय काम गर्ने परिवार नियोजनको साधन कपरटी राखिएको निदान हुन्छ। डाक्टरको उक्त कुरा सुन्दा उनि भावबिह्वल हुँदै रुन थाल्छिन। लगतै उनलाई परामर्शसहित कपरटी निकाल्ने कोठामा पठाइन्छ। त्यसकोठामा खटिएका नर्सिङ स्टाफले कपरटी निकाली दिन्छन र उक्त निकालेको कपरटी डस्टबिनमा फाल्न खोज्दा उनले टिपेर खल्तिमा राख्छिन। उनले आखिर किन त्यसो गरिन् त्यो देखेर त्यहाँका स्वास्थ्यकर्मी छक्क पर्छन्।
सबैको मनमा प्रश्न उब्जियो। त्यसपछि उनले यसरी आफ्नो ब्यथा हाम्रो शिविरको टिमलाई सुनाउँछिन।
उनको विवाह करिव ५ वर्ष पहिले भएको र श्रीमान श्रीमती दुवै कामको शिलशिलामा भारतको हिमांचल प्रदेश पुगेको कुरा बताउँछिन र त्यहीँको अस्पतालमा सुत्केरी हुन्छिन। उनालाई सुत्केरीपश्चात कपरटी राखिएको हुन्छ। उनले कपरटी राखेको आफूलाई थाहा नभएको कुरा बताउँछिन। श्रीमानले बच्चा पाए लगतै छोडेका रहेछन्। त्यसपछि उनी छोरीको स्याहारसुसार गरेर २ वर्षसम्म बसेको बताउँछिन। त्यसपछि उनलाई विवाहको प्रस्ताव आउँछ र उनले दोस्रो विवाह गर्छिन। २ वर्षसम्म श्रीमानसँगै बस्दा पनि बच्चा नभएपछि उनी धेरै अपहेलित भएको कुरा बताउँछिन। सम्बन्ध बिच्छेद सम्मको कुरा चलेको र आजकै दिन श्रीमान घर छोडेर भारततिर हिडेको कुरा जानकरी गराउँछिन। उपचार पश्चात उनको अनुहारमा व्याख्या गर्न नसकिने खुसी देखिन्छ र अब बच्चा हुने कुरामा उनि बिश्वस्त हुन्छिन र डाक्टरले पनि सोही अनुसारको परामर्श दिन्छन। त्यसपछि शिविरमा सेवालिन आएका आफन्त र अन्य साथिहरुसँग खुसी साटदै घरतिर लाग्छिन्।
शिविर सकिएपछि त्यस दिनको करिव ३:४० तिर हाम्रो टोलीले सदरमुकाम फर्किने तयारी गर्याैं। निस्कने बेला सिमसिमे पानी परिरहेको थियो। शिविरको लागि जाँदा गाडी फसेको ठाउँ बसेरा जङ्गलमा हाम्रो टोलीको एउटा बाइक फस्यो। गाडी पनि त्यहाँबाट अघि बढ्न सकेन। त्यसपछि हामीले आठबिसकोट नगरपालिकाका स्वास्थ्य संयोजक प्रेम रोकाया सर र वडा नं २ का वडा अध्यक्ष देवबहादुर यरी सरलाई हाम्रो समस्या सुनायौँ। उहाँहरुले हाम्रो समस्या समस्या समाधानका लागि ट्रयाक्टरको व्यवस्था गरिदिनुभयो र लगत्तै हामीले फसेको बाइक बोलेरो गाडीमा राख्षौँ अनि गाडीलाई ट्रयाक्टरले तान्ने व्यवस्था मिलाई झारमारेको जङ्गलसम्म पैदल आयौँ। त्यहाँसम्म पुग्दा अर्को बाइकलाई पालैपालो धकेल्दै आयौँ। झारमारे लेक पुग्दा झमक्कै साँझ पर्यो,ठाउँठाउँमा बाइक धकेल्दा पैदल हिँड्दा शरीर शिथिल भैसकेको थियो।तथापि सदरमुकाम सम्मको गन्तव्य पछ्याउनुनै थियो।
स्यालाबाट झारमारे पुग्दा र त्यहाँबाट नदुवासम्म पुग्दा जङ्गलको बाटो मात्रै भएको, मानव बस्ती नभएकोले हामीले बोकेको चिउरा चाउचाउको भरमा अबको गन्तव्य पछ्याउने भयौँ र त्यसै गर्यौँ।झारमारेबाट नदुवासम्म पुग्ने ओरालोबाटो फेरि कहाँ सजिलो थियो र! बाटैभरी ढुङ्गै ढुङ्गा,घोडा खच्चरलाई समेत हिँड्न कठिन पर्ने बाटो सम्झिँदै कहालीलाग्दो! निकै कठिनपुर्वक करिव ८ बजेतिर नदुवा पुगेपश्चात् लामो श्वास फेरियो। यत्तिकैमा हाम्रो टोलीका स्त्री रोग विशेषज्ञ डा केहल विक्रम जि.सी.ज्युले भन्नुभयो कसरी निर्वाह गरिरहेका छन् यार त्यस ठाउँका मान्छेहरु? हामी त धन्न सकुशल आइयो यार! टोलीका सबैले आ-आफ्नो पीडा सुनाए। त्यहाँबाट ८:१५ तिर निस्केका हामी राती करिव ११:४० तिर जिल्ला सदरमुकाम खलंगा पुग्यौँ।यसरी हाम्रो शिविरका लागि तय भएको सफर सकियो। यो २ दिनमा हामीले के कति सेवा दिन सक्यौँ थाहा छैन तर भुगोलले ठगिएका हर क्षेत्रका न्युनतम सेवा सुविधाबाट बन्चित भइरहेका अभावै अभावमा जीवीकोपार्जन गरिरहेका स-साना उपलब्धिमै एक आपसमा खुसी साटिरहेका जनमानसका दैनिकीले भने भावविह्वल बनाइरह्यो।