विभिन्न खानेकुराहरूको आफ्नै प्रकृति हुन्छ र केही खानेकुराहरू एकसाथ खाँदा पाचन प्रणालीमा समस्या देखिनुका साथै शरीरमा नकारात्मक असर पर्न सक्छ। आयुर्वेद र पोषण विज्ञानका अनुसार भुलेर पनि एकसाथ खान नहुने केही मुख्य खानेकुराहरू तल दिइएका छन्।
स्वास्थ्यका लागि गुणकारी र पोषक मानिएका दुई वा दुईभन्दा धेरै खानेकुराहरू पनि एकैपटक खाँदा एउटा खाद्य पदार्थको गुणधर्म अर्कोसँग नमिल्दा त्यसले स्वास्थ्यलाई हानि गर्न सक्ने डा. हेमराज कोइराला बताउँछन्। खानेकुराको मात्रा र विभिन्न खानेकुराहरू एकैचोटि सेवन गर्दा बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था समेत आउन सक्ने उनको दाबी छ।
दूध र अमिलो फलफूल
दूधसँग सुन्तला, कागती, अंगुर वा अन्य अमिलो फलफूल मिसाएर खानु हुँदैन। यसले पेटमा दूध फटाउने र पाचनमा समस्या निम्त्याउँछ।
दही र माछा
दही र माछा दुवै प्रोटिनयुक्त भए पनि यिनीहरूको प्रकृति फरक हुन्छ। यी एकसाथ खाँदा छालासम्बन्धी रोग वा ग्यास्ट्रिकको समस्या हुन सक्छ।
मह र तातो पानी/दूध
महलाई धेरै तातो चिजसँग मिसाएर खाँदा यसको पोषक तत्व नष्ट हुनुका साथै यो हानिकारक पनि हुन सक्छ। मह सधैं मनतातो वा चिसोमा मिसाउनु राम्रो हुन्छ।
दूध र नुनिलो खानेकुरा
दूधसँग नुन मिसिएका खानेकुराहरू (जस्तै तरकारी, अचार) खाँदा छालामा सेतो दाग वा अन्य समस्या देखिन सक्ने चिकित्सकहरू बताउँछन्।
करेला र भिन्डी
करेला खाएपछि वा करेलासँगै भिन्डी खानु हुँदैन। यसले पेटमा अम्लपित्त बढाउन सक्छ।
दही र फलफूल
धेरै मानिसले फ्रुट सलादमा दही मिसाउँछन्, तर यसले शरीरमा एलर्जी पैदा गर्न सक्छ।
मासु र दूध
मासु खाएपछि तुरुन्तै दूध पिउनु पाचनका लागि निकै भारी हुन्छ र यसले स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ।
खरबुजा र पानी
खरबुजा खाएपछि तुरुन्तै पानी पिउँदा पेट खराब हुने जोखिम रहन्छ किनभने खरबुजामा पहिले नै धेरै पानी हुन्छ।