गर्मी मौसममा चर्को घाम, पसिना र धुलोका कारण छाला सुख्खा हुने, डन्डिफोर आउने र समयभन्दा अगावै चाउरी पर्ने जस्ता समस्याहरू देखिन्छन्। यस्तो अवस्थामा छालालाई स्वस्थ, चम्किलो र सुरक्षित राख्न बाह्य स्याहारका साथै खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ।
छाला तथा यौन रोग विशेषज्ञ डा. अनुपमा कार्कीका अनुसार छालाको उचित स्याहारका लागि सन्तुलित खानपानको भूमिका महत्त्वपूर्ण हुन्छ। गर्मीमा छालाको सुरक्षा र सुन्दरताका लागि खानैपर्ने प्रमुख खानेकुराहरू यस प्रकार छन्:
१. तरबुजा र खरबुजा
यी फलफूलमा ९० प्रतिशतभन्दा बढी पानीको मात्रा हुन्छ। यसले शरीर र छालालाई 'डिहाइड्रेटेड' हुनबाट जोगाउनुका साथै भित्रैदेखि शीतल बनाइराख्छ।
२. कागती र पुदिना पानी
शरीरमा पानीको कमी हुन नदिन र विषाक्त पदार्थ बाहिर निकाल्न कागती र पुदिना पानी निकै फाइदाजनक हुन्छ। यसले छालालाई ताजा र सफा राख्न मद्दत गर्छ।
३. दही
दहीले पेटलाई शीतल राख्छ। यसमा हुने 'प्रोबायोटिक्स'ले पाचन प्रणाली दुरुस्त बनाउँछ, जसको प्रत्यक्ष प्रभाव अनुहारको चमकमा देखिन्छ।
४. गाँजर
गाँजरमा भरपूर मात्रामा भिटामिन 'ए' पाइन्छ। यसले छालाका दागधब्बा कम गर्न, रगत सफा गर्न र छालामा प्राकृतिक निखार ल्याउन मद्दत गर्छ।
५. गोलभेंडा
गोलभेंडामा एन्टिअक्सिडेन्ट र भिटामिन 'सी' प्रशस्त हुन्छ। यसमा पाइने 'लाइकोपीन' नामक तत्वले छालालाई सूर्यको हानिकारक पराबैजनी किरणबाट जोगाउन सुरक्षा कवचको काम गर्छ।
६. अण्डा
अण्डाको सेतो भागमा प्रोटिन र एल्ब्युमिन हुन्छ। यसले छालाको कोषिका मर्मत गर्न, स्वस्थ राख्न र अनावश्यक दागधब्बा आउन नदिन सहयोग पुर्याउँछ।
७. बदाम
बदाममा प्रोटिन, भिटामिन र मिनरल्स पाइन्छ। यसले छालाको ओसिलोपना (Moisture) कायम राख्न र छालालाई नरम बनाउन मद्दत गर्छ।
८. हरियो सागपात र गेडागुडी
हरियो सागपात र गेडागुडी फाइबर एवं एन्टिअक्सिडेन्टको मुख्य स्रोत हुन्। यिनको नियमित सेवनले छालालाई भित्रैदेखि स्वस्थ र तन्दुरुस्त बनाउँछ।
९. नरिवल पानी
प्राकृतिक इलेक्ट्रोलाइट्सले भरिपूर्ण नरिवल पानीले गर्मीमा शरीरलाई शीतल बनाउनुका साथै छालालाई पर्याप्त हाइड्रेटेड राख्न मद्दत गर्छ।
थप उपयोगी सुझावहरू:
पर्याप्त पानी: दिनमा कम्तीमा ३ देखि ४ लिटर पानी पिउने बानी बसाल्नुहोस्।
खानपानमा सावधानी: धेरै तेलमा तारेका, भुटेका र जंक फुडको सेवन कम गर्नुहोस्।
घामबाट सुरक्षा: घरबाहिर निस्कनुअघि आफ्नो छाला सुहाउँदो गुणस्तरीय 'सनस्क्रिन' अनिवार्य रूपमा लगाउनुहोस्।