जोर्नी तथा घुँडा दुख्ने समस्या भएका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दो छ। घुँडा दुख्नुको मुख्य कारण घुँडाको हड्डी खिइनुको हो। उमेर ढल्केपछि देखिने समस्या पछिल्लो समय युवा अवस्थामा नै देखिन थालेको छ। यो समस्या महिला तथा बढी तौल भएकाहरुमा बढी देखिन्छ। सामान्यतया ४० वर्ष कटिसकेपछि यो समस्या देखिन थाल्छ।
राष्ट्रिय ट्रमा सेन्टरका सिनियर कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा ऋषि विष्टका अनुसार जोर्नी वा हड्डी खिइएर गएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था समेत आउन सक्छ। घुँडा र हिपको जोर्नी खिइएमा हिँडडुल गर्न, बस्न तथा नियमित काम गर्न असहज हुन्छ।
उनका अनुसार लामो समयसम्म एकै पोजिसनमा मोबाइल र कम्युटरको प्रयोगले जोर्नीमा नकारात्मक प्रभाव पार्छ।यस्तो अवस्थामा जोर्नी चलायमान हुन छोड्छ,जसले जोर्नी खिइने, कमजोर हुने लगायतका समस्या समस्या निम्त्याउन सक्छ। जोर्नी चलायमान नहुँदा जोर्नी नजिकका मांशपेशीहरु समेत सक्रिय हुँदैंनन्। जसले कालान्तरमा जोर्नी खिइने समस्या देखिन थाल्छ।
जोर्नी खिइने समस्याबाट बच्नका लागि जीवनशैली र खानपानमा विशेष ध्यान दिनु आवश्यक छ। यसका प्रमुख उपायहरू तल दिइएका छन्
तौल नियन्त्रण गर्ने
शरीरको बढी तौलले विशेषगरी घुँडा र कम्मरको जोर्नीमा अतिरिक्त भार पार्छ, जसले गर्दा जोर्नी छिटो खिइने सम्भावना हुन्छ।
नियमित व्यायाम गर्ने
जोर्नी वरिपरिका मांसपेशीहरू बलियो बनाउन हल्का व्यायाम, हिँडडुल वा फिजियोथेरापी प्रभावकारी हुन्छ।
पोषिलो खानपान
क्याल्सियम र भिटामिन-डी युक्त खानेकुराहरू (दूध, दही, पनीर, अन्डा आदि) पर्याप्त मात्रामा सेवन गर्नुपर्छ।
सन्तुलित जीवनशैली
बिहानको कलिलो घाममा १५-२० मिनेट बस्ने, जसले शरीरमा भिटामिन-डी प्राप्त हुन्छ।
धूम्रपान र मद्यपानबाट टाढा रहने।
धेरै चिसोबाट जोगिने र जोर्नीलाई न्यानो राख्ने।
गलत आसन सुधार गर्ने
लामो समयसम्म एउटै पोजिसनमा नबस्ने र गह्रौँ सामान उठाउँदा विशेष सावधानी अपनाउने।