के तपाईँलाई बारम्बार थकान महसुस भइरहेको छ । यदि त्यस्तो भएको छ भने त्यो सामान्य कुरा होइन, यसका पछाडि विभिन्न शारीरिक वा मानसिक कारण हुन सक्छन्।
डाक्टर सन्देश शर्माका अनुसार तपाईंको जीवनशैली, पोषण, वा स्वास्थ्यमा केही समस्या भएमा तपाईंलाई पटक पटक थकानको महसुस भइरहेको हुन्छ । तपाईंलाई पटक पटक थकान महसुस भइरहन्छ भने त्यस्तो बेला बेवास्ता गर्नु हुँदैन । यो हेपाटाइटिस बी को सुरुआत पनि हुन सक्छ । यस रोगका लक्षण चिन्न त्यति सजिलो हुँदैन ।
डा शर्माका अनुसार थकान महसुस हुनुका अन्य कारणहरु यस्ता छन् ।
पर्याप्त निन्द्रा नहुनु
दैनिक ८ घण्टा निन्द्रा नपुग्दा शरीर ऊर्जावान बन्न सक्दैन,राति ढिलो सुत्ने वा बारम्बार उठ्ने बानीले थकान बढाउँछ ।
पोषणको कमी
शरीरमा आइरन, भिटामिनको कमी तथा विशेष गरी एनिमिया हुँदा कमजोरी र थकान हुन्छ ।
मानसिक तनाव र चिन्ता
लगातार तनावले शरीर र दिमाग दुबै थाक्छ,चिन्ता वा डिप्रेसनले पनि ऊर्जा घटाउँछ ।
शारीरिक गतिविधि कम हुनु
धेरै समय बसिरहने तथा नियमित व्यायाम नगर्दा शरीर सुस्त हुन्छ ।
स्वास्थ्य समस्याहरू
थाइराइड,मधुमेह, मुटु रोग, वा अन्य दीर्घ रोगले शरीरको ऊर्जा उत्पादन घटाउँछन् ।
क्याफिन र जङ्क फुड बढी सेवन
धेरै चिया कफीले केही समय ऊर्जा दिन्छ तर पछि थकान बढाउँछ साथै असन्तुलित खानपानले पनि शरीर कमजोर बनाउँछ।
थकान हटाउने मुख्य उपायहरू
पर्याप्त पानी पिउने
डिहाइड्रेशनले थकान गराउँछ, त्यसैले प्रशस्त पानी वा तरल पदार्थ पिउनुहोस्।
स्वस्थ र सन्तुलित खाना
पोषिलो खानाले शरीरमा ऊर्जा दिन्छ, जबकि धेरै खानाले आलस्य बनाउन सक्छ ।
नियमित व्यायाम
हल्का व्यायाम वा योगले शरीरमा अक्सिजन र सकारात्मक ऊर्जा बढाउँछ।
पर्याप्त निद्रा
राति ७-८ घण्टाको नियमित निद्राले शरीरलाई पुनरुत्थान गर्छ। दिउँसो थकान लागेमा छोटो आराम लिन सकिन्छ।
ताजा हावा र उज्यालो
कोठाको झ्याल-ढोका खुला राखेर ताजा हावा र प्रकाश आउने वातावरण बनाउनुहोस्।
अदुवा-मरिच पानी वा चिया
अपचले पनि थकान निम्त्याउँछ, जसका लागि अदुवा-मरिच पानी उपयुक्त हुन्छ।
कुर्सीमा सिधा बस्ने
काम गर्दा सिधा बस्नाले मेरुदण्ड र शरीरलाई आराम मिल्छ।