हेमोफिलिया के हो ?
हेमोफिलिया एउटा अनुवांशिक रगत जम्ने समस्या हो, जसमा शरीरमा आवश्यक “रक्त जमाउने तत्व” (क्लोटिङ फ्याक्टर VIII वा IX) को कमी हुन्छ। यस कारण सामान्य चोटपटक हुँदा पनि रगत लामो समयसम्म बगिरहन्छ वा शरीरभित्र विशेष गरी जोर्नी र मांसपेशीमा रक्तस्राव हुन्छ।
बारम्बार हुने यस्तो आन्तरिक रक्तस्रावले जोर्नीहरूमा दीर्घकालीन क्षति पुर्याउँछ, जसलाई 'हेमोफिलिक आर्थ्रोप्याथी' भनिन्छ। यदि समयमै उपचार र पुनर्स्थापना सेवा (फिजियोथेरापी) नदिइएमा बिरामीमा स्थायी अपांगता समेत हुन सक्छ।
नेपालमा हेमोफिलियाको अवस्था
* अनुमानित बिरामी संख्या: विश्वव्यापी अनुपातअनुसार नेपालमा करिब ३,००० देखि ३,५०० जनासम्म हेमोफिलियाका बिरामी हुन सक्ने अनुमान छ।
* पहिचान भएका बिरामी: हालसम्म करिब ८५० भन्दा बढी बिरामी मात्र पहिचान भएका छन्।
* निष्कर्ष: धेरै बिरामी अझै पनि पहिचान, उपचार तथा पुनर्स्थापना सेवाको पहुँच बाहिर रहेका छन्।
यसले नेपालमा हेमोफिलिया सम्बन्धी सचेतना, उपचार सेवा र फिजियोथेरापी विस्तारको आवश्यकता स्पष्ट देखाउँछ।
हेमोफिलियामा देखिने मुख्य समस्या
हेमोफिलियाका बिरामीमा निम्न समस्या सामान्य रूपमा देखिन्छन्:
* जोर्नीभित्र रक्तस्राव (हेमार्थ्रोसिस), विशेष गरी घुँडा, कुहिना, कुम र हिप
* दुखाइ र सुन्निनु
* जोर्नी कडा हुनु
* हिँडडुल गर्ने क्षमता घट्नु
* बारम्बार रक्तस्रावका कारण दीर्घकालीन जोर्नी बिग्रिने
* मांसपेशी कमजोर हुनु
* नाकबाट रगत बग्नु वा दाँत माझ्दा रगत आउनु
यी समस्याहरू समयसँगै गम्भीर बन्दै जान सक्छन्, जसले बिरामीको दैनिक जीवनमा प्रत्यक्ष असर पार्छ।
हेमोफिलियामा फिजियोथेरापी किन महत्त्वपूर्ण ?
१. दुखाइ र सुन्निनु कम गर्न
फिजियोथेरापीमा प्रयोग गरिने आइस थेरापी, आरामदायक अवस्थापन तथा हल्का व्यायामले रक्तस्रावपछि हुने दुखाइ र सुन्निनु कम गर्न मद्दत गर्छ।
२. जोर्नीको चलायमानता जोगाउन
रक्तस्रावपछि जोर्नी कडा हुने सम्भावना हुन्छ। नियमित र सुरक्षित व्यायामले जोर्नीको चलायमानता कायम राख्छ।
३. मांसपेशी बलियो बनाउन
मांसपेशी बलियो भएमा जोर्नीमा पर्ने दबाब कम हुन्छ र पुनः रक्तस्राव हुने जोखिम घट्छ।
४. दीर्घकालीन अपांगता रोक्न
समयमै फिजियोथेरापी नगरेमा जोर्नी स्थायी रूपमा बिग्रन सक्छ। फिजियोथेरापीले यो जोखिम कम गर्छ।
५. दैनिक कार्य क्षमता सुधार गर्न
हिँड्ने, बस्ने, उठ्ने, सिँढी चढ्ने जस्ता दैनिक क्रियाकलाप सहज बनाउन फिजियोथेरापीले मद्दत गर्छ।
६. पुनः रक्तस्राव रोक्न
सुरक्षित व्यायाम र जोर्नी संरक्षण सम्बन्धी प्रविधि सिकाइने भएकाले भविष्यमा हुने रक्तस्रावको जोखिम घट्छ।
हेमोफिलियामा फिजियोथेरापीका मुख्य उपाय
एक्युट अवस्था (पहिलो ४८–७२ घण्टा)
आरआइसीइ सिद्धान्त
- आराम
- बरफ प्रयोग
- हल्का दबाब
- उचालेर राख्ने
- पीओएलआइसीई सिद्धान्त (भार पर्ने जोर्नीमा)
७२ घण्टापछि
* जोर्नी चलायमान व्यायाम
* मांसपेशी बलियो बनाउने व्यायाम
* जोर्नी संरक्षण प्रविधि
* दैनिक क्रियाकलाप अभ्यास (Functional training)
* सन्तुलन तथा समन्वय सुधार अभ्यास
सन्तुलन सुधार हुँदा लड्ने सम्भावना कम हुन्छ र यसले रक्तस्रावको जोखिम पनि घटाउँछ।
विशेष सावधानी
* व्यायाम गर्दा विशेषज्ञ फिजियोथेरापिस्टको सल्लाह आवश्यक
* अत्यधिक कडा वा ठोक्किने खेलबाट बच्नुपर्छ
* रक्तस्रावको संकेत देखिएमा तुरुन्त विश्राम लिनुपर्छ
* नियमित अनुगमन आवश्यक हुन्छ
हेमोफिलिया दीर्घकालीन रोग हो जसले विशेषगरी जोर्नी र मांसपेशीमा असर गर्छ। फिजियोथेरापी हेमोफिलियाको उपचारमा केवल सहयोगी सेवा मात्र होइन, अत्यावश्यक पुनर्स्थापना प्रक्रिया हो। यसले दुखाइ कम गर्ने, जोर्नी बचाउने, हिँडडुल क्षमता सुधार गर्ने तथा भविष्यमा हुने अपांगता रोक्ने महत्त्वपूर्ण भूमिका खेल्छ। समयमै गरिएको फिजियोथेरापीले हेमोफिलियाका बिरामीलाई सक्रिय, आत्मनिर्भर र गुणस्तरीय जीवनयापन गर्न सहयोग पुर्याउँछ।
(यादव वीर अस्पताल, काठमाडौंमा कार्यरत छन्)