हामीमध्ये धेरैलाई बच्चालाई पनि डिप्रेसन हुन्छ भन्दा पत्यार नलाग्न सक्छ। घर-व्यवहार तथा करियरको चिन्ता ठूला मान्छेलाई मात्र हुने भएका कारण हामीलाई त्यस्तो लागेको हो। यद्यपि, बालबालिकालाई पनि डिप्रेसन हुन सक्ने चिकित्सकहरू बताउँछन्।
बालबालिकामा डिप्रेसन देखिएपछि त्यसको उपचार बाल मनोचिकित्सकबाट मात्रै सम्भव हुने कान्ति बाल अस्पतालका बाल मनोचिकित्सक डा. उत्कर्ष कार्की बताउँछन्। अहिलेको अवस्थामा बच्चाहरू पनि डिप्रेसनको सिकार हुन सक्ने उनको दाबी छ।
उनीहरूमा निरन्तर उदासी, दैनिक क्रियाकलापमा अरुचि, छिटो रिसाउने, एक्लै बस्न मन पराउने, थकान र पढाइमा खराब प्रदर्शन जस्ता लक्षणहरू देखिएमा डिप्रेसन हुन सक्छ। समयमै उपचार नभएमा यसले गम्भीर रूप लिन सक्छ।
बच्चामा डिप्रेसनका लक्षणहरू:
खानपिन, पढाइ वा खेलकुदमा खासै रुचि नदेखाउने।
अनावश्यक खुसी हुने वा दुखी हुने।
सधैँ मुड खराब रहनु वा अक्सर रिसाइरहनु।
परिवारका सदस्यसँग आवेशपूर्ण व्यवहार गर्ने।
बेचैन रहने।
धेरै घबराउनु।
विद्यालयमा अरूसँग घुलमिल नहुनु।
एकान्तमा बस्न रुचाउनु।
डिप्रेसन हुनुका कारणहरू:
घरेलु वातावरण: आमाबुबाको झगडा वा घरेलु कलहको प्रत्यक्ष असर।
तनाव: विद्यालयको दबाब, साथीभाइको सङ्गत वा दुर्व्यवहार।
वंशानुगत: परिवारमा कसैलाई डिप्रेसन भएको इतिहास भएमा।
उपचार र समाधानका उपाय:
मनोपरामर्श: मनोविद् वा बाल मनोरोग विशेषज्ञसँग परामर्श लिनु उत्तम हुन्छ।
वातावरणमा सुधार: बच्चालाई मायालु, शान्त र सुरक्षित वातावरण दिनुहोस्।
क्रियाकलाप: खेल्ने, रमाउने र प्रकृतिको नजिक लैजाने।
योग तथा प्राणायाम: योग र ध्यानले बच्चाको मानसिक स्वास्थ्य सुधारमा मद्दत गर्न सक्छ।