पटक-पटक गर्भ खेर जाने समस्या एक जटिल अवस्था हो। यसले महिलाको शारीरिकसँगै मानसिक स्वास्थ्यमा पनि गम्भीर असर पार्न सक्छ। यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ डा. लक्ष्मी तामाङका अनुसार यदि कुनै पनि महिलाले पटक-पटक गर्भपातको समस्या भोग्नुपर्छ भने त्यसको वास्तविक कारण पत्ता लगाउनु जरुरी हुन्छ।
गर्भपातबाट जोगिन गर्भ बसेको सुरुवाती तीन महिना विशेष ख्याल गर्न आवश्यक छ। यो समयमा सवारीसाधनमा यात्रा गर्दा, विशेषगरी बाइकको पछाडि बस्दा वा खराब सडकको यात्राले पेट छचल्किने र भ्रुणमा असर पुगेर गर्भपात हुने जोखिम रहन्छ। यसका साथै गर्भवती महिलाको जीवनशैली बढी तनावपूर्ण भएमा पनि गर्भपतनको सम्भावना उच्च हुने डा. तामाङ बताउँछिन्।
सामान्यतया गर्भ बसेको २० हप्ताभित्र गर्भ गुम्नुलाई गर्भ तुहिनु भनिन्छ। पटक-पटक गर्भ खेर जानुका पछाडि धेरै शारीरिक तथा वातावरणीय कारणहरू हुन सक्छन्।
बारम्बार गर्भ खेर जानुका मुख्य कारणहरू:
भ्रूणमा क्रोमोजोमको समस्या: धेरैजसो गर्भपतन भ्रूणको विकास हुँदा गुणसूत्र (क्रोमोजोम) मा हुने त्रुटिका कारण हुन्छ, जसले गर्दा भ्रूणको सही विकास हुन सक्दैन।
पाठेघरको बनावट वा समस्या: पाठेघरको बनावटमा जन्मजात खराबी हुनु, पाठेघरमा पलाउने ट्युमर (फाइब्रोइड), वा पाठेघरको मुख खुकुलो हुनाले पनि बच्चा अडिन सक्दैन।
हर्मोनमा गडबडी: थाइराइड वा प्रोजेस्टेरोन जस्ता हर्मोनको कमीले गर्भावस्थालाई निरन्तरता दिन कठिन हुन्छ।
इम्युनोलोजिकल समस्या: कहिलेकाहीँ आमाको शरीरको प्रतिरोधात्मक प्रणालीले भ्रूणलाई 'बाहिरी वस्तु' ठानेर नष्ट गरिदिन्छ।
संक्रमण र दीर्घरोग: अनियन्त्रित मधुमेह, उच्च रक्तचाप, वा प्रजनन अंगमा हुने संक्रमणले पनि पटक-पटक गर्भ खेर जाने जोखिम बढाउँछ।
जीवनशैली र उमेर: बढ्दो उमेर, धुम्रपान, मद्यपान र अत्यधिक तनावले पनि प्रजनन क्षमता र गर्भावस्थामा नकारात्मक असर पुर्याउँछ।
पटक-पटकको गर्भपातबाट कसरी जोगिने?
गर्भाधान अघिको जाँच: गर्भ धारण गर्नुभन्दा पहिले नै दम्पतीले चिकित्सकलाई भेटेर आफ्नो स्वास्थ्य अवस्था जाँच गराउनुपर्छ।
कारणको पहिचान: बारम्बार गर्भ खेर जानुको मुख्य कारण जस्तै– हर्मोनको असन्तुलन, पाठेघरको बनावटमा समस्या, वा क्रोमोजोम सम्बन्धी दोष के हो, सो पत्ता लगाई उपचार गर्नुपर्छ।
पौष्टिक आहार: प्रोटिन, भिटामिन, क्याल्सियम र आइरनयुक्त खानेकुराहरू (हरियो सागसब्जी, फलफूल, अण्डा, दूध) पर्याप्त मात्रामा सेवन गर्नुपर्छ।
वजन नियन्त्रण: अत्यधिक मोटोपन वा धेरै कम तौलले पनि गर्भधारणमा समस्या ल्याउन सक्छ, त्यसैले स्वस्थ तौल कायम राख्नुपर्छ।
संक्रमणबाट बच्ने: यौनरोग वा अन्य संक्रामक रोगहरूका कारण पनि गर्भ तुहिन सक्छ, त्यसैले समयमै यसको पहिचान र उपचार गराउनुपर्छ।